ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुधवार शेयर बजारमा सामान्य करेक्सन, ७ अर्ब २६ करोडभन्दा बढीको शेयर खरीदविक्री

२०७७ चैत, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । बुधवार शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । मंगलवार नेप्से परिसूचक हालसम्मकै उच्च २ हजार ६७४ दशमलव ४६ विन्दुमा पुगेको थियो । बुधवार भने नेप्से परिसूचक २ हजार ६७१ दशमलव ६१ विन्दुमा झरेर बन्द भएको हो । 

मंगलवार १५ दशमलव ७२ अंक बढेर बन्द भएको बजार २ हजार ६९४ दशमलव ५४ विन्दुदेखि खुला भएको थियो । यो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलव ८५ अंक अर्थात शून्य दशमलव ११ प्रतिशत घटेर बन्द भएको छ । नेप्से परिसूचकमा सामान्य करेक्सन आएको यस दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ६२ अंक बढेर ४७६ दशमलव ८० विन्दुमा पुगेको छ । 

अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि कम भएको छ । मंगलवार रू. ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर कारोबार भएकोमा बुधवार रू. ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार बराबरको १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता शेयर कारोबार भएको छ । 

यस दिन सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर कारोबार भएको छ । यस बैंकको रू. २७ करोड ६३ लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन कम्पनीको शेयरमूल्य भने २ दशमलव ३१ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. १३ ले घटेर कम्पनीको अन्तिम मूल्य रू. ५९२ कायम भएको हो । यो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंककाको शेयरमूल्य न्यूनतम रू. ५९१ देखि अधिकतम रू. ६१२ सम्म पुगेको थियो ।

बुधवार होटल्स तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६ दशमलव शून्य २ प्रतिशतले बढेको हो भने व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९४ प्रतिशतले घटेको हो । यो दिन व्यापारिक समूहसँगै जलविद्युत् समूहको १ दशमलव २४ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४ प्रतिशत, अन्यको शून्य दशमलव ८९ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६२ प्रतिशत र लगानी समूहको १ दशमलव ६६ प्रतिशत परिसूचक घटेको छ । 

होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक बढ्दा लघुवित्तको २ दशमलव १६ प्रतिशत, विकास बैंकको १ दशमलव ५ प्रतिशत, बैंकिङको शून्य दशमलव २९ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३३ प्रतिशत परिसूचक बढेको छ । सामान्य करेक्सन भएको बुधवारको बजारमा पाँच ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

महिला लघुवित्तको सर्वाधिक ९ दशमलव ९९ प्रतिशत, चन्द्रागिरी हिल्सको ९ दशमलव ९८ प्रतिशत, एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, रिलायन्स फाइनान्सको ९ दशमलव ८४ प्रतिशत र यूनिभर्सल पावरको ९ दशमलव ७० प्रतिशत मूल्य वृद्धि भएको हो । 

यसदिन महिला लघुवित्तको प्रतिकित्ता रू. ८४ ले बढेर अन्तिम मूल्य रू. ९२५, चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. २३४ ले बढेर अन्तिम मूल्य रू. २ हजार ५७८, एनआईसी एशिया लघुवित्तको प्रतिकित्ता रू. ११६ ले बढेर अन्तिम मूल्य रू. १ हजार २७८, रिलायन्स फाइनान्सको प्रतिकित्ता रू. २५ ले बढेर अन्तिम मूल्य रू. २७९ र यूनिभर्सल पावरको प्रतिकित्ता रू. १६ ले बढेर अन्तिम मूल्य रू. १८१ कायम भएको छ । 

यसदिन रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयरमूल्य भने सर्वाधिक ७ दशमलव २६ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३० ले घटेर कम्पनीको अन्तिम शेयरमूल्य रू. ३८३ कायम भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्