काठमाडौं (अस) । मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । एसोसिएसनले पुँजी बजारबारे सही समाचार सर्वसाधारणमा पुर्याउन सकिने हुँदा आर्थिक पत्रकारको क्षमता विकासका लागि तालिम आयोजना गरेको हो ।
तालिममा पुँजी बजारबारे कलम चलाउँदै आएका ३० जनाभन्दा बढी पत्रकार सहभागी थिए । नेपाल धितोपत्र बोर्डका नायव कार्यकारी निर्देशक रूपेश केसी र एसोसिएसनका महासचिव पारसमणि ढकालले बुक बिल्डिङबारे प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष मेखबहादुर थापाले यस्ता तालिम देशव्यापी आयोजना गर्न नाफिजसँग सहकार्य गरिने बताए ।
सहभागी वक्ताहरूले पुँजी बजारमा गलत सूचना प्रवाहले लाखौं लगानीकर्ताको लगानी जोखिममा पर्न सक्ने बताए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोत प्रयोग गर्नुपर्नेमा जोड दिए । गलत सूचनाका कारण लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय सूचना प्रवाहमा सजग हुनुपर्ने धारणा उनले व्यक्त गरे ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाए । सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले प्राविधिक कारणले सिस्टममा समस्या देखिँदा संस्थालाई जोडेर सूचना प्रवाह हुँदा लगानीकर्ता रुष्ट हुने देखिएको बताए ।
मेरो सेयरको समस्या समाधानका लागि गत साता २ वटा सफ्टवेयर जडान गरिए पनि पुँजी बजारमा धेरै संस्था आबद्ध भएकाले एउटामा समस्या आउँदा अर्को प्रभावित हुने गरेको उनले जानकारी दिए ।
नाफिजका अध्यक्ष मोदनाथ ढकालले तालिमपछि आर्थिक पत्रकारलाई सूचना संकलनमा सहज हुने विश्वास व्यक्त गरे ।
पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दो छ । गत आवको अन्त्यमा मेरो सेयर प्रयोगकर्ता ६ लाख रहेकामा २३ लाख पुगेको छ । त्यस्तै, डिम्याट खाता १७ लाख बाट ३३ लाख पुगेको छ ।
तालिम नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा सञ्चालन गरिएको हो ।