ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

इन्डेक्स गणना र एशियाली शेयरबजारको इन्डेक्स

इन्डेक्सको तुलना निरर्थक

२०७७ चैत, २४  
लेख | दृष्टिकोण
Image Not Found

नेपालको शेयर कारोबार मापन गर्ने इन्डेक्स यति र उति पुग्छ भन्ने बारम्बार सुनिन्छ । सँगसँगै जस्तै आएको भारतको नेशनल स्टक एक्सचेन्ज लिमिटेड (एनएसई) को मानक इन्डेक्स निफ्टी फिफ्टी १५ हजार बिन्दुको हाराहारीमा पुगेकाले नेप्से पनि १० हजार पुग्नुपर्छ भन्ने पनि सुनिन्छ । ‘नेप्से’ नेपालको शेयर कारोबार मापकको नाम र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको संक्षिप्त नाम पनि हो । नेप्से नेपालको मानक इन्डेक्स हो । यसका अतिरिक्त विभिन्न १३ ओटा छुट्टै सब इन्डेक्स पनि छन् । त्यस्तै, प्रवाहित शेयरको मात्र कारोबार मापन गर्ने प्रवाहित (फ्लोट) इन्डेक्स पनि छ । कम्पनीलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ मा वर्गीकरण गर्नुअघि नेप्सेले तात्कालिक अवस्थामा विभिन्न इन्डीकेटरको आधारमा ‘क’ वर्गमा राखेको हाल कुनै अर्थ नभएको कम्पनीको मात्र कारोबार मापन गर्ने सेन्सेटिभ र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि छ । यी जे जति इन्डेक्स छन् ती सबैको गणना विधि एकै हुन्छ । अहिले संसारभरका एक्सचेन्जले कारोबार मापनका लागि अपनाएको विधि एस एन्ड पी (स्ट्यान्डर्ड एन्ड पूअर) हो ।
 
केही एशियाली सूचक
शेयर कारोबारीले इन्डेक्सलाई सर्वस्व जत्तिकै माने पनि यो एउटा सामान्य मार्गदर्शन मात्र हो । यसलाई व्यक्ति–व्यक्तिले आफ्नोअनुकूल पनि बनाउन सक्छन् । यसको मापन निश्चित इन्डिकेटरको आधारमा गरिन्छ । सूचीकृत सबै कम्पनीको र निश्चित कम्पनी मात्र राखेर मापन गर्न सकिन्छ । शुरुआती चरणमा सबै कम्पनीलाई समेटेर इन्डेक्स मापन गरे पनि कम्पनीको संख्या बढ्दै जाँदा निश्चित इन्डिकेटरको आधारमा सीमित कम्पनी राखेर मापन गर्ने विश्वव्यापी प्रचलन छ । इन्डेक्स गणनाले विगत र वर्तमानको पूँजीकरणको तुलना गर्दै भविष्यको आकलन गर्न सकिन्छ । केही एशियाली देशको इन्डेक्स तालिकामा देखाइएको छ ।

सूचक गणना
शेयर कारोबारको मापन गणना गरिने इन्डेक्स कम्पनीले दिएको लाभ वा कम्पनीका शेयर मूल्यको औसत दुवै होइन । इन्डेक्सलाई प्रभाव पार्ने केही सीमित कम्पनी मात्र हुन्छन् । ठूलो पूँजी वा बढी मूल्यले यसलाई प्रभाव पार्छ । एकै कम्पनीले इन्डेक्सलाई तलमाथि जता पनि लैजान सक्छ । नेपालको हकमा नेपाल टेलिकमले प्रभाव पार्दै आएको छ । यद्यपि टेलिकमको भन्दा बढी पूँजी भएका (ग्लोबल र पूर्वाधार बैंक) कम्पनी सूचीकरणमा भए पनि यी २ कम्पनीले इन्डेक्सलाई प्रभाव पार्न सकेका छैनन् । कुल पूँजीकरणको आधारमा टेलिकमको बजार अंश झन्डै ६ प्रतिशत छ । यसको मूल्यमा आउने उतारचढावले इन्डेक्सलाई प्रभाव पार्छ । पूँजीभन्दा मूल्यले किन कसरी के प्रभाव पार्छ भन्ने बुझ्न पहिला यसको गणना कसरी हुन्छ बुझ्नुपर्छ । इन्डेक्स कुनै १ दिनको आधार बजार पूँजीकरण र दैनिक पूँजीकरणको अनुपात हो । आधार पूँजीकरण र त्यसपछिका हरेक दिनको पूँजीकरणका दुईओटा अंक लिएर इन्डेक्स मापन गरिन्छ । आधार पूँजीकरण नयाँ कम्पनी सूचीकरण र हकप्रद समायोजन भएपछि परिवर्तन हुँदै जान्छ । बोनस शेयरले आधार पूँजीकरण परिवर्तन हुँदैन । मानौं इन्डेक्स गणना शुरू गर्ने दिन सूचीकृत कम्पनीको बजार पूँजीकरण १ अर्ब रुपैयाँ थियो भने पहिलो दिनका लागि इन्डेक्स मापन १ हुन्छ । यस्तो हिसाब १ अर्ब रुपैयाँलाई सोही रकमले भाग गर्दा आउँछ । यसरी भाग गर्दा आउने प्रतिफल १ नै त्यस दिनको इन्डेक्स हो । यो १ अङ्कलाई १ सय वा १ हजार मान्न सकिन्छ । भोलिपल्ट बजार पूँजीकरण बढेर १ अर्ब १० करोड रुपैयाँ भएमा आधार पूँजीकरणको रूपमा स्थिर रहने १ अर्ब रुपैयाँले १ अर्ब १० करोड रुपैयाँलाई भाग गरेर त्यस दिनको इन्डेक्स १ सय १० वा १ हजार १ सय र प्रतिशतमा व्यक्त गर्दा १० प्रतिशत हुन्छ । त्यसको भोलिपल्ट बजार पूँजीकरण घटेर १ अर्ब ८ करोड रुपैयाँ कायम भएमा उही स्थिर आधार पूँजीकरण १ अर्ब रुपैयाँले भाग गर्दा इन्डेक्स १ सय ८ वा १ हजार ८० हुन्छ । इन्डेक्सलाई पहिलो दिन एक, १ सय, वा १ हजारजति अङ्कबाट शुरू गरे पनि तथ्यमा फरक पर्दैन । नेपाललगायत धेरै देशमा पहिलो दिनलाई १ सय बिन्दु मानी गणना गर्ने गरिएको छ ।

गणनाका आधार र तुलना
माथि नै भनियो गणना जति अङ्कबाट पनि गर्न सकिन्छ । तालिकामा देखाइका १० ओटा इन्डेक्समध्ये रोयल सेक्युरिटिज एक्सचेन्ज अफ भुटानको इन्डेक्स गणना सबैभन्दा कान्छो हो । भुटानले इन्डेक्स गणना सन् २०१९ बाट शुरू गर्दा पहिलो दिनलाई १ हजार मानेको छ । त्यस्तै, १ हजार अङ्कलाई आधार मानेका अन्य इन्डेक्समा भारतको एनएसईको मानक इन्डेक्स निफ्टी फिफ्टी, पाकिस्तान स्टक एक्सचेन्जको मानक इन्डेक्स केएसई– १०० र बंगलादेशको ढाका स्टक एक्सचेन्जको डीएसई–३० रहेका छन् । भारतको बीएसईको मानक इन्डेक्स सेन्सेक्स १ सय अङ्कबाट गणना गरिएको हो । सेन्सेक्समा ३० ओटा कम्पनीको मात्र कारोबार मापन गरिन्छ । अहिले भुटानको इन्डेक्स घटेको छ । यसको अर्थ दैनिक पूँजीकरण आधार पूँजीकरणभन्दा तल झरेको छ । पूँजीकरण घट्नुको अर्थ कम्पनीको मूल्य घट्नु हो । मूल्य घटे पनि कारोबार रकम बढ्न सक्छ । कारोबार रकम बढ्नु इन्डेक्स बढ्नु होइन । थोरै कित्ता मात्र कारोबार भएमा पनि मूल्य बढेमा इन्डेक्स बढ्छ ।

निफ्टी करिीब १५ हजार भएको तर, नेपालमा कहिले होला भन्ने चर्चा चल्दा यसको गणना विधिलाई बुझ्न सकेको भए यस्तो कुरै आउने थिएन । निफ्टीको आधार गणना बिन्दु १ हजार हो भने नेप्सेको आधार गणना बिन्दु १ सय हो । निफ्टीलाई नेपालको गणना विधिअनुसार हेर्दा आजको दिनमा यसको इन्डेक्स १५ सय हाराहारी हो । त्यस्तै, नेप्सेलाई निफ्टीको गणनाअनुसार हेर्ने हो भने २७ हजार हाराहारी हो । संसारकै ठूलो एक्सचेन्जको सूचीमा १०सौं स्थानमा पर्ने बीएसई र ११रौं मा पर्ने एनएसई दुवैको आआफ्नै विशेषता छन् । भारतमै यी दुई एक्सचेन्जको तुलना इन्डेक्सको आधारमा गरिँदैन । त्यही भएर संसारका कुनै पनि एक्सचेन्जको इन्डेक्स कुनै पनि अर्को एक्सचेन्जको इन्डेक्ससँग कहिले पनि तुलना गरिँदैन । इन्डेक्सबाहेक अरू कुरामा तुलना हुनसक्छ । इन्डेक्स जति पनि पुग्न सक्छ यसको कुनै सिमाना हुँदैन । इन्डेक्स नै लगानीको सर्वोच्च मानक हुँदैन ।

लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्