ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अहिलेकै अवस्था रहिरहे ५ वर्षमा आधा होटेल बन्द हुनेछन्

२०७७ चैत, २५  
अन्तरवार्ता
Image Not Found
साजन शाक्य, महासचिव, होटेल एशोसिएशन नेपाल (हान)

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरिए पनि उक्त लक्ष्य पूरा हुन सकेन । २०२० को शुरूदेखि देखिएको कोरोना भाइरस (कोभिड–१९)का कारण सिजनमै पर्यटक आगमन शून्य रह्यो । गतवर्ष बाह्य पर्यटकको संख्या २ लाखमै सीमित रह्यो । नेपालमा १९६० को दशकदेखि पर्यटन व्यवसायमा निजीक्षेत्रको प्रवेश भएको थियो । त्यसयता पहिलोपटक दशवर्षे सशस्त्र द्वन्द्वको बेला ठूलो मार खेपेको पर्यटन क्षेत्र अहिले भने कोरोना  महामारीका कारण शिथिल बन्यो । पर्यटनमा पनि सबैभन्दा बढी होटेल उद्योग प्रभावित भएको छ । यो अवस्थाबाट पार पाउन होटल उद्योग के–कस्ता रणनीतिका साथ अघि बढेको छ भन्ने विषयमा होटेल एशोसिएशन नेपाल (हान)का महासचिव एवं काठमाडौं प्रिन्स होटेलका अध्यक्ष समेत रहेका साजन शाक्यसँग आर्थिक अभियानका हिमा वि.कले गरेको कुराकानीको सार :

कोरोना महामारी प्रभावित हस्पिटालिटी क्षेत्रको पछिल्लो अवस्था कस्तो छ ?
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गतवर्ष चैत ११ गतेदेखि बन्दाबन्दी गर्‍यो, जसले पर्यटन व्यवसाय नै ठप्प भयो । अझ त्यसमा सबैभन्दा बढी होटेल उद्योगहरू मर्कामा परे । यो अवस्था हालसम्म पनि जारी छ । होटल क्षेत्रमा खर्बाैं लगानी छ । हानमा अहिले तीन वर्गका होटेल छन् । त्यसमा पर्यटकीय स्तरका होटेलहरू भाडामै चलेका छन् । भाडामा सञ्चालन भइरहेका होटेलहरूलाई मासिक भाडा तिर्न नै धौधौ भयो । दोस्रो पुराना होटेलहरू, जो ४० देखि ५० वर्षदेखि सञ्चालनमा छन्, त्यस्ता होटेलहरूमा भने कर्मचारी व्यवस्थापन नै चुनौती बन्यो । पुराना कर्मचारी र पारिश्रमिक पनि सोहीअनुसारले बढेको हुँदा कर्मचारी धान्नै गाह्रो स्थिति देखियो । पुराना होटेलहरूमा ऋणको भार कम भए पनि कर्मचारीको पारिश्रमिकमै ४० प्रतिशतसम्म खर्चिनुपर्ने थियो । तेस्रोमा नयाँ होटेलहरू, जसलाई कर्मचारीको व्यवस्थापन भन्दा पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तथा किस्ता तिर्न गाह्रो भयो । यी तीन वर्गकै होटेलहरूको समस्या समाधानका सोही किसिमले माग राखिएकोमा सरकारले पनि सम्बोधन गर्नु सकारात्मक हो । अर्काे, होटेलको डिमाण्ड शुल्क, घर कर्जा, व्यवसायी करमा छूट र सामाजिक सुरक्षा कोषमा पनि सरकारले गरेको योगदान सकारात्मक छ ।

नेपालमा कोरोना देखिएको १ वर्ष भइसकेको छ । यो अवस्थामा होटेल क्षेत्रले के कस्ता चुनौतीको सामना गरिरहेको छ ?
अहिले पनि होटेल क्षेत्रले मासिक १ अर्ब ८० करोडको क्षति बेहोरिरहेको छ । यो क्षेत्रमा कर्मचारीकै व्यवस्थापन मुख्य चुनौती हो । होेटेल बन्द गर्नुपर्दा पनि कर्मचारीलाई पारिश्रमिक दिनैपर्नेछ । कर्मचारी तथा श्रमिकलाई पारिश्रमिक दिन समझदारी पनि गरिएको छ । अहिले पनि पर्यटक आगमनमा सुधार नभएकोले २०२१ को डिसेम्बरसम्म होटेलको स्तरअनुसार घरमा बसेका कर्मचारीलाई मासिक ५ हजार रुपैयाँ र काममा आउनेलाई भने पूर्ण पारिश्रमिक दिने सहमति भएको छ । यसो गर्नुको उद्देश्य होटेल पनि बचोस् र कर्मचारी पनि बाचून् भन्ने नै हो । हामीले अहिले कर्मचारीलाई होटेल खुलेन भनेर जागिरबाट निकालेका छैनौं । जुन दिनदेखि होटेल खुल्छ, त्यसबेला उहाँहरू आउन सक्ने वातावरण बनाइएको हो । अर्काे, होटेल खुले पनि पर्यटक आइसकेको अवस्था छैन । तेस्रो देश यूरोपमा बन्दाबन्दी छ भने भारत, बंगलादेश, चीन लगायत मुलुकमा संक्रमण बढेको छ । यो परिस्थितिमा होटेल कति दिन खोल्ने, कसरी कसरी टिक्न सकिन्छ भन्ने नै मुख्य चुनौती हो । यो स्थिति अनिश्चित नै छ । त्यसमा मजदूर र सरकारको सहयोगले केही सहज वातावरण छ ।

२०२१ को मार्चमा पर्यटक आगमनमा गतवर्षको सोही अवधिको तुलनामा सुधार देखिएको छ । बन्दप्रायः रहेको होटेल क्षेत्रमा यसको प्रभाव कस्तो पर्ला ?
अहिले खुलेका होटेलहरूमा पनि अकुपेन्सी एकदमै कम छ । यद्यपि पर्यटक आगमनमा भएको सुधारले अकुपेन्सीमा केही झीनो सुधार देखिएको पक्कै हो । विदेशी पर्यटकहरू ट्रेकिङ तथा हिमाल आरोहणका लागि आइरहेका छन् । यसले शून्य अवस्था भन्दा केही फरक परेकै छ । कोभिड कम भएमा आगामी सिजन (अक्टोबर–नोभेम्बर)मा पर्यटक आउने सम्भावना धेरै छ । अहिले पनि उक्त सिजनका लागि बुकिङ हुने अवस्था छ । मार्च–अप्रिलमा ट्रेकिङ सिजन अनुकूल भएको र भारतबाट काठमाडौंमा क्वारेन्टाइन बस्न भारतीयहरू आउँदा पर्यटक पनि बढी देखिएको हो । हानका सदस्य होटेलहरूको क्षमताबाटै अहिले ५० लाख पर्यटकलाई सेवा दिन सकिन्छ । पाँचतारे होटेल १५, एकदेखि चारतारे होटेलको संख्या ७०, रिसोर्ट तथा बुटिक होटेल पनि ८० जति छन् भने बाँकी पर्यटकस्तरका होटेल ३०० जति छन् । पर्यटकहरू छरिएर बस्दा अधिकतम एउटा होटेलको अकुपेन्सी १० प्रतिशतसम्म जान सक्छ । पर्यटक आगमन बढ्दै जाँदा यसमा पनि सुधार हुनेछ ।

होटेल उद्योग नै धराशयी भएर व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आइसकेको प्रतिवेदन हानको छ । यस्तो अवस्था आएकै हो त ?
यो अवस्था लम्बिँदै गयो र ५ वर्षसम्ममा पनि पुनरुत्थान हुने सम्भावना क्षीण भयो भने होटेल सञ्चालन हुन सक्ने अवस्था रहँदैन । त्यसपछि बन्द गर्नुपर्ने बाध्यता हुन्छ । यस्तै अवस्था द्वन्द्वकालमा पनि देखिएकै हो । त्यसबेला यो अवस्था ५ वर्षसम्म लम्बिँदा दरबारमार्गको शेर्पा होटेल, ललितपुरको होटेल नारायणी र थापाथलीको ब्लु स्टार होटेल बन्द हुन पुगेका थिए । अहिलेको अवस्था झन् जटिल भएकाले अनिश्चितता लम्बिरहे ५ वर्षसम्ममा आधा होटेल बन्द हुन सक्छन् ।

अहिले खासमा दुईथरी लगानीकर्ता देखिन्छन्– पुराना र भ्रमण वर्षलाई लक्षित गरी लगानी गरेका नयाँ लगानीकर्ता । सबैभन्दा बढी समस्यामा को छन् ?
सबैखाले होटेलमा समस्या नभएको होइन, समस्या छ । पुराना तथा स्थापित भइसकेका होटेलमा कर्मचारी व्यवस्थापनकै समस्या हो । अहिले नयाँ लगानीकर्ता बढी समस्यामा देखिन्छन् । किनभने २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी ‘नेपाल भ्रमण वर्ष’ घोषणाको तयारी गर्दादेखि नै त्यसलाई लक्षित गरेर यो क्षेत्रमा नयाँ लगानीकर्ता आएर ठूलो मात्रामा लगानी थपे । उनीहरूले होटेल खोले । तर प्रतिफल भने पाइनसक्दै होटेल उद्योग नै जटिल अवस्थामा आयो । यस्ता लगानीकर्ताको ऋण नै बढी भयो । अहिले राज्यले केही सहयोग गरेको छ । अब राज्यले नै यस्ता लगानीकर्तालाई बचाउन सक्छ । ५ वर्षसम्मका लागि ब्याज छूट तथा तिर्ने समय थप्न सके लगानीकर्तालाई जोगाउन सकिन्छ । यो राज्यको पनि दायित्व हो ।

अहिले काठमाडौंका तारे होटेलहरूले पनि फुड डेलिभरी तथा विभिन्न खाले अफर दिएर रेष्टुराँहरू सञ्चालन गरिरहेका छन् । यो बिजनेश टिकाउन चालिएको कदम हो ?
ठीक हो । किनभने पर्यटक नआए पनि होटेलमा रहेका रेस्टुराँ सञ्चालन गर्नुपर्ने भएकाले त्यसलाई किन प्रयोग नगर्ने भन्ने हो । लकडाउनले होम डेलिभरी, ब्यांक्वेटहरू चलाएर त्यहाँबाट पनि केही आम्दानी भएको छ । विवाहको सिजनमा पनि ब्यांक्वेट सञ्चालन गर्दा शून्य कारोबार भएको होटेल उद्योग केही आयआर्जनको बाटो बनेकै हो । पहिला तारे होटेलहरूमा ब्यांक्वेट सेवा भए पनि ‘टेक अवे’को प्रचलन थिएन । तर बन्दाबन्दीपछि यसको प्रचलन बढेकाले यसमा अवसर खोजिएको हो ।  

अकुपेन्सी नै अत्यन्त न्यून भएका बेला होटेलहरू खोल्नैपर्ने बाध्यता छ । यस्तो अवस्थामा सञ्चालन खर्च तथा कर्मचारी व्यवस्थापन कसरी हुँदै आएको छ ?
नयाँ होटेलहरू ऋणबाटै चलेका छन् भने पुराना होटेलको अवस्था पनि यही हो । आन्दानी नै नभएपछि पुराना होटेल भने विभिन्न आफ्नै फण्डबाट पनि चलेको देखिन्छ । तर, समग्रमा अहिले ऋणबाटै सबै खर्च धानिएको अवस्था छ ।  

विगतमा आन्तरिक पर्यटकलाई खासै वास्ता गरिएको पाइँदैनथ्यो । तर अहिले भने यो अवस्था फेरिएको छ । किन ?
होइन, विशेषगरी काठमाडौं बाहिर आन्तरिक पर्यटकमार्फत नै पर्यटन क्षेत्र चलयमान बनेकै हो । तर, काठमाडौंले भने आन्तरिक पर्यटकलाई तान्न नसकेको हो । काठमाडौंमा आन्तरिक पर्यटक आउन सक्ने अवस्था पनि छैन । धेरै घुम्न निस्कने भनेको धेरै जनसंख्या भएको यही काठमाडौंबाट हो । यद्यपि अहिले आन्तरिक पर्यटकको महत्त्व बढेको छ । किनभने कोरोना संक्रमणपछि आन्तरिक पर्यटकलाई ५० प्रतिशत छूटमा प्याकेज दिएर अफर गरिएको छ । उहाँहरूले पनि गुणस्तरीय सेवा लिन पाउनु भएको छ ।

मुलुकका आन्तरिक गन्तव्यहरू आन्तरिक पर्यटकबाट सुधारोन्मुख अवस्थामा छन् । तर, काठमाडौं अझै पनि आन्तरिक पर्यटकका लागि गन्तव्य बन्न नसकेको हो ?
काठमाडौंमा धेरैजसो मानिस बाहिरी जिल्लाकै छन् । काठमाडौंबाटै बाहिर जाने ट्रेण्ड स्थापित भइसकेको छ । बाहिरबाट भने काठमाडौं घुम्न आउने प्रचलन छैन । त्यसले गर्दा पनि आन्तरिक पर्यटक काठमाडौंमा कम हो । विदेश जाने र आउनेहरू भने घुमघाम गर्छन् । आन्तरिक पर्यटकलाई लक्षित गरी असनदेखि दरबारमार्गसम्म रात्रिकालीन यात्रा (नाइट वाक) कार्यक्रम हान र महानगरपालिका मिलेर बनाइँदै छ ।

मुलुकको हस्पिटालिटी क्षेत्र टिकाउन र संरक्षण गर्न व्यवसायीबीच कस्तो सहकार्य तथा रणनीतिमा छलफल भइरहेको छ ?
होटेलमात्रै नभएर सम्बन्धित नाट्टा, टान, सोट्टो जस्ता संघसंस्थाहरूसँग पनि सहकार्य गरेर पर्यटक कसरी नेपाल ल्याउने भन्ने विषयमा छलफल तथा गृहकार्य भइरहेको छ । अहिले संयुक्त रूपमा पर्यटन मन्त्रालय, पर्यटन विभागदेखि नेपाल पर्यटन बोर्डसम्म लबिङ गरेका छौं । अब मार्केटिङ, प्रवर्द्धन जस्ता कार्यक्रम गरिनेछ । यूरोप तथा टाढाका पर्यटक ल्याउने नसोचौं, अहिलेका लागि नजिकका देशलाई धार्मिक पर्यटकका लागि काम गरौं भन्ने हो । प्रचार प्रसारमा संयुक्त रूपमा जान सकिन्छ ।

होटेल उद्योगलाई औद्योगिक वर्गका साथै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा घोषणा गर्न तपाईंहरूको माग छ । यसो गर्दा कस्तो लाभ लिन सकिन्छ ?
यो माग पहिलादेखि नै गर्दै आएको हो । यद्यपि अहिलेको परिस्थितिमा त जरुरी नै देखियो । किनभने राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा राख्दा अन्य उद्योगले पाउने जस्तै सुविधा पाउन सकिन्छ । जस्तै– अहिले फ्याक्ट्रीहरूले पाउने सुविधा र होटेलले पाउने सुविधा फरक छ । उदाहरणका लागि, अहिले डिमाण्ड शुल्कको कुरा गरिएको छ । यदि उद्योगको मान्यता दिइएको भए यस्तो शुल्क कम, युनिटको दर पनि कम र यता बैंकको लोन पनि कम हुँदो रहेछ । सरकारले कृषि, ऊर्जा र पर्यटनलाई राखेको छ । तर यो तथ्यांक मिलेको छैन । पर्यटक आए, होटेलमा बस्छन् र होटेललाई प्रत्यक्ष आम्दानी भयो । तर बाहिर गएर पनि पर्यटकले विभिन्न खाले किनमेल गरेको हुन्छ । तर, यस्तोखाले खर्च प्रत्यक्ष नदेखिँदा उनीहरूले गर्ने खर्च नै कम देखिन्छ । एउटा पर्यटकले होटेलमा तिर्नेभन्दा १० गुणा बाहिर खर्चिन्छ । तर यो रेकर्ड नै भएन । त्यसकारण कुल गार्हथ्य उत्पादनमा पनि पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत रहेको सरकारी तथ्यांक छ । हाम्रो तथ्यांकले भने करिब ९ प्रतिशतसम्म रहेको देखाउँछ ।

घट्दो संक्रमण दर र खोप पनि लगाउने लहर चलेका बेला पुनः कोरोनाकोे नयाँ भेरिएन्ट देखिएको छ । यसले उठ्न खोजेको पर्यटन क्षेत्रमा अनिश्चितता थपेको हो ?
केही सतर्कता त अपनाउनैपर्छ । तर संक्रमण दर कम भएको नेपालमा पर्यटक आगमनका लागि कुनै पहल नगर्नु थप असफलता हुनेछ । कोभिडको संक्रमण न्यून छ । यो सन्देश गन्तव्य मुलुकमा पुर्‍याउनुपर्छ । जस्तै– नेपालको ट्रेकिङ क्षेत्रमा जनसंख्या कम हुने भएकाले घुमघामका लागि सुरक्षित छ र ढुक्क भएर नेपालमा आउन सकिन्छ भन्ने सन्देश दिनु जरुरी छ ।

विश्व बैंकले पनि २०२२/२०२३ मा नेपालको पर्यटन पूर्ण रिकभर हुन सक्ने प्रक्षेपण गरेको छ । त्यसअघि व्यवसायीको पनि यही आकलन थियो । यो अवस्थामा कर्मचारी र होटेल उद्योगलाई टिकाइराख्न दीर्घकालीन योजना के छन् ?
हामीले पहिलेदेखि त्यही भन्दै आएका छौं । कोरोना देखिँदादेखि नै २०२१ सम्ममा पनि पर्यटक आउने सम्भावना निकै कम छ भन्दै आएका थियौं । अहिलेको अवस्थालाई रिकभर गर्न पाँच वर्ष नै आवश्यक छ भनिएको छ । ५ वर्षभित्र नेपालमा आउने पर्यटकको आगमनले पुरानै लय समात्न सक्छ भन्ने अनुमान हो । अहिले यूरोपमा नभए पनि नजिकका एशियाली देशमा मार्केटिङ, भारतमा पर्यटन प्रवर्द्धनको काम गरिएको छ । यस्तैखाले प्रचारप्रसारका काम गर्ने हो । अहिले परिस्थिति उल्टो छ । पहिले विदेशबाट नेपाल आउने पर्यटकका लागि क्वारेन्टाइन राखिएकोमा अहिले भारतीयहरू क्वारेन्टाइनमा बस्न काठमाडौं आउने र १४ दिन बसेपछि खाडी मुलुक जाने गरेका छन् । यसले पनि भारतीय पर्यटकको संख्या बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्