ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘नेशनल पेमेन्ट स्वीच’को पहिलो चरण : अन्तरवालेट कारोबारलाई जोड्ने तयारी

२०७७ चैत, २५  
समाचार
Image Not Found
author avatar ममता थापा

काठमाडौं । नेशनल पेमेन्ट स्वीच (राष्ट्रिय भुक्तानी स्वीच) बाट पहिलो चरणमा अन्तरवालेट कारोबारलाई जोड्ने तयारी भएको छ । हाल ग्राहकले एउटा वालेटबाट अर्को वालेटमा सीधै कारोबार गर्न नसक्ने भएकाले यसलाई प्रत्यक्ष जोड्न अन्तर वालेट कारोबार गर्न लागेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले बताएको छ । यसबाट जुनसुकै वालेटबाट देशभित्र दोहोरो भुक्तानी गर्न मिल्नेछ ।

केन्द्रीय बैंकले स्वीच स्थापना गर्न एनसीएचएललाई जिम्मा दिएपछि विभिन्न चरणमा प्राविधिक तथा वित्तीय विश्लेषण गरिसकेको छ । पहिलो चरणमा भुक्तानी स्वीचले क्यूआर कोड (क्वीक रेस्पोन्स), वालेट, कनेक्ट आईपीएसजस्ता ननकार्ड सेक्सनका डिजिटल भुक्तानीका लागि अन्तरकारोबारमा जोड्ने गरी काम गरिरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले बताए ।

उनका अनुसार सम्भवतः आउँदो वैशाख–जेठसम्ममा कार्डबाहेक वालेटजस्ता नन कार्डको डिजिटल भुक्तानी गर्ने काम शुरू हुन सक्छ,’ उनले अभियानसँग भने, ‘डेविट तथा क्रेडिट कार्ड स्वाप गरेर पोइन्ट अफ सेल्स (पस) मेशिनबाट भुक्तानी गर्ने, एटीएममबाट नगद झिक्न प्रयोग हुनेजस्ता कार्ड सेक्सनमार्पmत कारोबारका लागि भने दोस्रो चरणमा स्वीच बनाउने तयारी छ ।’

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेशमान सिंह प्रधान भने पेमेन्ट स्वीच ठूलो परियोजना भएकाले समय लाग्ने बताउँछन् । अहिले कार्डबाहेकका डिजिटल भुक्तानीलाई स्वीचसँग जोड्ने काम गरिरहेको उनले जानकारी दिए ।

‘हाम्रो टीमले अहिले अन्तर वालेट कारोबार गर्नका लागि कार्यविधि, पूर्वाधार र सफ्टवेयर बनाउँदै छ । सबै वालेटमा प्रयोग हुने प्रणाली पनि बन्नुपर्ने भएकाले यसै काममा लागिपरेका छौं,’ उनले भने ।

हाल २८ ओटा भुक्तानी सेवाप्रदायक संस्था राष्ट्र बैंकमा दर्ता छन् । यो व्यवस्था आएपछि अन्तर वालेट फन्ड ट्रान्सफर गर्न सकिन्छ । ‘अहिले कुनै एउटा वालेटमा ग्राहकले राखेको रकम (ब्यालेन्स) अर्को वालेटमा सीधै पठाउन सकिँदैन । यसरी गरेको ट्रान्सफरमा केही शुल्क लाग्छ । बैंकको खातामा राखेर फेरि त्यहाँबाट ट्रान्सफर गर्दा पनि शुल्क तिर्नुपर्छ । तर, भुक्तानी स्वीच सञ्चालनमा आएपछि एउटा वालेटबाट अर्को वालेटमा सीधै रकमान्तर गर्न सकिन्छ,’ सीईओ प्रधानले अभियानसँग भने, ‘कारोबार रकमको सीमा भने हाल राष्ट्र बैंकले तोकेअनुसार रहनेछ ।

स्वीचमार्फत अन्तर वालेट कारोबारका लागि पनि छुट्टै कार्यविधि बनाउनुपर्छ ।’ अन्तर वालेट कारोबार अहिले बजारका लागि आवश्यक नभइहालेको ई–सेवाका सीओओ रोशन लामिछानेको तर्क छ । अहिले भुक्तानी सेवाप्रदायकहरू सबैको वालेटबीच अन्तर वालेट कारोबार नभए पनि आआफूले प्रयोग गरेको स्वीचको सञ्जालअनुसार २–३ ओटाको वालेटको भुक्तानी गर्ने व्यवस्था भने भएको उनले बताए । ‘हामी फोन–पे नेटवर्कसँग आबद्ध छौं । यो नेटवर्कमा ईसेवा, आईएमई पेलगायत वालेट पनि आबद्ध छन् । यसो हुँदा अहिले कमन सेटअप बक्समा यसमा आबद्ध सबै वालेटले भुक्तानी गर्न मिल्छ,’ उनले भने, ‘तर, नेशनल स्वीचको अन्तरवालेट कारोबार ल्याउनु भनेको नेपाल टेलिकमको ब्यालेन्स एनसेलमा ट्रान्सफर गर्नु भन्नुजस्तो हो भने खासै आवश्यक छैन ।’

तर, एनसीएचएलले ल्याउने स्वीच जुनसुकै वालेट भए पनि एउटै मर्चेन्टमा एउटै स्वीचमा आबद्ध भएकाले भुक्तानी गर्न पाउँछ भने उपयुक्त हुनसक्छ । आफ्नै सिस्टम र छुट्टै खर्च भएको बताउँदै उनले वालेट कारोबारको स्वीच प्रायः आआफ्नै मात्र हुने गरेको विश्वव्यापी अभ्यास भएको बताए । एनसीएचएलले बैंकिङ प्रणालीमा विद्युतीय कारोबारलाई सस्तो र सुरक्षित बनाउन आफ्नै देशको ‘नेशनल पेमेन्ट स्वीच’ स्थापना गर्न लागेको हो । हालसम्म सञ्चालनमा रहेका आईपीएस, कनेक्ट आईपीएस र बजारमा चलेका वालेट, क्यूआर कोड, डेबिट तथा क्रेडिट कार्डलगायत विद्युतीय भुक्तानी प्रणाली सबैलाई स्वीचमा समावेश गर्न लागेको हो । एनसीएचएलले दोस्रो चरणमा भने सबै बैंकका डेविट तथा क्रेडिट कार्डलाई आफ्नै देशको एउटै स्वीचमार्फत कारोबार गर्ने व्यवस्था ल्याउनेछ ।

अहिलेसम्म नेपालको आफ्नै विद्युतीय भुक्तानी प्रणाली नहुँदा बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारमा भिसा, मास्टर्ड कार्डजस्ता अन्तरराष्ट्रिय पेमेन्ट गेटवेलाई महंगो शुल्क तिर्नु परिरहेको छ । नेपालका बैंकहरूले विदेशी स्वीचका माध्यमबाट डेविट क्रेडिट कार्ड र एटीएमको भुक्तानी दिने गरेका छन् । प्रत्येक कारोबारको करीब न्यूनतम १२ रुपैयाँको दरले विदेशी स्वीचलाई शुल्क तिरिरहनु परेको छ ।

विभिन्न सपिङ मलहरूमा राखिएका पस मेशिनबाट कार्ड घोटेर भुक्तानी गर्दा महँगो शुल्क अन्तरराष्ट्रिय संस्थालाई तिर्नुपरेको छ । उनीहरूले प्रत्येक राफसाफको शुल्क काट्छन् । यसले वर्षेनि धेरै रकम विदेशिएको छ । तर, नेपालले आफ्नै स्वीच राखेपछि धेरै राहत हुन्छ । शुल्क कम पर्ने भएपछि आम ग्राहकसमेत विद्युतीय कारोबारमा आकर्षित हुने अपेक्षा गरिएको छ । ग्राहकले गरेको कारोबारलगायत तीनपुस्ते सूचनाको पहुँचसमेत उक्त अन्तरराष्ट्रिय कम्पनीलाई हुने गरेको छ । नेपालको आफ्नै स्वीच भएपछि उनीहरूको सूचना नेपालमा सुरक्षित रहने भएकाले विश्वसनीयसमेत हुने एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत प्रधान बताउँछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्