ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

काभ्रेका तीन ठाउँमा आरोग्य केन्द्र स्थापना

२०७७ चैत, २६  
वाग्मती प्रदेश
Image Not Found

काभ्रेपलाञ्चोक । ‘निरोगी नेपाल’ निर्माणको नीतिअन्तर्गत काभ्रेका दुई नगरपालिका र एक गाउँपालिकाका तीन स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । पनौती र मण्डनदेउपुर नगरपालिकाका  साथै भुम्लु गाउँपालिकामा उक्त केन्द्र स्थापना गरिएको हो ।     

प्रकृतिमैत्री स्वच्छ जीवन प्रणाली प्रवद्र्धन गरी नेपालीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले सरकारले चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहका सबै स्वास्थ्य संस्थामा नागरिक आरोग्य केन्द्र स्थापना गर्ने उल्लेख छ ।     

नमूना कार्यक्रमका रूपमा पहिलो चरणमा मुलुकका २१८ स्थानीय तहमा सेवा केन्द्र स्थापना गर्ने निर्णयमा जिल्लाका तीन स्थानीय तह परेका थिए । साधारण बिरामीको उपचार, योग तथा व्यायामको अभ्यास, जडीबुटीको प्रयोगबारे स्थानीयस्तरमा जनचेतना फैलाउने लगायत काम केन्द्रले गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. मनोजकुमार चौधरीले बताए । उनका अनुसार केन्द्रबाट २२ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिनेछ ।    

भुम्लुमा केही दिनअघि मात्र स्थापित केन्द्रमा स्थानीयको आकर्षण बढेको पाइएको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताए । ‘अब अपुग औषधिको व्यवस्थापन गरी केन्द्रको सेवाबारे प्रचारप्रसारमा जुट्नेछौं,’ उनले भने । केन्द्रद्वारा सुत्केरी महिलाका लागि शक्तिवद्र्धक कुरिलोको पाउडर र बालबालिकाका लागि बालामृत समेत प्रदान गरिने बताइएको छ ।

सेवा केन्द्र स्थापनाका लागि स्थानीय तहले नै पूर्वाधारको व्यवस्था गर्नुपर्ने निर्देशिकामा छ । सरकारको सेवा केन्द्रसम्बन्धी निर्देशिका–२०७७ मा स्थानीय नागरिकलाई परम्परागत ज्ञान, शीप र मौलिक सम्पदाको संरक्षण गर्दै योग, ध्यान, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिबाट सर्ने तथा नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि नागरिक आरोग्य सेवा केन्द्रले प्रमुख भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्