ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विदेशबाट फर्किएका पशुपालकलाई घाँस काट्ने मेसिन

२०७७ चैत, २२  
गण्डकी प्रदेश
NA
author avatar अर्जुन कार्की

बागलुङ । बरेङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै पशुपालन गरिरहेका कृषकलाई घाँस काट्ने मेसिन वितरण गरेको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा ५ जना कृषकलाई घाँस काट्ने मेसिन वितरण गरेको हो ।

आर्थिक वर्ष ०७७/७८ को स्वीकृत बजेटअनुसार निवेदन परेका पालिकाका ५ जना कृषकलाई छनोट गरी गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा घाँस काट्ने यन्त्र वितरण गरेको पशु शाखा प्रमुख नारायण पौडेलले बताए । ‘विदेशबाट फर्किएर गाउँमै पशुपालनमा लागेका युवाहरूले अनुदानका लागि निवेदन दिएका थिए,’ प्रमुख पौडेलले भने, ‘उनीहरूबाट छनोट गरेर ५ जनालाई मेसिन वितरण गरेका छौं ।’

गाउँपालिकाले यन्त्र अनुदानमा वितरण गर्न १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजित गरेको थियो ।

गाउँपालिकाले वडा नम्बर १ का इन्द्रबहादुर थापा, यामबहादुर थापा, वडा नम्बर २ का जीवन पुन, वडा नम्बर ४ का मिमबहादुर पुन र वडा नम्बर ५ का घनश्याम थापालाई घाँस काट्ने यन्त्र हस्तान्तरण गरेको प्रमुख पौडेलले जानकारी दिए । यन्त्र पाउने पाँच जना कृषकमध्ये १ जना भैँसीपालक कृषक हुन् भने ४ जना बाख्रापालक । उनीहरूले फार्म दर्ता गरी पशुपालन गरिरहेका छन् ।

घाँस काट्ने मेसिन वितरण गरिएपछि कृषकको समय बचत हुने र कम जनशक्तिले पनि पशुपालन गर्न सक्ने प्रमुख पौडेलको विश्वास छ । कृषकले परम्परागत प्रक्रियामा पशुलाई घाँस दिँदा राम्रोसँग नखाने हुँदा आधुनिक घाँस काट्ने यन्त्रले काटेको घाँस दिँदा यसको सदुपयोग हुने र पशुको आहार मिसावट गर्न सजिलो हुने बताए ।

गाउँपालिकाले पशुपालनतर्फ कृषकलाई आकर्षित गर्दै उनीहरूलाई आत्मनिर्भर गराउन अनुदान व्यवस्था गर्दै आएको छ । बरेङ गाउँपालिकाले चालू आर्थिक वर्षमा भेडापालक कृषकलाई खोर सुधार कार्यक्रम, भकारो सुधार कार्यक्रम र बोयर बोका वितरणमा अनुदान दिँदै आएको छ ।

बट्टाईपालन खोर अनुदान, स्थानीय जातका कुखुरा संरक्षण कार्यक्रम, स्थानीय सुँगुर संरक्षण, व्यावसायिक बंगुर फार्म सुधार, दूध चिस्यान केन्द्र, उन्नत जातका जर्सी गाई खरिदलगायतमा अनुदान व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्