चैत २३, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको भित्रि कारोबारका सम्बन्धमा नेपाल धितोपत्र बोर्डले छानविन शुरु गरेको छ ।
बोर्डले कम्पनीको भित्रि कारोबारका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार र लगानीकर्ताको गुनासोलाई ध्यानमा राखी बोर्डका निर्देशकको संयोजकत्वमा सोमवार उप–समिति गठन गरी छानविन शुरु गरेको जानकारी प्रेस विज्ञप्ति मार्फत गराएको हो ।
धितोपत्र बोर्डले चैत १८ गतेनै अजोड इन्स्योरेन्को भित्रि कारोबार सम्बन्धी गुनासो प्राप्त भएपश्चातनै कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबार सम्बन्धी विवरण पेश गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई पत्रचार गरेकोसमेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेप्सेले गत चैत १९ गते पत्रमार्फत अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन गर्ने सूचना प्रकाशन गर्नु अघिनै चैत १६ गते भएको शेयर करोबारमा १० प्रतिशत मूल्य वृद्धि भई सर्किट लागेको विवरण बोर्डमा पेश गरेको समेत बोर्डले बताएको छ ।
अजोड इन्स्योरेन्सले चैत १७ गते मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै वैशाख ७ गतेका लागि तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको थियो ।
कम्पनीको हकप्रद शेयर निष्कासनको विषयमा पहिलानै सुचना चुहावट भएको भन्दै लगानीकर्ताहरुले महनगरीय प्रहरी कार्यालय, काठमाडौंमा उजुरीसमेत दिएका छन् ।
गत मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सार्वजनिक हुुनुभन्दा अघिल्लो दिनदेखिनै कम्पनीको शेयरमूल्य अस्वभाविक रुपमा बढेकाले कम्पनीले सूचना चुहावट गरी भित्रि कारोबार गरेको आरोपमा लगानीकर्ताहरुले अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित सात जना बिरुद्ध उजुरी दिएका हुन् ।
चालू आर्थिक वर्षको शुरुवातमा सर्बसाधारणलाई आईपीओ जारी गरेको कम्पनीको हाल रू. १ अर्ब चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी कम्पनीले गरेको हो ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जगेडा कोष रकम रू. ६ करोड ६३ लाख रहेको कम्पनीले रू. ४ करोड ६ लाख ८३ हजार खुद नाफा गरेको छ ।