चैत २३, सोल । कोरियाली इलेक्ट्रोनिक्स कम्पनी एलजीले अब मोबाइल फोनको व्यापारबाट हात झिक्न लागेको बताएको छ ।
वर्षौंदेखि मोबाइल फोनको व्यापारबाट नोक्सानी व्यहोर्दै आएको उक्त कम्पनीले अवदेखि घाटाको व्यापार नगर्ने निर्णय गरेको सोमवार सञ्चारमाध्यमहरुले बताएका छन् । आफूभन्दा ठूला मोबाइल फोन कम्पनीहरुसँग प्रतिष्पर्धा गर्न नसकेपछि कम्पनीले यस्तो निर्णय गरेको बताइएको छ।
दक्षिण कोरियाली प्रविधि कम्पनी एलजीले आफ्नो रेगुलेटरी फाइलिङमा आउँदो जुलाइ ३१ तारिखबाट मोबाइल कम्युनिकेशन युनिटले मोबाइल फोनको उत्पादन तथा विक्री बन्द गर्ने उल्लेख गरेको छ। कम्पनीले रेगुलेटरी फाइलिङमा आफूले मोबाइल फोन उद्योगमा बलिया प्रतिद्वन्दिसँगको प्रतिष्पर्धाका कारण टिक्न गाह्रो भएको लेखेको छ।
झण्डै दुई महीना अघि कम्पनीले आफ्नो मोबाइल कम्युनिकेशन युनिट जुनसुकै सम्भावनाहरुका लागि खुल्ला रहेको बताएको थियो। एलजी कम्पनीको मोबाइल फोन ब्यापार सन् २०१५ को दोश्रो त्रैमासबाटै संकटमा परेको थियो । गत वर्ष यसको सञ्चालन घाटा ५ ट्रिलियन वन पुगेको थियो।
कुनै समय एलजी विश्वकै तेश्रो ठूलो मोबाइल फोन निर्माता कम्पनी रहेको थियो। मोवाइल व्यापार टिकाउनका लागि केहि समय अघिदेखि कम्पनीले भियतनामको भिनग्रुप तथा जर्मनको भक्सवान कम्पनीसँग कुरा गरिरहेको थियो। तर उनिहरुसँग कुनै सम्झौता हुन नसकेपछि अन्ततः व्यापार बन्द नै गर्ने निर्णयमा कम्पनी पुगेको हो।
कम्पनीका अनुसार मोबाइल व्यापार बन्द हुँदा कम्पनीको रिभेन्यु घटेपनि अन्तत कम्पनीको वित्तीय अवस्था भने राम्रो हुनेछ। विश्लेषकहरुका अनुसार यो निर्णयले कम्पनीको सञ्चालन नाफा १ ट्रिलियन वनले यो वर्ष बढ्न सक्दछ।
उनीहरुका अनुसार एलजी कम्पनीले आफ्ना प्रतिद्वन्दी कम्पनीहरु सामसङ तथा एप्पलसँग प्रतिष्पर्धा गर्न सकेन। महङ्गा फोनहरुमा सामसङ तथा एप्पलले तथा सस्ता फोनहरुमा चिनियाँ कम्पनीले बजार कब्जा गरेपछि एलजी अप्ठ्यारोमा फस्दै गएको थियो ।
मार्केट रिसर्चर काउण्टर पोइन्टका अनुसार गत वर्षसम्म एलजी विश्वको नवौं स्मार्टफोन विक्रेता कम्पनी थियो। जसले विश्वको २ प्रतिशत मोबाइल फोनको व्यापार हिस्सा ओगटेको थियो।
गत वर्ष कम्पनीले २ करोड ४७ लाख थान मोबाइल फोन बेचेको थियो जुन अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले कमि हो। रोयटर्स तथा योनहाप