ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सडकको गुरुयोजना

२०७७ चैत, २४  
सम्पादकीय
Image Not Found

आर्थिक विकासका लागि महत्त्वपूर्ण मानिएको सडक पूर्वाधार निर्माणमा मुलुकले ठूलो लगानी गरेको छ । तर, देशभरिका सडक सञ्जाललाई कसरी व्यवस्थित गर्ने भन्नेमा गुरुयोजना बनेको पाइँदैन । नेपालमा १ लाख किलोमीटर सडक निर्माण भए पनि गुरुयोजना नबनेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले सरकारी अधिकारीहरूलाई यस्तो गुरुयोजना बनाउन निर्देशन दिएका छन् । यो चाँडै बन्नु आवश्यक देखिन्छ ।

सिमेन्टमा नेपाल आत्मनिर्भर हुने अवस्थामा पुगेको छ । सिमेन्टको कच्चा पदार्थ स्वदेशकै छ । त्यसैले सिमेन्टेड क्रंक्रिट वाला सडक बनाउँदा मुुलुकलाई फाइदा पुग्ने देखिन्छ ।

देशभर नै सडक निर्माणको काम चलिरहेको देखिन्छ । ती सडक संघ, प्रदेश र स्थानीय तहले बनाइरहेका छन् । तर, सडक निर्माणमा समन्वयको अभाव हुन्छ । कुन ठाउँमा कस्तो सडक आवश्यक छ, दीर्घकालीन रूपमा कस्तो खालको सडक आवश्यक पर्ने हो, त्यसको गहन अध्ययन कमै भएको छ । यसो भनेर सडक आयोजनाहरू हचुवामा बनेका हुन् भन्न खोजिएको होइन । राजमार्ग वा स्थानीय सडकहरू बनाउँदा तिनको बारेमा अलग अलग अध्ययन नभएको होइन तर समग्र सडक आयोजनाहरूको एकीकृत रणनीति र गुरुयोजना भने बनेको देखिँदैन । यही कारण नै अहिले ‘डोजर इन्जिनीयर’ले जता मन लाग्यो त्यतै बाटो खनिरहेको अवस्था छ । तिनका बारेमा कुनै पनि अध्ययन भएको छैन । यी सबैलाई व्यवस्थित बनाउन र सडक पूर्वाधारलाई एकीकृत रूपमा अघि बढाउन समेत गुरुयोजना बनाउनु उपयुक्त नै देखिन्छ ।

कतिपय सडक आयोजनाहरू हचुवाका भरमा नबनेका पनि होइनन् । कतिपय ठाउँमा त आवश्यकता र औचित्यभन्दा पनि केही पहुँचवालाहरूको स्वार्थअनुसार समेत सडक पूर्वाधार बनेको पाइन्छ । ठूलो स्रोत खर्च गरेर बनाइएका सडकहरूले दिने आर्थिक लाभको ख्याल नगरिनु विडम्बना मान्न सकिन्छ । जथाभावी बनेका सडकहरूले प्राकृतिक सौन्दर्य बिगारेको मात्र होइन, भूस्खलनको समस्यासमेत निम्त्याएको देखिन्छ । त्यसैले सबैभन्दा पहिले सडकको प्राथमिकता तय गरिनुपर्छ ।

मुलुक संंघीयतामा गइसकेको छ । संघ, प्रदेश र स्थानीय तहले सडक पूर्वाधार निर्माणमा ठूलो बजेट विनियोजन गरेका छन् । तर, गुरुयोजना र एकीकृत रणनीति स्पष्ट नहुँदा यी सडकमा दोहोरोपन हुने सम्भावना देखिन्छ । यी तहबीच समन्वय नहुँदा जथाभावी सडक बन्न सक्छ ।

सडक पूर्वाधारमा नेपाल अझै कमजोर छ । सडक निर्माण पछि नियमित मर्मत सम्भार भएको देखिँदैन । त्यसैले कालोपत्र गरिएका सडकहरू बिग्रिएर कामै नलाग्ने भइसक्दा पनि मर्मतसम्भार हुन सकेको देखिँदैन । नेपालका अत्यधिक सडकहरूको सेफ्टी अडिट पनि भएको छैन । सडक खराब हुँदा दुर्घटनाको सम्भावना हुन्छ । गुरुयोजनाले यी विषयलाई पनि समेट्नुपर्छ ।

नेपालका प्रायः सबैजसो सडकहरू कालोपत्र गर्ने गरिएको छ । मुुलुकको नीति नै पक्की सडक भनेको बिटुमिन र रोडा मिलाएर बनाएको पीच सडक भन्ने रहेको छ । तर, पछिल्लो समय यस्तो कालोपत्रे गरिएको सडकभन्दा सिमेन्टेड सडकको आयु बढी हुने भएकाले यसतर्फ लाग्नुपर्छ भन्ने विचार बलियो रूपमा अगाडि आएको छ । गुरूयोजनाले सिमेन्टेड क्रंक्रिट सडक बनाउने नीतिलाई अँगाल्नुपर्ने देखिन्छ ।

सिमेन्टेड सडक महँगो भए पनि टिकाउ र बलियो हुन्छ । नेपालले सडक पीच गर्नका लागि महँगो विदेशी मुद्रा तिरेर बिटुमिन आयात गरिरहेको छ । सिमेन्ट क्रंकिट बनाउने हो यस्तो आयात गरिरहनु पर्दैन जसले गर्दा विदेशी मुद्रा सञ्चितिमा मद्दत पुग्छ । नेपालमा सिमेन्ट उद्योगहरू प्रशस्त खुलेका छन् । सिमेन्टमा नेपाल आत्मनिर्भर हुने अवस्थामा पुगेको छ । सिमेन्टको कच्चा पदार्थ स्वदेशकै छ । त्यसैले सिमेन्टेड क्रंक्रिट वाला सडक बनाउँदा मुुलुकलाई फाइदा पुग्ने देखिन्छ ।

कालोपत्रे सडकको आयु धेरै लामो देखिँदैन । तर सिमेन्टेड सडकको आयु लामो हुन्छ । साथै, बिटुमिन जलाउँदा तीव्र प्रदूषण हुन्छ । सिमेन्टको सडक बनाउँदा यस्तो प्रदूषण पनि कम हुन्छ । त्यसैले नयाँ सडकमात्रै होइन पुराना सडक मर्मत गर्दा पनि सिमेन्टेड बनाउन सकिन्छ । यसतर्फ पनि मुलुकको ध्यान जानु उपयुक्त हुन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्