ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वायु प्रदूषणको असर

२०७७ चैत, २६  
लेख | दृष्टिकोण
Image Not Found

चैत १३ गते बिहानसम्म सफा रहेको काठमाडौंको वायुमण्डल शुक्रवार अपराह्नपछि एकाएक धुमलिन पुग्यो । भिजिबिलिटी घटेपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अपराह्नपछि हवाई सेवासमेत रोकिएको थियो । घरबाहिर निस्केका सर्वसाधारणले आँखा पोलेको महसूस गरे । विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक ३०० भन्दा बढी भएका घातक भनेको छ । उपत्यकामा शुक्रवार सूचकांक ४७० सम्म रेकर्ड हुन पुग्यो । २०७७ चैत १२ गते बिहीवार एकै दिन ४७ जिल्लामा ४ सय ७९ ठाँउमा डढेलो लाग्यो भने डढेलो लाग्ने क्रम अभैm बढ्दै गएर ७ सयभन्दा बढी पुगेको छ । नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्वीर विश्लेषण गर्ने हो भने यति डढेलो विगतमा कहिलै लागेको थिएन । मध्य फागुनदेखि वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । तर, यो वर्ष हिमाली क्षेत्रमा कात्तिकदेखि नै डढेलो लाग्न शुरू भएको थियो ।

गत साता हल्का वर्षापछि कम भएको वायु प्रदूषण र तुँवालो राजधानीसहित देशभर चैत २४ बाट फेरि विकराल बन्दै गएको छ । त्यस दिन काठमाडौंको रत्नपार्कमा साँझ ६ बजेको वायुको गुणस्तर सूचकांक प्रतिघण्टा १९४, ललितपुर भैंसेपाटीको १८९, सबैभन्दा बढी हेटौंडामा ४४४ थियो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सूचकांक ३५ सम्म स्वस्थ हुन्छ भने २०१ भन्दा माथिलाई धेरै अस्वस्थकर र ३०१ भन्दा माथिलाई घातक मानिन्छ । संसारको प्रदूषित ९४ शहरमध्ये काठमाडौं चैत २४ गतेबाट पहिलो नम्बरमा छ । डढेलोसमेतको कारण यो वर्ष वायुको गुणस्तर सूचकांक करीब ५०० पुगेको छ । विगतमा यो २०० भन्दा कम हुन्थ्यो ।

डढेलोसमेतका कारण काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा प्रदूषण बढेको छ । लामो समयसम्म वर्षा हुन नसकेको र चैत महीनासम्ममा ७ सयभन्दा बढी ठाउँमा डढेलो लागेकाले हावामा धूलो तथा धूँवा बढेको छ । वायुमण्डल स्थिर रहेका कारण धूलो र धूँवा छरिन नपाएकाले वायुमण्डलको तल्लो भागमै बाक्लो तुँवालो जस्तो देखिएको छ । तत्काल वर्षा हुने सम्भावना नरहेकाले यो अवस्था अझ केही दिन रहने सम्भावना छ । यसले मानव स्वास्थ्यमा गम्भीर असर परेको छ । त्यो असरको प्रभावले छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न संक्रमण हुने जोखिम बढेको छ । प्रदूषणको कारणबाट ज्येष्ठ नागरिक, बालबच्चा, दीर्घरोगी र मुटुका रोगीजस्ता मानिस बढी प्रभावित भएका छन् । स्वस्थ व्यक्तिमा पनि त्यस कारण हाच्छ्यिूँ हाउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, आँखा पोल्ने, छातीमा संक्रमण हुने गरेको छ ।

भौगोलिक बनावटका कारण काठमाडौंको वायु प्रदूषण त्यसै पनि उच्च छ । बाक्लो बस्ती, फोहोरमैला, उद्योगधन्दा र विकास निर्माणका कामले प्रदूषण बढाउने गरेको छ । लामो समयसम्म चैत तेस्रो हप्ताको हल्का वर्षाबाहेक पानी परको छैन । उच्च डढेलोको धूँवाका कारण प्रदूषणमा वृद्धि भएको छ । १ दशककै सबैभन्दा बढी डढेलो लागेको र डढेलो नियन्त्रण हुन नसकेको कारणबाट मानव स्वास्थ्यमा प्रतिकूल असर परेको छ । यसको प्रभाव वन्यजन्तु, प्राकृतिक स्रोत, मानव स्वास्थ्यमा परी खर्बौं आर्थिक क्षति भई देशको अर्थतन्त्र नै धरापमा परेको छ ।

स्टेट अफ ग्लोबल एयर २०२० का अनुसार नेपालमा वायु प्रदूषणले निम्त्याउने रोगका कारण वर्षेनि ४२१०० जनाको मृत्यु हुने गरको छ । वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग, दम, निमोनिया, मस्तिष्कघात, कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । यसको रोकथामका लागि वायु प्रदूषण हुन नदिने, सम्भव भएसम्म घरमै बस्ने, श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या, आँखा पोल्नेलगायत समस्या भए स्वास्थकर्मीसँग सम्पर्क गर्ने तथा स्वास्थकर्मीको सल्लाहअनुसार प्रशस्त पानी पिउने, बोटबिरुवा लगाई हावालाई सफा गर्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने, बढी भीडभाड भएको ठाँउमा नजाने, कम प्रदूषित क्षेत्रमा व्यायाम गर्ने, उचित किसिमले फोहोर व्यवस्थापन गर्ने आदि गर्नुपर्छ । तुँवालाको स्तर व्यापक रहेसम्म आम व्यक्तिलाई समेत कठिन व्यायामबाट जोगिनुपर्छ । बढ्दो प्रदूषणको अवस्थामा मर्निङ, इभिनिङ वाक वा घर बाहिर गरिने व्यायामले स्वास्थ्यमा असर गर्ने हुन सक्छ । यसबाट जोगिनुपर्छ । वायु प्रदूषणले छालामा समेत असर पार्ने, समयभन्दा अगावै बुढ््यौली आउने, चाउरिनु, छालामा दाग लाग्नुलगायत थुपै छालासम्बन्धी समस्या देखिन्छ । तत्काल एलर्जी, छाला रातो हुने, बिमिरा आउने, चिलाउने, घाउ हुने, जलन र संक्रमण हुन सक्छ । एक्जिमाको समस्या हुनेलाई वायु प्रदूषण÷तुँवालोले झन् असर गर्न सक्छ ।

चिकित्सकका अनुसार प्रदूषण बढेको समयमा वातावरणको सम्पर्कमा आउने शरीरको भागलाई सफा पानी वा फेस वासले राम्ररी धुने र मोइस्चराइज वा नरिबलको तेल लगाउनुपर्छ । त्यस्तै समयसमयमा छालालाई मधुरो स्क्रब गर्नाले बाहिरी सतहमा भएको मृत छाला, जम्मा भएको प्रदूषक, रसायनको तह आदि हटाउन सकिन्छ । स्वास्थकर्मीका अनुसार तुँवालोले आँखा रातो हुने, आँसु आउने, चिलाउने, चिप्रा आउने हुनसक्छ । एलर्जी भएर आँखा जोडले चिलाएमा आँखाको सतहमा चोटपटक भई संक्रमणको खतरा हुनसक्छ । यस्तो प्रदूषणबाट आँखालाई जोगाउन बेलाबेलामा सफा पानीले धुनु पर्छ ।

डढेलो नियन्त्रण र व्यवस्थापनका लागि सम्बद्ध निकायसँग समन्वयको कमी छ । यो अवस्थाबाट बच्न तत्कालीन र दीर्घकालीन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार, राजनीतिक निहित स्वार्थमा मात्र नलागी आवश्यक समन्वय गर्दै डढेलो जस्तो विपद्लाई अविलम्ब नियन्त्रण गरी प्राकृतिक सम्पदाको खर्बौं रुपैयाँको धनराशी क्षति हुनबाट बचाई मानव स्वास्थ्यको रक्षा गर्न ढिला गर्नु हुँदैन ।

लेखक गुणस्तरीय जीवनमा विद्यावारिधि हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्