ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पानी नभएका गाउँमा विद्युतीय घट्ट सञ्चालन

२०७७ चैत, २३  
प्रदेश ०५
Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पूर्वका पानी नभएका गाउँमा विद्युतीय घट्ट सञ्चालन गर्न थालिएको छ । जिल्लाका दुई स्थानीय तहले पानी नभएका गाउँमा विद्युतीय घट्ट निर्माणका लागि अनुदान दिएका छन् ।

भूमे र सिस्ने गाउँपालिकाले विद्युतीय घट्ट सञ्चालन गर्न अनुदान दिएका हुन् । जिल्लाका अधिकांश बस्तीमा घट्ट सञ्चालनका लागि पानी नभएपछि स्थानीयले समस्या खेपिरहेका छन् ।

रुकुम पूर्वमा धान उत्पादन नहुने भएकाले मुख्य बाली मकै, गहुँ, जौ, दलहनलगायत मात्र उत्पादन हुने गरेको छ । उच्च बस्तीका बासिन्दाको समस्यालाई दृष्टिगत गरेर भूमे र सिस्ने गाउँपालिकाले विद्युतीय घट्ट निर्माणका लागि अनुदान उपलब्ध गराएका हुन् । सिस्नेको वडा नम्बर २ दत्कुनामा हालै ५ लाख रुपैयाँ लागतमा विद्युतीय घट्ट निर्माण गरिएको छ ।

यसअघि अन्न पिस्न दिनभर लगाएर पानी घट्टमा जानुपर्ने बाध्यता थियो । सर्वसाधारणको सजिलोका लागि विद्युतीय घट्ट बनाइएको वडाध्यक्ष जीवन केसीले बताए ।

समुदायले नै सञ्चालन गरेको उक्त घट्टमा अन्न पिसेको ज्याला प्रतिपाथी १० रुपैयाँ लिने गरिएको छ । घट्टको रेखदेख तथा व्यवस्थापनका लागि एकजना राखिएको छ ।

उता, भूमे गाउँपालिकाका एक युवाले पनि विद्युतीय घट्ट सञ्चालन गरेका छन् । भूमे वडा नम्बर ३ क्याङ्सीका युवा हीराबहादुर रोका मगरले विद्युतीय घट्ट सञ्चालनमा ल्याएका हुन् । गत आर्थिक वर्षमा गाउँपालिकाको कृषि शाखा कार्यालयमा रोकाले विद्युतीय घट्ट निर्माणका लागि अनुदान माग गरेका थिए । कृषि शाखाको ५० प्रतिशत अनुदानमा उनले विद्युतीय घट्ट सञ्चालन गरेका हुन् । ७० घरधुरी रहेको क्याङ्सी गाउँका स्थानीय विगतमा अन्न पिस्न टाढाको बाटो भएर पानीघट्टमा जान बाध्य थिए । गाउँमै विद्युतीय घट्ट सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको छ ।

गत आर्थिक वर्षमा गाउँपालिकाको कृषि शाखामा दुईओटा विद्युतीय घट्टका लागि अनुदानको माग आएकोमा चालू आर्थिक वर्षमा पाँचओटा माग आएको कृषि शाखाका विशाल पुन मगरले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्