ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शीतभण्डारले बजारीकरणमा सहज

२०७७ चैत, २६  
गण्डकी प्रदेश
Image Not Found

बागलुङ । गतवर्ष आलु राम्रो उत्पादन गरेका बागलुङ बरेङका किसानले बजार पाएनन् । भण्डारण गरिएको आलु आधा कुहियो, आधा उम्रियो र खान नमिल्ने भयोे । सिजनमा बजार मूल्य निकै कम हुने र ‘अफ सिजन’मा विक्री गर्न आलु जोगाउनै किसानलाई कठीन छ ।  

व्यावसायिक रूपमा आलुखेती गरेर पनि राम्रो आम्दानी लिन नसकेका बरेङ गाउँपालिका–५ सुखौराका किसानले अब भने सुखको श्वास फेर्नेछन् । सुखौरामा कृषि उपज भण्डारणका लागि शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् ।

सुखौरा गाउँपालिकाले आलुको पकेट क्षेत्रका रुपमा विकास गरेको क्षेत्र हो । यहाँ फलेको आलु स्वादिलो भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । शीतभण्डार निर्माण भएसँगै यहाँका किसानले उत्पादन गरेको आलु बाह्रै महीना विक्रीका लागि तयार रहने गाउँपालिकाले बताएको छ ।  
   
गाउँपालिकाको पहल र गण्डकी प्रदेश सरकारको १५ लाख लागतमा शीतभण्डार निर्माण गरिएको । ‘अब हामी बेमौसममा मूल्य पारेर आलु बेच्न सक्छौं,’ स्थानीय किसान मोहन थापाले भने । आफूहरूले उब्जाउ गरेको कृषि उपज सुरक्षित राख्न सकिने भन्दै थापाले खुशी व्यक्त गरे । उत्पादित आलु अफ सिजनमा बेचेर दुई गुणा बढी फाइदा लिन सकिने उनले बताए ।

सुखौरा भित्रिवन आलु पकेट क्षेत्रमा शीतभण्डार निर्माण भएको हो । स्थानीय २२४ घरपरिवारले फलाएको आलु शीतभण्डारमा राख्न सकिनेछ । सुखौरामा हरेक परिवारले ६ देखि २२ मुरीसम्म आलु उत्पादन गर्ने गरेको तथ्यांक गाउँपालिकाको छ । यस क्षेत्रबाट सिजनमा २० लाख रुपैयाँसम्मको आलु विक्री हुने गरेको छ । शीतभण्डार प्रयोगमा आएपछि यो दोब्बर हुने किसान बताउँछन् ।

आलु पकेट क्षेत्र घोषणा गरिएसँगै किसानले गहुँ र जौ लगाउने जग्गामा समेत आलु नै लगाउन थालेका छन् । सरकारले उत्पादनका लागि अनुदान दिन थालेसँगै किसान आलुखेतीमा आकर्षित भएका छन् । यस क्षेत्रमा उत्पादित आलु गुल्मीको शान्तिपुर, रूपन्देहीको बुटवल, जिल्लाका साना बजार र गाउँमा समेत विक्री हुने गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्