चैत २३, कञ्चनपुर । बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लिन थालेको छ । औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्यांकन, इआइएको भेरिफाइ गर्नेसम्बन्धी कार्य अगाडि बढ्ने भएको हो ।
नगर प्रमुख अशोक चन्दका अनुसार मंगलवारदेखि प्राविधिक टोलीले औद्योगिक क्षेत्रका लागि छुट्टयाइएको जग्गामा गएर कार्य अगाडि बढाउन लागिएको हो । कार्य अगाडि बढाउनका लागि नगर प्रमुख, वडाध्यक्ष, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय, सामुदायिक वनका प्रतिनिधिसँग छलफल गरिएको छ ।
औद्योगिक क्षेत्रको कार्य छिटो छरितो तथा प्रभावकारी रुपमा अगाडि बढाउनका लागि डिभिजन वन कार्यालयलाई औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेडले रू. आठ लाख १३ हजार रकम पेश्कीका रुपमा उपलब्ध गराउने निर्णय गरेको बताइएको छ ।
बिल भरपाइसहितको खर्चको फाँटबारी प्राप्त भएपछि फरफारक हुने गरी लागत अनुमानका आधारमा रकम डिभिजन वन कार्यालयका नाममा पेश्कीका रुपमा उपलब्ध गराइने जानकारी दिइएको छ । गत महीना प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको थियो ।
औद्योगिक क्षेत्रको हालसम्म वन तथा वातावरण मन्त्रालयबाट वातावरण प्रभाव मूल्यांकन स्वीकृत भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिको बैठकबाट २४० दशमलव ३४ हेक्टर (३५५ दशमलव ७० बिघा) जग्गामा डिपिआर निर्माणको कार्य सम्पन्न गरी स्वीकृत भइसकेको छ ।
विसं २०७३ मा मन्त्रिपरिषद्को निर्णयबाट पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुमखोल्सा पश्चिममा साजगाड खोला, उत्तरमा चुरे वन क्षेत्र तथा दक्षिण तर्फ चाँदनीफाँटा बस्तीसम्मको ९०० बिघा जग्गा औद्योगिक क्षेत्रका लागि कायम गरिएको थियो ।
घोषणा भएको चार किल्लाभित्रको जग्गा जिल्ला नापी कार्यालयबाट नापजाँच गरी नाप नक्सा तथा फिल्डबुक तयार गरी करीब २९४ बिघा जग्गाको दर्ताको लागि मालपोत कार्यालयमा सिफारिससमेत गरिएको छ । आयोजनाको कुल लागत रू. नौ अर्ब रहेको छ । औद्योगिक प्लटसंख्या र क्षेत्रफल १०० प्लटमा रहने छ भने साना उद्योगका लागि २३ ओटा प्लट छुट्याइएको छ ।
सो मा सातदेखि १० कठ्ठा जग्गाको व्यवस्था गरिएको छ । मझौला उद्योगका लागि ४४ प्लट छुट्याइएको र त्यसमा १० देखि २० कठ्ठा जग्गाको व्यवस्था रहेको छ ।
आयोजना पूर्वाधार निर्माण गर्न ०७७/७८ देखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आद्यौगिक क्षेत्रमा अनुमानित रोजगारीको संख्या २२ हजार रहेको छ । रासस