चैत २४, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधवार आठौं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको केन्द्रिय कार्यालय, सप्तरीमा बिहान ११ बजे सभा बोलाइएको हो । सभाले प्रस्तावित कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
लाभांश प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय प्रतिवेदन सहित चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । साथै, प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ ।
सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट चार र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । अन्य कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १० गते (एक दिन) बुक कलोज गरेको छ । बुक क्लोजको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य भएका छन् ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा १० दशमलव ५३ प्रतिशत कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र ११ दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड ६६ लाख २० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने भएको हो ।