ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कहिले तंग्रिएला पर्यटन ?

२०७७ चैत, २४  
लेख | दृष्टिकोण
Image Not Found

सरकारले पर्यटक आगमनलाई केही सहज बनाएकाले व्यवसायीहरू केही उत्साहित भएकै अवस्थामा कोरोनाको अर्को लहरको त्रास फैलिएको छ । विश्वमा नै कोरोना भाइरसका नयाँनयाँ प्रकारहरू म्युटेशन भइरहेको र तिनीहरू झन् बढी संक्रामक भएको समाचार आइरहेको छ । यूरोपमा फेरि बन्दाबन्दी लागू गरिएको छ । भारतमै पनि दैनिक १ लाखभन्दा बढी संक्रमित हुन थालेका छन् । विश्व बैंकको प्रतिवेदनले २०७९/८० मा मात्रै नेपालको पर्यटन व्यवसाय तंग्रिने प्रक्षेपण गरेको छ । यस्तोमा गत १ वर्षदेखि थलिएको पर्यटन क्षेत्र थप थला पर्ने हो कि भन्ने आशंका बढ्न थालेको छ ।

पर्यटन व्यवसायीहरू निराश भएका बेलामा हिमाल आरोहणलगायत गतिवधिका लागि पर्यटक आगमन बढ्नुलाई आशाप्रद संकेत मान्न सकिन्छ । तर, पर्यटन व्यवसाय पूर्ण रूपमा माथि उठ्न भने समय लाग्ने देखिन्छ ।

अर्थ मन्त्रालयका अनुसार कोरोना महामारीका कारण प्रभावित भएको गतिविधिले पूँजीगत खर्चमा समेत प्रभाव पारेको छ । संक्रमण फैलन नदिन सरकारले लगाएका विभिन्न प्रतिबन्ध खुकुलो पार्दै गएपछि अर्थतन्त्रका अवयवहरू क्रमशः चलायमान हुन थालेका छन् । विगतका महीनाको दाँजोमा फागुन र चैत महीनामा बाह्य पर्यटकको आगमन संख्या बढेको देखिन्छ । त्यस्तै हिमाल आरोहणका लागि पनि पर्यटक आएका छन् । पर्यटन व्यवसायीहरू निराश भएका बेलामा यही पनि आशाप्रद संकेत मान्न सकिन्छ । तर, पर्यटन व्यवसाय पूर्णरूपमा माथि उठ्न भने समय लाग्ने देखिन्छ । फरक रणनीति र कार्यक्रम ल्याउन सकियो भने आंशिक भए पनि पर्यटन चलायमान हुन सक्छ ।

उद्योग मन्त्रालयले गरेको एक अध्ययनअनुसार कोरोना भाइरसको महामारीपछि बन्द भएका उद्योगमध्ये ८९ प्रतिशत उद्योग कुनै न कुनै रूपमा सञ्चालनमा आइसकेका छन् । बाँकी उद्योगहरू अहिले पनि बन्छन् । मन्त्रालयले गरेको अध्ययनअनुसार १० दशमलव ८९ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका हुन् । बन्द भएका उद्योगमा लघु तथा घरेलु उद्योगको संख्या बढी छ । सरकारले ल्याएका आर्थिक प्याकेजको पँहुचसम्म नपुग्ने साना उद्यमी पेशाबाट पलायन भएको समेत पाइन्छ । सञ्चालनमा आएकामध्ये १६ प्रतिशत उद्योग नाफामा गइसकेको अध्ययनले देखाएको छ । खपत कम भएका कारण कतिपय उद्योगको क्षमता कम भएको देखिएको छ । तर, कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटनचाहिँ कहिलेदेखि चलायमान हुन सक्छ भनेर आकलनसमेत गर्न नसकिने अवस्था छ । यद्यपि हवाई क्षेत्र भने चलायमान भइसकेको छ । बढ्दो संक्रमण र यात्रा प्रतिबन्धका कारण पर्यटनले अभैm लामो समय अन्योलमै रहनुपर्ने देखिएको छ ।

२०२१ को पहिलो २ महीनामा मात्र १८ हजार २० जना पर्यटक नेपाल आएका छन् । यसरी आउनेमध्ये पनि गैरआवासीय नेपाली, नेपालस्थित विदेशी कूटनीतिक नियोगका कर्मचारी र उनीहरूका परिवारको बाहुल्य छ । वसन्तु ऋतुमा हिमाल आरोहण गर्न पनि सरकारले अनुमति दिएको छ । मार्च महीनामा ८ हजार ३८८ जना दक्षिण एशियालीहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाल आएको देखिन्छ । यीमध्ये ५१ प्रतिशत भारतीय छन् । त्यस्तै अन्य एशियाली देशबाट १५७० बाह्य पर्यटक आएको देखिन्छ ।

जहाज चढेर नेपाल आउने भारतीय नागरिकको संख्या बढेको देखिन्छ । तर, होटेल र एयरलाइन्समा सकारात्मक प्रभाव देखिने गरी पर्यटक आगमन भएको छैन । सबैभन्दा बढी तारे होटलहरू प्रभावित भएका छन् । कोरोना महामारीका कारण १२ लाख जनसंख्या गरीबीको रेखामुनि धकेलिएका छन् । महामारीले १५ लाख ६४ हजारले रोजगारी गुमाएका छन् । कोरोना महामारीले आर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशतमा सीमित गरेको छ । रोजगारी गुमाउनेमा सबैभन्दा बढी पर्यटन क्षेत्रकै जनशक्ति रहेको छ । कतिपय ठूला होटेल अहिले पनि बन्द छन् । प्रमुख पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढे पनि बढ्दो त्रासले यसमा पनि कमी आउन सक्ने देखिन्छ । सरकारले सिमाना खुला गरेपछि भारतीय पर्यटक आगमनको आशा पलाएको थियो । तर, कोरोनाको त्रास फेरि फैलिएपछि भारतीय पर्यटकको आगमन पनि नहुने सम्भावना छ । संक्रमणको चिन्ता बढेकाले भारतबाट आउने पर्यटकलाई नेपालमा सहजै आउन दिने सम्भावना कमै छ ।

कोरोनाविरुद्धको खोप अभियान शुरू गरिएकाले पर्यटन व्यवसायमा सकारात्मक असर पर्ने अपेक्षा गरिएको थियो । ५ प्रतिशत जनताले कोरोनाको खोप लगाइसकेका छन् । यसमा पर्यटन व्यवसायीहरू प्राथमिकतामा परेनन् । अहिले रेस्टुराँहरूमा काम गर्नेहरू संक्रमित हुन थालेको समाचार पनि आएको छ । यसले यस क्षेत्रलाई अझै पछि धकेल्न सक्छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप नेपाल आइसकेको छ । यो खोप पर्यटन क्षेत्रका लागि प्रदान गर्ने हो भने अर्थतन्त्रका लागि निकै सहयोगी हुने देखिन्छ । सरकारले थप खोप ल्याउन कूटनीतिक पहल गर्नु पनि आवश्यक छ । नेपालका दुई निकटतम छिमेक चीन र भारतले कोरोनाको खोप उत्पादन गरिरहेका छन् । छिमेकीलाई प्राथमिकता दिने नीति दुवै सरकारको रहेको छ । दुवै ठूला मुलुक भएकाले उनीहरूले थोरै मात्र खोप नेपाललाई उपलब्ध गराउँदा पनि यहाँ पर्याप्त हुन सक्छ । त्यसो गर्न सकिए अर्थतन्त्रका सबै क्षेत्र चलायमान हुनुका साथै पर्यटनलाई पनि चाँडै नै गति दिन सकिन्छ ।

एसिया प्यासिफिक एभिएशनले गरेको एक सर्वेमा ८० प्रतिशत पर्यटकले क्वारेन्टाइन नियमका कारण यात्रा गर्न नचाहेको बताएका छन् । २०२१ को अन्त्यतिर मात्रै व्यापक रूपमा खोपको पहुँच पुग्ने भएकाले त्यसयता पर्यटक चहलपहल कम हुने देखिन्छ । भारतमा भएको एक सर्वेअनुसार ५६ प्रतिशत पर्यटकले अर्थतन्त्र स्थिर नभएसम्मका लागि भ्रमणको कार्यक्रम रद्द गरेका छन् । त्यस्तै ६६ प्रतिशतले भ्याक्सिन लगाएकाहरूका लागि क्वारेन्टाइनको व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् । ८१ प्रतिशतले भने खोप लगाइसकेको अवस्थामा हवाई यात्रा गर्न तयार भएको बताएका छन् । नेपालमा भने यस्तो अध्ययन केही पनि भएको पाइँदैन ।

पर्यटन क्षेत्र कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भए पनि यसलाई उकास्ने बारेमा ठोस अध्ययन र कार्यक्रम तय भएको पाइँदैन । अर्थतन्त्रका अन्य क्षेत्र चलायमान भएको अवस्थामा सरकारले राम्रो आम्दानी गरेको पर्यटन क्षेत्रलाई अहिले उपेक्षा गरेको जस्तो देखिएको छ ।

लेखक नेपाल एसोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्