ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नवप्रवर्तनमा आधारित निर्यातका सम्भावना

सरकार र निजीक्षेत्रले गर्नुपर्ने तयारी

२०७७ चैत, २३  
लेख | दृष्टिकोण
Image Not Found

नेपालमा नवप्रवर्तनमा आधारित निर्यातको सोच स्थापित हुन नसक्नुमा विभिन्न कारण जिम्मेवार छन् । विदेशी सहायताले नेपालजस्ता तेस्रो विश्वका मुलुकहरूमा भित्र्याएको सबैभन्दा नकारात्मक पक्ष भनेको हामी आफै केही गर्न सक्दैनौं भन्ने धारणा धार्मिक मतजस्तै समाजमा जरो गाडेर बस्नु नै हो । यसले तेस्रो विश्वमा आफ्नो विश्वासमा यत्ति धेरै स्खलन ल्याइसकेको छ कि तेस्रो विश्वको समाज नवप्रवर्तन त विकसित देशमा मात्र सञ्चालन हुन सक्ने विधा हो भन्ने गर्छ । नेपालमा पनि तेस्रो विश्वको यही धारणा आम रूपमा व्याप्त छ ।

यही मानसिकताका कारण नेपालका नवप्रवर्तनमा आधारित निर्यात प्रवर्द्धनका नीतिहरू भन्ना साथ सिंगो नेपाली समाज निधार खुम्च्याउन र ओठ बटार्न थाल्छ । नवप्रवर्तन भन्ना साथ जेट इन्जिनमा सुधार, मोइक्रोचिप्सको नानोमिटरको लम्बाइ घटाउनेजस्ता कुरा हुन् यी नेपालीका वशका विषय होइनन् तसर्थ नवप्रवर्तनको विषय चर्चायोग्य नै छैन भन्ने धारणा नीतिसमूहमा व्याप्त छ । त्यसैले नवप्रवर्तनमा लगानी गर्नु फजुल खर्च हो भन्दै यस क्षेत्रलाई स्पष्ट भाषामा भन्नुपर्दा प्राथमिकता निषेधित क्षेत्रको रूपमा व्यवहार गर्ने गरिन्छ । फलस्वरूप नवप्रवर्तन र यसका आधारित निर्यात प्रवद्र्धनका विषयहरू प्राथमिकतामा पर्न सकेका छैनन् ।

उपयुक्त परिस्थिति विद्यमान हुँदाहुँदै पनि हालैका वर्षहरूमा आएर नेपालमा पनि नवप्रवर्तनका क्षेत्रमा केही चाँदीका घेराहरू देखिन थालेका छन् । विश्व बौद्धिक सम्पत्ति संगठनले विश्व नवप्रवर्तन सूचकांक हालै प्रकाशन गरेको छ । उक्त सूचकांकले नेपालको नवप्रवर्तनका क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ ।

सूचकांकका अनुसार क्षेत्रगत आधारमा नवप्रवर्तनमा उत्तरी अमेरिकामा यूएसए र क्यानडा, यूरोपमा स्वीट्जरल्यान्ड, स्वीडेन, यूके, दक्षिणपूर्वी एशियामा सिंगापुर, दक्षिण कोरिया, हङकङ चीन अग्रस्थानमा रहेका छन् । यसैगरी उत्तरी अफ्रिका र पश्चिमी एशियामा इजरायल, साइप्रस, यूएई, मध्य र दक्षिण अमेरिकामा चिली, मेक्सिको कोस्टारिका, मध्य तथा दक्षिण एशियामा भारत, इरान र कजाकस्तान तथा उपसहारा क्षेत्रमा दक्षिण अफ्रिका, मोरिसस, केन्या र तान्जानिया नवप्रवर्तनमा अब्बल रहेका छन् ।

यसै गरी आय वर्गमा आधारमा उच्च आय भएका मुलुकहरूमा स्वीट्जरल्यान्ड, स्वीडेन र संयुक्त राज्य अमेरिका अग्रस्थानमा रहेका छन् । उच्च मध्यम आय भएका मुलुकमध्ये नवप्रवर्तनमा चीन, मलेशिया र बुल्गेरिया शीर्षस्थानमा रहेका छन् । यसै गरी निम्न मध्यम आय भएका समूहमा भियतनाम, युक्रेन र भारत शीर्ष स्थानमा छन् भने निम्न आय भएका मुलुकहरूमा तान्जानिया रुवान्डा र नेपाल प्रथम तीन स्थान ओगट्न सफल भएका छन् ।

नेपाल न्यून आय भएका १६ मुलुकमध्ये नवप्रवर्तनमा तेस्रो स्थानमा र मध्य तथा दक्षिण एशियाका मुलुकमध्ये छैटौं उच्च स्थानमा रहेको छ । प्रगतिका हिसाबले नेपाल मध्यवर्ती क्षेत्रमा परेको छ । यसमा केही सुधार आउना साथ नेपाल हरित क्षेत्र ( ग्रीनजोन) भित्र पर्ने सम्भावना रहेको छ । विश्व बौद्धिक सम्पत्ति संगठनका अनुसार सन् २०२० मा नेपालको नवप्रवर्तनमा रहेको उपलब्धिलाई उत्कृष्ट मानेको छ । उक्त संस्थाले नेपाल न्यून आय भएका मुलुकहरूमा पहिलोचोटि प्रथम तीन स्थान ओगट्न सफल जानकारी दिएको छ ।

नेपाल सरकारले पर्याप्त नभए तापनि नवप्रवर्तनलाई पनि प्राथमिकतामा पार्न थालेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटमा युवाहरूमा नवप्रवर्तन विकासका लागि जोड दिने नीतिगत व्यवस्था गरेको छ भने नवप्रवर्तनका लागि २ प्रतिशत सहुलियत ब्याजदर प्रदान गर्न करीब ५० करोड रुपैयाँ विनियोजन पनि गरेको छ । यसै गरी जडीबुटी क्षेत्रमा नवप्रवर्तनमार्फत मूल्ययोग गर्ने नीति पनि बजेटमा उल्लेख गरिएको छ ।

नेपालमा नवप्रवर्तनका क्षेत्रमा अपेक्षित रूपमा गतिशील हुन सकेको छैन । नवप्रवर्तनमार्फत आर्थिक समृद्धि प्राप्त गर्न यस क्षेत्रमा देहायका विषयमा विशेष ध्यान जानु आवश्यक देखिन्छ ।

नेपाल सुहाउँदो नवप्रवर्तन नीतिको स्वरूप
वर्तमान विश्वमा आविष्कार केन्द्रित आर्थिक त्रियाकलापहरू पश्चिमी संसारको समृद्धिका कारण हुन् । पूर्वीय गोलार्धको समृद्धिको आधार भनेको पश्चिमी संसारका सृजित आविष्कारहरूमाथि गरिने नवप्रवर्तन नै हो । यसको अनुपम उदाहरण जापान, द.कोरिया, सिंगापुर, चीन र ताइवानलाई लिन सकिन्छ । भारतको मेक इन इन्डिया अभियान पनि यही नवप्रवर्तन अभियानको अंग नै हो ।

नवप्रवर्तन पनि केही जटिल प्रकृतिका हुन्छन् भने केही सरल प्रकृतिका हुन्छन् । अचेल चीनमा निर्मित प्लास्टिकका कुचो, डालो, नाङ्लो, तिहारमा प्रयोग हुने दियोहरू आयात हुन थालेको छ । यसलाई चीनले नेपालको परम्परामा आधारित भएर गरेको नवप्रवर्तनको उदाहरणका रूपमा रहेको छ । नेपालले पनि क्रिसमशका विभिन्न सामग्री उत्पादन गरेर पश्चिमी गोलार्धमा निर्यात गर्छ । नेपाली छुर्पीलाई पशुआहारमा रूपमा प्रयोग हुन सक्ने सोच र विचार जसरी विकास भयो त्यो पनि एकप्रकारको नवप्रवर्तन नै हो । हाल यो उत्पादन ठूलो परिमाणमा विदेश निर्यात भइरहेको छ । फेल्ट क्षेत्रमा नेपालको सफलतामा पनि यही प्रकारको नवप्रवर्तनमुखी विचारको योगदान रहेको छ ।

प्रविधिमा पछि परेका मुलुकहरूले शुरुआती चरणमा यस्तै खालका नवप्रवर्तनबाट आफ्नो क्षमता अभिवृद्धि गर्दै जाने हो ।

अहिले मास्क अपरिहार्य आवश्यकताको वस्तुका रूपमा रहेको छ । तर, वर्तमान मास्क पहिरनले कानमा अनावश्यक चाप उत्पन्न गराई श्रवणप्रणालीमा नकारात्मक असर पर्ने, कानका लोतीहरू दुख्ने, सुनिन्ने र पाक्ने समस्या देखिन थालेको छ । यस अवस्थामा कानमा न्यूनतम चाप पर्ने वा पर्दै नपर्ने मास्क तयार गर्नु पनि नवप्रवर्तक नै हो ।

वर्तमान विश्व अब साना यन्त्रको युगमा प्रवेश गरेको छ । जेट इन्जिनयुक्त बडेमानका वायुयानको स्थानमा दुईचार जना मात्र उड्न मिल्ने ड्रोनहरूको विकास द्रुत गतिमा हुन थालेको छ । ती ड्रोनलाई सुधार गरी घरायसी प्रयोगमा कसरी ल्याउने, फलफूल टिप्न ओसारपसार गर्न, पहाडी भेगमा बाली बेंशीबाट डाँडामा ओसार्न, मल ओसार्न, औषधि छर्न कसरी योग्य बनाउने विषयहरू नेपाली ढाँचाको नवप्रवर्तन हुन सक्छ । बूढाबूढीहरूलाई हिँड्न सहयोग पुग्ने इलेक्ट्रिक लौरीहरू, टिमुरजस्ता काँडायुक्त जडीबुटी र फलफूलहरू टिप्ने हुकहरूको विकास यस्ता नवप्रवर्तनमुखी आविष्कारभित्र पर्छन् जो नेपाली पूँजीमा आधारित रही विकास गर्न सम्भव छ । हाल आएर बायोमेट्रिक प्रणालीका उपयुक्त हुने थुप्रै नवप्रवर्तनका कार्यहरू नेपालभित्र सम्पन्न हुने गरेका छन् । घरायसी प्रयोगका यन्त्रोपकरणहरू पनि नेपालमै विकास हुन थालेका छन् ।

नेत्र चिकित्सामा नानीसम्बन्धी क्षेत्रमा नेपालमा नवप्रवर्तनमा थुप्रै कार्य सम्पन्न भएका छन् । कन्ट्याक्ट लेन्सहरू विकसित मुलुकमा समेत निर्यात हुन थालेका छन् । नेपाल एकप्रकारले दक्षिण एशियामा नै नेत्र चिकित्साको केन्द्रका रूपमा विकसित हुने जमर्को गर्दै छ ।

साधनस्रोतको व्यवस्था
नवप्रवर्तनका लागि आवश्यक पर्ने साधनस्रोतको व्यवस्थामा पनि सरकार र निजीक्षेत्र दुवैबाट यथेष्ट ध्यान जानु आवश्यक छ । जनशक्ति उत्पादनमा सरकारको लगानी, जनशक्ति परिचालन र उत्पादनलाई बजारसँग जोड्ने सम्बन्धमा निजीक्षेत्रको लगानीको विशेष ढाँचाबाट साधनस्रोतको व्यवस्था हुन जरुरी छ । हरेक उद्यमहरूमा नवप्रवर्तन एकाइहरूको स्थापना र ती एकाइको सञ्चालनमा सरकारबाट पनि आवश्यक बजेटरी सहयोग हुन जरुरी छ ।

वातावरण सृजना
नवप्रवर्तनमा नेपाल सक्षम छ भन्ने प्रमाण त विश्व नवप्रवर्तन सूचकांकले नै दिइसकेको छ । यस अवस्थामा हामी नवप्रवर्तनमा अब्बल स्थान प्राप्त गर्न सक्छौं भन्ने विषयमा प्राज्ञिक, बौद्धिक र राजनीतिक रूपमा पक्षपोषण हुन पनि आवश्यक छ । सरकारले पनि नवप्रवर्तनका क्षेत्रमा आवश्यक तालीम दिन पनि जरुरी छ ।

संगठनात्मक व्यवस्था
नवप्रवर्तनको विकासका लागि सरकारी निजी साझेदारीको अवधारणामा रही नियमन, प्रवर्द्धन र नियन्त्रण गर्ने गरी नेपाल सरकारअन्तर्गत नवप्रवर्तन निकायको व्यवस्था हुन जरुरी देखिन्छ । शिक्षण संस्थाहरू एवम् उद्योगहरूमा सरकारको बजेटरी सहयोग हुने गरी नवप्रवर्तन एकाइहरूको स्थापना गर्नु पनि आवश्यक हुन्छ ।

समग्रमा नवप्रवर्तनलाई निर्यातसँग जोड्ने नीति अंगीकार गर्ने हो भने नेपालको निर्यातमा नवप्रवर्तन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने निश्चित छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्