ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोहोरो अंकको लाभांश दिने गरी काम गरिरहेका छौं

२०७७ चैत, २३  
अन्तरवार्ता
Image Not Found

नेपालको जलविद्युत् क्षेत्रमा अपि पावर नौलो कम्पनी होइन । २०७० सालमा स्थापना भएको कम्पनीले सुदूरपश्चिममा निजी क्षेत्रबाट पहिलो पटक जलविद्युत् आयोजना बनायो । हाल यस कम्पनीको सुदूरपश्चिममै दुई वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । कम्पनीले सोही क्षेत्रमा निजी क्षेत्रको सबैभन्दा ठूलो ४० मेगावाटको अर्काे आयोजना बनाउन लागेको छ । त्यसमा लगानी जुटाउन कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रक्रियामा छ । कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेसँग आर्थिक अभियानका मिलन विश्वकर्माको कुराकानी :

तपाईंहरूले केही समयअघि पनि १ः०.२९ को अनुपातमा हकप्रद शेयर जारी गर्नुभएको थियो । अहिले पुनः सोही अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रक्रियामा हुनुहुन्छ । चरणबद्ध रूपमा हकप्रद ल्याउनुको उद्देश्य के हो ?
अहिले सुदूरपश्चिम प्रदेशमा हाम्रो ८ मेगावाटको अपरनौगढ जलविद्युत् र ८ दशमलव ५ मेगावाटको नौगढ जलविद्युत् गरेर दुई वटा आयोजना सञ्चालनमा छन् । त्यस अलावा सोही क्षेत्रमा पुनः ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माण अगाडि बढाएका छौं, जुन सुदूरपश्चिममा निजी क्षेत्रले बनाउन लागेको सबैभन्दा ठूलो हो । हालसम्म त्यसको ३० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

सोही आयोजनामा स्वपुँजीका रूपमा लगानी जुटाउन हामीले चरणबद्ध रूपमा हकप्रद शेयर निष्कासन गर्न लागेका हौं । केही महिनाअघि पनि हामीले ५७ करोडको हकप्रद शेयर विक्री गरेका थियौं । अहिले दोस्रो चरणमा पनि सोही बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हौं ।

दार्चुला जिल्लामा बन्ने उक्त आयोजनामा ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान छ । त्यसमा ७० प्रतिशत अर्थात् ५ अर्ब १८ करोड रुपैयाँ हिमालयन बैंकको अगुवाइमा ऋण लगानी भएको छ । बाँकी रहेको ३० प्रतिशत अर्थात् २ अर्ब २२ करोड रुपैयाँ भने कम्पनीले स्वपुँजीको रूपमा लगानी गर्नुपर्ने हुन्छ । सोही स्वपुँजी जुटाउन नै हामीले चरणबद्ध रुपमा हकप्रद शेयर जारी गर्न लागेको हौं ।

पहिलो चरणमा हामीले ५७ करोड रुपैयाँको हकप्रद शेयर निष्कासन गरेका थियौं । अहिले दोस्रो चरणमा सोही बराबरको हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढेको छ । दोस्रो चरणको हकप्रद शेयर निष्कासनको प्रक्रिया पुगेपछि तेस्रो चरणमा १ अर्ब ८ करोड रुपैयाँको हकप्रद शेयर निष्कासन गर्नेछौं । सम्भवतः तेस्रो चरणको हकप्रद आगामी आर्थिक वर्ष निष्कासन हुनेछ ।

यस क्षेत्रमा निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाउने हाम्रो प्रयास हो । अहिले हामीले त्यही गतिमै काम गरेका छौं । आगामी २०७९ साल फागुनमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं । गत दसैंको घटस्थापनादेखि आयोजना निर्माण सुरु गरिएको हो । तोकिएको अवधिमै निर्माण सम्पन्न गरेर व्यावसायिक रूपमै विद्युत् उत्पादन गर्ने लक्ष्य छ । विशेषतः अहिले आयोजनाको बाँध निर्माण, विद्युत्गृह बनाउनेलगायतका काम भइरहेका छन् ।

ड्यामबाट चमेलिया नदीको पानी ३ दशमलव ३ व्यास भएको पाइपमार्फत ६ किलोमिटर दूरीमा रहेको विद्युत्गृहमा झारिनेछ । उक्त विद्युत्गृहमा १३/१३ मेगावाटका ३ वटा टर्बाइन हुनेछन् । त्यसबाट उत्पादित विद्युत १६ किलोमिटर लामो १३२ केभीको सिंगल प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट उत्पादित विद्युत् दार्चुला हुँदै कैलालीको अत्तेरियासम्म आउँछ ।

चरणबद्ध रूपमा निष्कासन गर्ने हकप्रद शेयर विक्री हुन्छ भन्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
अहिले नेपाली शेयर बजारले गति लिएको छ । आईपीओ भएको भए आवश्यकभन्दा बढी आवेदन आउने थिए । तर, हकप्रद शेयर भनेको जोसँग कम्पनीको शेयर छ, उनीहरूका लागि मात्र पहिलो अधिकार हो । उनीहरूले नपाए मात्र लिलाम बढाबढमा अन्य योग्य लगानीकर्तालाई विक्री गर्ने हो ।

केही महिनाअघि ५७ करोड रुपैयाँको हकप्रद विक्री गर्‍यौं । अहिले सोही बराबरको हकप्रद शेयर निष्काशन गर्दै छौं । त्यो सबै शेयर शेयरधनीबाटै उठ्छ भन्नेमा विश्वस्त भने छैनौं किनभने कतिपय लगानीकर्ता विदेशमा होलान्, कोहीलाई इच्छै हुँदैन होला । कतिपयसँग आवेदन दिन सक्ने क्षमता पनि नहुन सक्छ । त्यसले गर्दा शेयरधनीबाट शतप्रतिशत रूपमा शेयर खरिद नहुन पनि सक्छ । त्यसरी विक्री नभएको शेयर लिलाम बढाबढमा विक्री गर्छाैं ।

यद्यपि, सबै शेयरधनीहरूलाई यो हकप्रद नछुटाउन आग्रह गर्दछु । अहिले हाम्रा १ लाख ६० हजार शेयरधनी छन् । उनीहरूलाई १०० रुपैयाँमै शेयर पाउनु अवसर हो, जुन शेयरको मूल्य दोस्रो बजारमा गएपछि दुई/तीन गुणा बढी हुन्छ । त्यसले सबै शेयरधनीलाई हकप्रद शेयरमा आवेदन दिन अनुरोध छ ।

अपि पावरले हालसम्म गरेका काम र अनुभव के–कस्ता छन् ?
हाम्रो यात्रा २०७० सालदेखि सुरु भएको हो । त्यसबेला सुदूरपश्चिममा हामीले निजी क्षेत्रबाट पहिलो पटक जलविद्युत् आयोजना बनाउने प्रयास गर्‍यौं । त्यसबेला धनगढी एयरपोर्टमा ‘लगानीमैत्री सुदूरपश्चिम, सुन्दर सुदूरपश्चिम’ लेखेको साइन बोर्ड राखिएको थियो ।

तर, बोर्डमा भने जसरी सुदूरपश्चिम सुन्दर भए पनि त्यो ठाउँ लगानीमैत्री भने थिएन । कारण, टाढा थियो, निजी क्षेत्रको त्यति धेरै सहभागिता पनि थिएन । त्यो अवस्थामा हामीले अध्ययन गर्दा हाइड्रो पावरको सम्भावना देख्यौं । त्यसमा पनि दार्चुला जानुको मुख्य कारणमा चाहिँ सरकारको चमेलिया जलविद्युत् आयोजना सञ्चालनमा थियो । उक्त आयोजना भएपछि त्यहाँ ग्रिडको ढोका खुल्यो । सरकारले नै दार्चुलादेखि अत्तेरियासम्म प्रसारण लाइन बनाएको थियो । त्यसमा निजी क्षेत्रको पनि प्रवेश हुनुपर्छ जस्तो लाग्यो र चमेलिया आयोजना नजिकै जलविद्युत् आयोजना बनाउने निर्णय गरेका हौं । साढे ८ मेगावाटको नौगढ जलविद्युत् आयोजना बनाउन सुरु गर्‍यौं । त्यसमा नेपाल बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन गरियो र निर्माण सुरु गरेको १७ महिनामै आयोजना सम्पन्न गर्न सफल भयौं । जलविद्युत् क्षेत्रमा सबैभन्दा छिटो निर्माण सम्पन्न भएको आयोजना नै यही हो ।

हामीले २०७२ बाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेका हौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भयौं र कम्पनीको शयर मूल्य पनि बढेर ९०० रुपैयाँसम्म पुगेको थियो । सुरु वर्षदेखि नै शेयरधनीलाई थोरै भए पनि लाभांश दिएका छौं । त्यसपछि नौगढ नदीमा ८ मेगावाटको माथिल्लो नौगढ आयोजना बनाउन थालेका हौं । उक्त आयोजना २०७५ देखि सञ्चालनमा आइसकेको छ ।

अपि पावरमार्फत थप आयोजना बनाउने योजनामा हुनुहुन्छ कि ?
पछिल्लो सयम हामी सरकारको ऊर्जा मिश्रणको सिद्धान्तलाई आत्मसात् गर्दै सोलार प्लान्ट प्रोजेक्टमा फोकस भएका छौं । अहिले रौतहटको चन्द्रानिगाहपुरमा चार मेगावाटको सोलार प्लान्ट निर्माण गरिरहेका छौं । सम्भवतः अबको दुई महिनामा उक्त आयोजना व्यावसायिक रूपमै सञ्चालनमा आउँछ । यस्तै, हावाबाट बिजलुी निकाल्ने विषयमा सम्भाव्यता अध्ययन गरिरहेका छौं । कतै उपयुक्त ठाउँ देखिए हावाबाट बिजुली निकाल्छौं ।

कम्पनीलाई बिजुली उत्पादनमा मात्र नभएर राष्ट्रिय/अन्तर्राष्ट्रिय विद्युत् व्यापारमा पनि प्रवेश गराउनुपर्नेछ । यसका लागि सरकारले नै बाटो खुलाउनुपर्छ । विदेशी बजारमा आफैं दर निर्धारण गरेर विद्युत् विक्री गर्न सकियो भने कम्पनीलाई राम्रो हुन्छ । तसर्थ, हामी पराम्परागत शैलीको विद्युत् खरिद विक्रीमा मात्र सीमित हुनु हुँदैन भन्नेमा दृढ छौं ।

यस अलावा जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन साझेदारको खोजीमा छौं । यसका लागि कम्पनीले छुट्टै कमिटी बनाएर काम गरिरहेको छ । यस्तै, विदेशी साझेदारलाई लगानी गराउन ठूलो आयोजनाको पनि अध्ययन गरिरहेका छौं ।

नेपालमा १०० मेगावाटभन्दा साना आयोजनामा विदेशी लगानी आवश्यक नभएको भनिन्छ । यो अवस्थामा तपाईंहरूको साझेदारीमार्फत १०० मेगावाटभन्दा ठूलो आयोजना बनाउने योजना हो ?
अहिले ठ्याक्कै नामचाहिँ नभनूँ । तर, हामीले ठूला आयोजनाको अध्ययन गरिरहेको अवस्था पक्कै हो । विशेषगरी नदी प्रवाहमा आधारित भन्दा पनि स्टोरेज प्रोजेक्टको अध्ययन गरिरहेका छौं ।

यसका अलावा जलविद्युत् आयोजना र सोलार प्लान्टलाई कृषिसँग लिंकअप गरेर काम गर्ने योजना छ । अब व्यापारलाई विद्युत् विक्रीमा मात्र सीमित नराखेर विविधीकरण गर्ने योजनामा छौं ।

रौतहटमा जडान गरिएको सोलार प्लान्टको सोलार प्यानलमुनि बेसार खेती गर्ने विषयमा अध्ययन गरिरहेका छौं । यस्तै, हाइड्रोपावर परिसरमा पनि बृक्षरोपण, बाख्रापालन कसरी गर्न सकिन्छ भनेर अध्ययन भइरहेको अवस्था छ । यस्तो व्यवसायबाट हुने आम्दानीले आयोजनाको सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापन गर्न सकियो भने विद्युत विक्रीबाट हुने आम्दानी बचत हुन्छ र नाफा बढ्छ । शेयरधनीहरूले पनि बढी लाभांश पाउन सक्नेछन् ।

दार्चुलामा ओखरको खेती हुन सक्ने देखिएको छ । त्यहाँका स्थानीयसँग सहकारी मोडलमा गर्न सकिने कृषि उद्यमको अध्ययन गरेका छौं ।

कम्पनीको व्यावसायिक योजना बग्रेल्ती रहेछन् । तपाईं स्वयंले कम्पनीको भविष्य कस्तो देख्नुहुन्छ ?
मैले अपि पावरको भविष्य सुनौलो देखेको छु । साढे ८ मेगावाटको आयोजनाबाट सुरु भएको हाम्रो यात्रामा अहिले ६० मेगावाटको आयोजना बन्न लागेको छ । प्रत्येक वर्ष नयाँ–नयाँ प्राजेक्ट जोड्दै जाने हाम्रो सिद्धान्त छ । ३० वर्षपछि आयोजना सरकारलाई हस्तान्तरण गर्नैपर्छ । त्यस अवस्थामा हामी शेयरधनीको हात खाली नै हुन्छ । तसर्थ, नयाँ आयोजना थप्दै जाँदा राम्रो हुन्छ । आयोजना राष्ट्रियकरण भएपछि कम्पनी हुनुहुँदैन र कम्पनीसँग थप अन्य आयोजना पनि हुने गरि काम गर्नुपर्छ । कम्पनीलाई जीवन्त बनाने हाम्रो उद्देश्य हो ।

कम्पनीको शेयर बढीभन्दा बढी होल्ड गर्न र खरिद गर्न शेयरधनीलाई आग्रह छ । शेयरधनीहरूलाई उचित लाभांश दिने मामलामा हामी संवेदनशील छौं ।

कम्पनीमा १ लाख ६० हजार शेयरधनी छन् भन्नुभयो । शेयरधनीहरू कम्पनीको लाभांशप्रति सन्तुष्ट छन् ?
लाभांश भनेको बैंकको ब्याजदरभन्दा बढी हुनुपर्छ । हाम्रो सिद्धान्त यही हो । लगानीकर्ताले कम्पनीमा लगानी गर्नुपर्ने कारण महत्वपूर्ण विषय हो । बैंकको ब्याजदरभन्दा कम लाभांश पाइन्छ भने लगानी गर्नको अर्थ हुँदैन । अहिले हामीले सोहीअनुसार दोहोरो अंकमा लाभांश दिने गरी काम गरिरहेका छौं । हामीले सुरुका वर्षदेखि नै एकल अंकको दरमा भए पनि लाभांश दिएका छौं । ऊर्जा क्षेत्रमा त्यो आफैमा राम्रो हो । निकट भविष्यमा दोहोरो अंकको लाभांश दिनेछौं । यसमा शेयरधनीहरू ढुक्क भए हुन्छ ।

अबको ३३ महिनामा ४० मेगावाटको चमेलिया सञ्चालनमा आउँछ । साथै, अबको दुई महिनामा नै चार मेगावाटको सोलार प्लान्टबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन हुँदै छ । यी आयोजना सञ्चालनमा आएपछि हाम्रो कारोबार आम्दानी दुवै बढ्छ । त्यसपछि हामीलाई दोहोरो अंकको लाभांश दिन समस्या हुँदैन ।

सँगै मर्जर तथा प्राप्तिको विषयलाई अगाडि बढाएका छौं । कुनै साना तथा समस्याग्रस्त कम्पनीलाई एक्वायर गरेर कम्पनीलाई अझ ठूलो बनाउने योजनामा छौं । त्यसका लागि एक मर्जर कमिटी बनेको अवस्था छ । उक्त कमिटीले वेल म्यानेज नभए समस्याग्रस्त कम्पनीहरू खोजिरहेको छ । त्यस्ता कम्पनी हामीसँग गाभिन तयार भए गाभ्न तयार छौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्