काठमाडौं (अस) । प्राइम कमर्सियल बैंकले कपाल काट्ने पुर्ख्यौली पेसा रहेका अपनाउँदै आएका नाईहरूको जीवन स्तरमा सुधार ल्याउने उद्देश्यले छाता संगठन नेपाल नाई ट्रेड युनियनसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
समझदारीमा युनियनका केन्द्रीय समितिका अध्यक्ष गजेन्द्र ठाकुर र बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गरेका थिए ।
हातमा सीप भएका व्यक्तिलाई स्वावलम्बी बनाई उनीहरूको पेसालाई व्यावसायिकीकरण गर्ने उद्देश्यले उक्त छाता संगठनका सम्पूर्ण बैंकिङ सेवा– सुविधा एकै ढोकाबाट उपलव्ध गराउने लक्ष्य रहेको बैंकले बताएको छ ।
बैंकले युनियनका सदस्यहरूलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै दुर्घटना एवं अस्पताल भर्ना बीमालगायत सुविधा पनि प्रदान गर्नेछ । समझदारीअनुसार बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाई तथा युनियनका कर्मचारीको प्राइम बैंकमा संस्थागत, व्यावसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने खोलिदिनेछ ।
व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यलाई बैंकले पहिलो वर्ष निःशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, परिवारका २ जनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउनेछ । सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले २ वर्षभित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि ५ लाख बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको अस्पताल भर्ना बीमा उपलब्ध गराउनेछ ।
डिजिटल बैंकिङतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्यूआर कोडको सुविधा उपलब्ध गराउनेछ । बैंकले कर्जा सेवातर्फ एक धितोमा प्रतिऋणी ५० हजारदेखि २ लाख रुपैयाँसम्म सरल प्रक्रियाबाट सामूहिक लगानी गर्नेछ ।