ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रतिकूल मौसमका कारण चार दिनदेखि आन्तरिक उडान प्रभावित

२०७७ चैत, २६  
समाचार
Image Not Found

चैत २६, काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तरराष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही संख्यामा प्रभावित भएको जानकारी दिए । विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै संख्यामा रद्द भएको छ । यान्त्रिक पद्धति (आइएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ ।

अघिल्लो एक साता मौसम खराबीले उडान रद्द भएको अन्तरराष्ट्रिय विमानस्थलमा पुनः गत चैत २३ गते मंगलवारदेखि उडान प्रभावित भएको हो । काठमाडौं उपत्यकासहित देशभरको आकाशमा बाक्लो धुवाँसहितको तुवाँलो लागेकाले भिजीबिलिटी कम हुँदा खासगरी आन्तरिक उडान प्रभावित बनेको छ ।

अन्तरराष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार आन्तरिक उडानमा बुधवार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ ओटा मात्रै उडान भए । १२ ओटा उडान रद्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो । यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी नौ हजार ८२४ यात्रुले हवाईयात्रा गरेका छन् । बुद्ध एयरको सात, यती एयरलाइन्सको चार र सीता एयरको एक उडान रद्द भएको छ ।

यस्तै गत मंगलवार आन्तरिकतर्फ ११८ उडान निर्धारण गरिएकोमा जम्मा ८८ उडान भए । २८ ओटा उडान रद्द भएका छन् । बुद्ध एयरको १५, यती एयरलाइन्सको ६, समिट एयरको तीन, सौर्य एयरलाइन्सको दुई तथा तारा एयरको समान एक–एक उडान भएका छन् । सबै उडानमार्फत आठ हजार ६८७ यात्रु आवतजावत गरेका छन् ।

अघिल्लो सोमवार सर्वाधिक ३० ओटा उडान रद्द भएका छन् । उक्त दिन जम्मा १२२ उडान निर्धारण गरिएकोमा ९१ ओटा मात्रै उडान भएको छ । बुद्धएयरको १७, यती एयरलाइन्सको नौ, ताराएयरको दुई तथा श्री एयरलाइन्स र सीताएयरको समान एक–एक उडान रद्द भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

तीनदिन मौसम खराबी रहेपनि तुलनात्मकरूपमा बिहीवार काठमाडौंको आकाश केही मात्रामा खुलेको छ । बाक्लो तुवाँलो नभएपछि भिजीबिलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको विमानस्थलका महाप्रबन्धक तिवारीले बताए । उनका अनुसार बिहीवार पोखरा विमानस्थलबाहेकका गन्तव्यमा उडान नियमित भइरहेको छ । पोखरामा विगत तीन दिनदेखि उडान हुन नसक्दा यात्रु मर्कामा परेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्