चैत २५, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन प्रक्रिया हाललाई स्थगित गरेको जानकारी गराएको छ ।
बीमा समितिको चैत २३ गतेको पत्र अनुसार कम्पनीले प्रस्ताव गरेको पूँजी वृद्धि तथा हकप्रद शेयर निष्कासन सम्बन्धी विशेष प्रस्ताव स्थगन गर्न निर्देशन भइ आएकाले स्थगित गरेको हो ।
कम्पनीको चैत २५ गते बसेको आकस्मिक सञ्चालक समितिको बैठकले पूँजी वृद्धि तथा हकप्रद शेयर जारी गर्ने प्रस्ताव हाललाई स्थगित गरेको जानकारी गराएको छ । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको थियो ।
तर हकप्रद शेयर निष्कानसको सूचना अघि नै कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको थियो । हकप्रद शेयर सूचना सार्वजनिक हुनुअघि नै अस्वभाविक रुपले कम्पनीको शेयर मूल्य बढेपछि हकप्रद शेयर निष्कासनको प्रस्ताव विवादित बनेको हो ।
कम्पनीको शेयरमूल्य अस्वभाविक रुपमा बढ्नुमा हकप्रद शेयरको सूचना चुहावट भएर भित्रि कारोबार भएको आंशंका गरेर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डमा अध्ययन गर्न आग्रह गरेका थिए ।