चैत २३, काठमाडौं । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले सोमवार अदालतमा पेश गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम ६१ लाख ५५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
फैसलापछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरी सोमवार फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको ब्यूरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी ६१ लाख रुपैयाँ बढीको चेक काटी दिएका थिए ।रासस