ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वालेटहरूबीच अन्तरआबद्धता

२०७७ चैत, २६  
सम्पादकीय
Image Not Found

नेपालमा डिजिटल भुक्तानीका लागि २८ ओटा भुक्तानी सेवाप्रदायक संस्था नेपाल राष्ट्र बैंकमा दर्ता भई सञ्चालनमा रहेका छन् । यिनीहरूका डिजिटल वालेट बीच अन्तरआबद्धता नहुँदा व्यालेन्स सार्न नसकिने अवस्था छ, जसलाई राष्ट्रिय भुक्तानी द्वार (नेशनल पेमेन्ट स्वीच) ले समाधान गर्ने भएको छ । यसले उपभोक्तालाई वालेट छनोटको अवसर दिई डिजिटल भुक्तानीलाई व्यापक बनाउन मद्दत पुर्‍याउने देखिन्छ ।

अमेरिकामा कुनै सेवामा एउटै कम्पनीको ठूलो अंश भए कम्पनी खण्डीकरण गर्नुपर्ने नियम छ । एकाधिकार रोक्न यस्तो व्यवस्था गरिएको हो । भुक्तानी सेवामा पनि यस्तो रोक्न अन्तरआबद्धता गरी सबै कम्पनीलाई प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाइदिनुपर्छ ।

प्रतिस्पर्धात्मक बजारमा विभिन्न वालेट सञ्चालनमा आउनु राम्रो हो । यिनीहरूबीच विभिन्न सुविधा दिन प्रतिस्पर्धा पनि भइरहेको छ, जसबाट उपभोक्ता लाभान्वित भइरहेका छन् । अहिले पनि केही सेवाप्रदायक मिलेर एकअर्काको वालेटबाट रकम स्थानान्तरण गर्न सक्ने व्यवस्था गरेका छन् । तर, यसमा सबै सेवाप्रदायक जोडिएका छैनन् । त्यसैले शुरूमा आएका सेवाप्रदायकको बजारमा पहुँच बढ्दै गएको छ । यसले गर्दा नयाँ सेवाप्रदायकहरूलाई काम गर्न कठिन भइरहेको छ । यो समस्या नेशनल स्वीचले अन्तरआबद्धता कायम गराएपछि हट्नेछ । यसका लागि प्राविधिक र नीतिगत तयारी भइसकेको छ । यो सुविधा प्राप्त भएपछि एउटा वालेटको सेवा चित्त नबुझे अर्को वालेटको सेवा लिन सहज बनाउँछ । साथै, पुरानो वालेटमा रहेको ब्यालेन्स नयाँ वालेटमा सार्न पनि सकिन्छ । यसका लागि नै पेमेन्ट स्वीचको आवश्यता परेको छ । यसरी स्वीचले सबै सेवाप्रदायकलाई एउटै प्लेटफर्ममा ल्याउँदा प्रतिस्पर्धा बढ्छ ।

केही ठूलो भुक्तानी सेवाप्रदायकले पेमेन्ट स्वीचले अन्तरआबद्धता कायम गर्न आवश्यक नभएको प्रतिक्रिया पनि दिएका छन् । यसो भयो भने केही ठूला सेवाप्रदायकको बजारमा एकाधिकार हुन सक्छ । अहिले नै बढी चलनचल्तीमा रहेका वालेटहरूको सेवा चित्तबुझ्दो नभएको ग्राहकको गुनासो छ । पैसा समयमा स्थानान्तरण नहुने तर सम्बद्ध ग्राहकको खाताबाट कट्टी हुने समस्या छ । रियल टाइममा कारोबार हुने भए पनि त्यसको रिपोर्ट तत्काल नदिँदा कतिपय अवस्थामा कुरेर बस्नुपरेको गुनासो ग्राहकको रहेको छ । यस्तोमा स्वीचले सेवाप्रदायकहरूलाई एउटै प्लेटफर्ममा ल्याई अन्तरआबद्धता गराउँदा चित्तबुझ्दो सेवा नदिने वालेट छाडेर अर्को वालेटमा जान उपभोक्तालाई सहज हुन्छ ।

डिजिटल भुक्तानी सेवामा एउटै कम्पनीको अंश ठूलो भयो वा उसको एकाधिकारसरह भयो भने उपभोक्ताले राम्रो सुविधा पाउँदैनन् । प्रतिस्पर्धा कम हुन जान्छ । त्यही भएर अमेरिकामा कुनै सेवामा एउटै कम्पनीको ठूलो अंश भए कम्पनी खण्डीकरण गर्नुपर्ने नियम छ । एकाधिकार रोक्न यस्तो व्यवस्था गरिएको हो । भुक्तानी सेवामा पनि यस्तो रोक्न अन्तरआबद्धता गरी सबै कम्पनीहरूलाई प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाइदिनुपर्छ । प्रतिस्पर्धा भएमा उपभोक्तालाई नै फाइदा हुन्छ । प्रतिस्पर्धाका कारण ग्राहकलाई खुशी बनाउन वालेट सेवाप्रदायकहरूबीच सुविधा दिन प्रतिस्पर्धा हुनु राम्रो हो । त्यस्तै उपभोक्तामैत्री एप बनाउन पनि प्रतिस्पर्धा हुन्छ ।

नेपालमा कोरोनाले गर्दा अनलाइन कारोबार बढाएको छ । यद्यपि अनलाइन कारोबारको सही तथ्यांक कतै पनि पाइँदैन । सन् २०१८ को एक अनौपचारिक अध्ययनमा साढे २ करोड अमेरिकी डलरको कारोबार भएको तथ्यांक सार्वजनिक भएको थियो । अहिले यो निकै गुणा बढेको छ । आगामी दिनमा मोबाइलबाट हुने अनलाइन कारोबार निकै बढ्ने अपेक्षा गरिएको छ । गत माघसम्ममा मोबाइलको पहुँच १२८ प्रतिशत रहेको छ । इन्टरनेटको पहुँच ८४ प्रतिशत पुगेकोमा मोबाइल इन्टरनेटको अंश झन्डै ६२ प्रतिशत रहेको छ । हाम्रो जस्तो युवा जनशक्ति बढी भएको देशमा प्रविधि छिटो फैलन्छ । ईकमर्श पनि छिटो बढ्छ । यस्तो कारोबारको भुक्तानी डिजिटल वालेटबाट हुन्छ । त्यसैले डिजिटल वालेटहरूबीच स्वस्थ प्रतिस्पर्धाका लागि अन्तरआबद्धता निकै सहयोगी हुने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्