तनहुँ । बन्दीपुर गाउँपालिका–१ लाई बाख्रापालनका लागि पकेट क्षेत्र बनाउन लागिएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले बाख्रापालन पकेट क्षेत्र बनाउन लागेको हो । प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत बाख्रापालन पकेट क्षेत्रका लागि १५ लाख विनियोजन भएको वडाध्यक्ष भानुभक्त पोखरेलले बताए ।
बाख्रापालनका लागि १ नं वडालाई पकेट क्षेत्र छनोट गरर कार्यक्रमको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । वडाका अगुवा किसानलाई जिल्लाको भिमाद नगरपालिका–९ पाथार्दीस्थित नमूना रूपमा रहेको सृजनशील बाख्रा फार्मको अवलोकन गराउनुका साथै विभिन्न क्षेत्रमा रहेका बाख्राफार्मको अवलोकन गराइसकिएको उनको भनाइ छ ।
बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, पशु शाखा प्रमुख मधुविलास न्यौपाने, बाख्रापालन किसानलगायतको टोलीले अन्य क्षेत्रमा पालिएको वाख्राफार्मको अवलोकन गरेको हो । बाख्रा पकेट क्षेत्रका लागि विनियोजन भएको उक्त रकम वडाभित्र रहेको हरियाली कृषक समूहलाई प्रदान गरिनेछ । ‘किसानले बाख्राको खोर व्यवस्थापन, खोर सुधार तथा औषधि व्यवस्थापन दाना, घाँसलगायत सम्पूर्ण व्यवस्था गर्नेछन्,’ उनले भने । वडामा रहेका १० टोलका बाख्रापालक कृषक समूहमा आबद्ध हुनेछन् ।
गाउँपालिकाले उक्त वडामा रहेका बाख्रापालन किसानको घरघरमा पुगेर सर्वेक्षण गर्ने काम सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । रासस