ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

५० जनालाई उद्योगी बनाउन महासंघको प्रशिक्षण

२०७७ चैत, २२  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ५० जनालाई उद्योगी बनाउने कार्यक्रमअन्तर्गत प्रशिक्षण दिन सुरु गरेको छ । स्टार्टअप व्यवसायीलाई ५० लगानीकर्तासँग सहकार्य गराउने अभियानअन्तर्गत कार्यक्रम सुरु गरिएको हो ।

महासंघले हरेक महिनाको पहिलो शुक्रबार कुनै एक व्यवसायमाथि अन्तरक्रिया कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रमको पहिलो सत्रमा महासंघले कफी फ्रेन्चाइजमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

महासंघले हिमालयन जाभा कफीका सञ्चालक गगन प्रधानसहितको टिमसँग पहिलो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा हिमालयन जाभा समूहले आफ्नो फ्रेन्चाइज व्यवसायको सुरुआतदेखिको संघर्ष सुनाएको थियो । चिया संस्कृतिले बजारमा बलियो हस्तक्षेप जमाएको समय नेपालमा कफी संस्कृतिको विकास गर्न सन् १९९८ मा ठमेलबाट स्थापना भएको हिमालयन जाभाले हाल नेपालसहित मुलुकबाहिर समेत आफ्ना आउटलेट सञ्चालन गरिरहेको छ ।

सानो ‘स्टार्टअप कम्पनीका रुपमा सुरु भएको उक्त व्यवसायले छोटो समयमा राम्रो बजार विस्तार गरेको कम्पनीका संस्थापक प्रधानले व्यवसाय सञ्चालनका सम्बन्धमा आउने उतारचढावबारे जानकारी दिए ।

‘म विदेशबाट फर्किएर कफीसप चलाउँछु भन्ने योजनासहित आएको थिइनँ तर अध्ययन गरी स्टार्टअप कम्पनीका रूपमा यसलाई सञ्चालन गरेँ,’ उनले भने, ‘त्यसपछि युवा पुस्तालाई पनि यससँग जोड्दै जानुपर्छ भनेर सोहीअनुसार फ्रेन्चाइज विस्तार गर्दै गयौँ ।’

महासंघले सन् २०३० सम्म मुलुकको अर्थतन्त्र एक सय खर्ब बनाउने योजनाअन्तर्गत स्टार्टअप र नवीनतम उद्योग समिति गठन गरेर उक्त समितिअन्तर्गत ५० लगानीकर्तालाई त्यस्ता व्यवसायीसँग सहकार्य गराउन सहजीकरण गर्न लागेको छ ।

३ महिनासम्म प्रशिक्षण दिई विभिन्न अन्तरक्रिया कार्यक्रम गर्दै कम्तीमा ५० व्यवसायका लागि लगानी जुटाउन सहयोग गर्ने गरी महासंघले उक्त कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रममा समितिका सभापति रञ्जित आचार्यले युवा पुस्तालाई उद्योगसँग जोड्ने बताए । ‘महासंघ विशेषगरी ठूला उद्योग र उद्योगीका लागि थियो । त्यसलाई तोड्दै युवा पुस्तालाई उद्योगसँग जोड्न हामीले यो कार्यक्रम सुुरु गरेका हौं,’ उनले भने, ‘हरेक वर्ष नयाँ रोजगारी सिर्जना गर्ने र उद्योग विस्तार गर्ने गरी हामी लागेका छौं ।’

महासंघले यस कार्यक्रमका लागि ५० लगानीकर्ता जुटाइसकेको छ । ८ लाख रोजगारी सिर्जना गर्ने, उद्योग विस्तार गर्ने योजनाअन्तर्गत ममहासंघले यो कार्यक्रम सुरु गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्