ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डँडेलधुरामा ४० रुपैयाँको जुनार काठमाडौंमा १८० !

२०७७ चैत, २३  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । डँडेलधुराको स्थानीय बजारमा प्रतिकिलो ४० पर्ने जुनारको मूल्य काठमाडौंमा १८० रुपैयाँ रहेको छ । यो मूल्य त्यहाँको स्थानीय बजारको तुलनामा ३५० प्रतिशत बढी हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जुनारको मूल्य आफ्नो दैनिक मूल्यसूचीमा समावेश गरेको छैन । यद्यपि कालीमाटी र बल्खु तरकारी बजारका फलफूल व्यापारीका अनुसार जुनारको हालको बजार मूल्य प्रतिकिलो १८० रुपैयाँ छ ।

एक महीना अघिसम्म प्रतिकिलो १०० रुपैयाँसम्म रहेको जुनारको मूल्य पछिल्लो समय ८० रुपैयाँ बढेको बल्खु तरकारी बजारका फलफूल व्यापारी सञ्जय लामाले बताए ।

उनका अनुसार बल्खु तरकारी बजारमा भारत, चीन लगायत देशबाट जुनार, सुन्तला र मौसम आयात हुने गर्छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा भारतीय सुन्तला र मौसमको मूल्य प्रतिकिलो २०० रुपैयाँ छ ।

काठमाडौंमा महँगो मूल्यमा विक्री भइरहेको जुनारबाट डँडेलधुराका किसानले उचित लाभ लिन सकेका छैनन् । विदेशबाट ल्याएर महँगो मूल्यमा विक्री गर्न सक्ने फलफूल व्यापारी र सरकारी संयन्त्रकै ध्यान स्वदेशी उत्पादनमाथि पर्न नसकेको गुनासो जुनारको बजारीकरणका लागि सरकारसँग गुहार माग्न डँडेलधुराबाट काठमाडौं आएका किसान अनन्तराम जोशीले गरे ।

राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रमको तथ्यांक अनुसार नेपालमा वार्षिक ४३ हजार मेट्रिकटन जुनार, १ लाख ७७ हजार मेट्रिकटन सुन्तला र ३९ हजार ५८० मेट्रिकटन कागती उत्पादन हुने गर्दछ । ६५ जिल्लामा सुन्तला जातका फलफूल उत्पादन हुने भए पनि व्यावसायिक रूपमा ४४ जिल्लामा मात्र उत्पादन हुने गरेको छ ।

जुनारको बजारीकरणका लागि केन्द्र सरकारसँग गुहार माग्न डँडेलधुराबाट काठमाडौं आएका किसान उत्साहित देखिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले डँडलेधुराको जुनार उत्पादन तथा बजारीकरणका लागि आगामी बजेट कार्यक्रममा विशेष व्यवस्था गर्ने प्रतिबद्धता गरेपछि उनीहरू उत्साहित भएका भएका हुन ।

गत बिहीवार डँडेलधुराबाट केही किसान जुनारको उत्पादन वृद्धि, ढुवानीमा सहजीकरण र बजारीकरणका लागि केन्द्र सरकारको सहयोग माग्न काठमाडौं आएका थिए । कृषि ज्ञान केन्द्र डडेलधुरासँगको सहकार्यमा काठमाडौं आएका किसानलाई मन्त्री अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारमार्फत डँडेलधुराको जुनार विक्रीको व्यवस्था गरिने आश्वासन दिएकी थिइन् ।

‘कृषिमन्त्रीको आश्वासनपछि जुनारको बजारीकरण हुने आशा गरेका छौं,’ अगुवा किसान जोशीले भने । अहिले जुनारको सिजन सकिनै लागेको छ । त्यसैले करीब १ हजार क्वीन्टल मात्रै जुनार किसानका बारीमा बाँकी छन् । बाँकी जुनार अबको दुई साता मात्र बारीमा राख्न सकिने जोशीले बताए । त्यसलाई काठमाडौं लगायत मुख्य शहरमा ढुवानी गरी बजारीकरणमा  सघाउन उनले सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्