अब नेपाली वस्तुबजारका लगानीकर्ताहरूले आफूले अनलाइनबाट कारोबार गरेका वस्तुहरूको भौतिक परिमाणको स्वामित्व (फिजिकल डेलिभरी) समेत पाउने भएका छन् । नेपालमा स्पट एक्सचेन्ज सञ्चालनमा आउन लागेपछि यो सुविधा प्राप्त हुने भएको हो । नेपाल स्पट एक्सचेन्ज लिमिटेड (एनएसई) नामक उक्त एक्सचेन्ज आगामी साउन १ गतेदेखि सञ्चालन हुने बताइएको छ । अहिलेसम्म ३ वटा फ्युचर्स एक्सचेन्ज रहेकाले ती सबैले विभिन्न वस्तुहरूको फ्युचर कन्ट्रयाक्टमा मात्र कारोबार गराउँदै आएका थिए ।
मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स) को अगुवाइमा नेपाल स्पट एक्सचेन्ज सञ्चालनमा आउन लागेको हो । उक्त स्पट एक्सचेन्जमा मेक्सको ४० प्रतिशत सेयर रहेको छ । यसमा मेक्सका क्लियरिङ मेम्बरहरू हिमालयन कमोडिटिज र एक्सिस ब्रोकिङ सोलुसनको क्रमशः २०–२० प्रतिशत लगानी छ । मेक्सकै ननक्लियरिङ मेम्बर साउथ एसियन कमोडिटिज ब्रोरकेजको १० प्रतिशत र बाँकी १० प्रतिशत विभिन्न व्यक्तिको लगानी रहेको छ । यस स्पट एक्सचेन्जमार्फत सुन चाँदीलगायत नेपाली कृषि उत्पादनहरूको समेत कारोबार हुने बताइएको छ ।
अंक ४१, २०६७, जेठ ३१–असार ६