ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

औद्योगिक प्रदूषणको चिन्ता

२०७७ चैत, २३  
सम्पादकीय
Image Not Found

मुलुककै ठूलो औद्योगिक कोरिडोर मानिएको बारा–पर्सा औद्योगिक कोरिडारमा योजनाबद्ध र व्यवस्थित ढंगले उद्योगहरूको विस्तार नहुँदा यो क्षेत्र प्रदूषणको मारमा पर्दै गएको छ भने स्थानीय बसिन्दा र उद्योगबीच विवाद पनि बढ्दै गएको छ । विवाद समाधानका लागि विभिन्न पहल भए पनि प्रदूषण नियन्त्रणमा प्रभावकारी काम भएको छैन । पानी, हावा र माटो प्रदूषणबाट स्थानीय बासिन्दा प्रभावित भइरहेकाले उद्योगहरूका विरुद्ध उनीहरूले आवाज उठाइरहेका छन् । तर, त्यसको उपयुक्त निकास निकाल्न सकिएको छैन ।

प्रदूषण हुन्छ भनेर उद्योग कलकारखाना बन्द गर्न सकिँदैन । त्यसैले उद्योगधन्दा पनि चल्नुपर्छ, साथै प्रदूषण रोकथाम पनि हुनुपर्छ ।

बारा–पर्सा औद्योगिक कोरिडोर सबैभन्दा प्रदूषित मानिन्छ । यहाँको सिर्सिया खोलामा पानी होइन, केमिकल बग्छ, प्लास्टिकका मसिना दाना बग्छन् । यसको किनारा छाई फाल्ने ठाउँ बनेको देखिन्छ । केही वर्षअघि पर्सा प्रशासनले गरेको अध्ययनले कोरिडोरका ४६ ओटा ठूला उद्योगले सिर्सियामा रसायनयुक्त फोहोर पानी मिसाएको देखाएको थियो । उद्योग सञ्चालनको अनुमति लिँदा यस्तो प्रदूषण आफैले नियन्त्रण गर्ने शर्त स्वीकारेको हुन्छन् । तर, शर्तअनुसार उनीहरूले प्रदूषण नियन्त्रणका उपाय अपनाएका देखिँदैन ।

प्रदूषणले पारिस्थितिक प्रणालीमा पार्ने असर त छँदै छ । त्यसबाहेक नदी प्रदूषण हुँदा किनार क्षेत्रका जमीनको प्रयोग पनि राम्रोसँग हुँदैन । नदीको पानीले जमीनमुनिको पानीलाई समेत प्रदूषित पार्छ । खेतबारीमा सिँचाइका लागि यो पानी प्रयोग गर्दा जमीनको उर्बरा शक्तिमा ह्रास आउँछ । त्यसबाट यस्तो क्षेत्रको जमिनमा खेतीपाती हुन छाड्छ । प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्छ । वारापर्सा क्षेत्रको वायुप्रदूषण बढी भएकाले त्यहाँ विभिन्न समस्या आएको समेत बताइन्छ । त्यही कारण स्थानीय बासिन्दा र उद्योगहरूबीच विवाद बढ्ने हो ।

कुन क्षेत्रमा उद्योग खोल्न दिने र कुन क्षेत्रमा बस्ती मात्रै बसाउने भन्ने स्पष्ट नीति पाइँदैन । सरकारले हालै भूउपयोग नीतिमा यससम्बन्धी व्यवस्था गरे पनि यसको कार्यान्वयन भएको छैन । अर्को, पुराना उद्योगहरू भएका ठाउँमा यो समस्या बढी भएकाले यस्तो नीतिले विकल्प दिने सम्भावना पनि कमै देखिन्छ । करोडौं लगानीका उद्योगलाई अन्यत्र तत्कालै सार्न सकिँदैन । सार्नका लागि उपयुक्त ठाउँ पनि त्यति सहज छैन । उद्योगका लागि कच्चा पदार्थको आपूर्ति सहज हुने क्षेत्र चाहिन्छ भने कामदारका लागि नजीकै बस्ती हुन पनि आवश्यक हुन्छ । त्यसो हुँदा बारा–पर्सा औद्योगिक कोरिडोरका सन्दर्भमा उद्योगको स्थानान्तरण त्यति सहज देखिँदैन । बस्ती स्थानान्तरण त झनै कठिन देखिन्छ ।

त्यसैले उद्योगहरूले स्थानीयसँग मिलेर काम गर्नुपर्ने हुन्छ । प्रदूषण नियन्त्रणका लागि उनीहरूले पालना गर्नुपर्ने शर्त पनि पालना गर्नुपर्छ । प्रदूषण हुन्छ भनेर उद्योग कलकारखाना बन्द गर्न सकिँदैन । त्यसैले उद्योगधन्दा पनि चल्नुपर्छ, साथै प्रदूषण रोकथाम पनि हुनुपर्छ ।

नेपालको बस्ती र शहरहरू योजनाबद्ध ढंगले बसाइएका छैनन् । त्यस्तै केही औद्योगिक क्षेत्रबाहेक अन्यत्र उद्योगहरू स्थापना गर्दा पनि राम्ररी अध्ययन भएको पाइँदैन ।

कतिपय स्थानमा उद्योगहरू खुल्न थालेपछि बस्ती विकास भएको पाइन्छ । उद्योगहरू भएका ठाउँमा प्रदूषण हुनु स्वाभाविक हो तर प्रदूषण हुन दिनु हुँदैन । विश्वमा प्रदूषण नियन्त्रणका अनेक प्रविधिहरू अहिले अवलम्बन गर्न थालिएका छन् । उद्योगहरूले ती उपाय अवलम्बन गर्न सक्ने अवस्था पनि कमै छ । अर्को कुरा केही ठूला उद्योगले प्रदूषण नियन्त्रण गर्न विशेष प्रविधि प्रयोग गरे पनि अन्य उद्योगका कारण प्रदूषणको स्तरमा सुधार आउन सक्दैन । त्यस्तै प्रदूषण नियन्त्रणका महँगा उपकरण लगाउन पनि कतिपय उद्योग नसक्ने अवस्थामा छन् । उदाहरणका लागि ५० करोड लगानीमा खुलेको उद्योगले प्रदूषण नियन्त्रणका लागि त्यतिकै रकमको उपकरण लगाउन पक्कै सक्दैन । यस्तोमा एकीकृत रूपमा प्रदूषण नियन्त्रण कार्यक्रम लागू गरिनुपर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्