ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घरवासमा चहलपहल बढ्दै

२०७७ चैत, २४  
गण्डकी प्रदेश
NA

बागलुङ । कोरोना महामारीको चपेटामा परेका बागलुङका घरवास (होमस्टे)मा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । एक वर्षपछि ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आगन्तुकको चहलपहल बढ्न थालेको हो ।

जिल्लामा पहिलोपटक सञ्चालनमा आएको अतिथि सत्कार सामुदायिक घरवास भकुण्डेमा पछिल्लो एक महीनायता बिदाका दिन पर्यटक पुग्ने गरेका छन् । जिल्लाका झण्डै तीन दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा छन् । कोभिड–१९ पछि ठप्प बनेका अधिकांश घरवास सेवा विस्तारै शुरू हुन थालेको अतिथि सत्कार सामुदायिक घरवास बागलुङ नगरपालिका–१० भकुण्डेका अध्यक्ष खिमबहादुर थापाले बताए ।

कोभिडको जोेखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएका घरवास पहिलेका जस्तो भरिभराउ भने हुन सकेका छैनन् । तर कोरोना महामारीको समयमा ठप्प रहेका घरवासमा विस्तारै चहलपहल देखिन थालेको हो । काठेखोला गाउँपालिका–७ रेशमा सञ्चालनमा रहेको डोटा देउराली सामुदायिक घरवासमा पनि आन्तरिक पर्यटक पुग्न थालेका छन् । स्थानीय खानाको स्वाद र घरवास आसपासमा रहेका पर्यटकीय क्षेत्रमा घ्ुम्नका लागि त्यहाँ पुग्नेको संख्या धेरै छ ।

घरवासबाट देखिने प्राकृतिक दृश्यका साथै स्थानीय जातजातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । अहिले आन्तरिक पर्यटक आउने क्रम शुरू भएको डोटा देउराली सामुदायिक घरवास रेशका सञ्चालक प्रेमबहादुर थापाले बताए । ‘स्थानीय कुखुरा र कोदोको ढिँडो खोज्दै बजारदेखि गाउँ आउने धेरै छन्,’थापाले भने ।

कामको क्रममा गाउँमा पुग्नेका लागि समेत गतिलो आवास बन्ने गरेका छन् यहाँका घरवास । विभिन्न योजना र परियोजनाका काम लिएर गाउँ पुग्ने घरवासमा बसेर रमाउने गरेको थापाले बताए । बागलुङका गाउँमा रहेका होमस्टेलाई व्यावसायिक रूपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होमस्टे चलाएर नै दैनिक गुजारा चलाउने स्थानीयको दिनचर्या रहने गरेको भए पनि केही गाउँका घरवास सेवामूलक हिसाबले नै सञ्चालनमा छन् ।

खानाका रूपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेलरोटी, गुन्द्रुक–भट्टमासको तरकारी, स्थानीय जातका गोलभैँडाबाट बनाएको चटनी, स्थानीय रूपमा उत्पादित मकैलगायत स्थानीय खानाले धेरैलाई लोभ्याउँछ । ‘कोरोना महामारीको दोस्रो लहरको त्रास छ, तैपनि गाउँघरमा चहलपहल विस्तारै बढ्दै छ,’ रेश सामुदायिक घरवासका सञ्चालिका उजेली शर्माले भनिन्  । कोरोना महामारीपछि विस्तारै बढेको चहलपहलले घरवास सञ्चालकमा उत्साह छाएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्