ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पशुपालनमा महाशिलाको अनुदान

२०७७ चैत, २७  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले पशुपालन गर्न इच्छुक कृषकलाई अनुदान दिन थालेको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेको हो ।

गाउँपालिकाले दूधमा प्रतिलिटर रू. १० र खसीबोका उत्पादनमा प्रतिकिलो रू. २५ अनुदानको व्यवस्था गरेको छ । गाउँका कुनै पनि कृषकले उत्पादन गरेर निर्यात गर्ने दूध, मासुमा गत वर्षदेखि अनुदानमूलक कार्यक्रम शुरू गरिएको हो । निर्धारित मूल्यमा गाउँपालिकाले प्रोत्साहनस्वरूप अनुदान रकम थप गरेपछि पशुपालनमा कृषकको आकर्षण समेत बढ्दै गएको छ ।

गाउँपालिकाले अहिले स्थानीय महाशिला सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत अनुदान वितरण कार्यलाई तीव्रता दिएको छ । महाशिलाका ६ ओटै वडाका करीब ६४० व्यावसायिक महिला सदस्य रहेको उक्त सहकारी संस्थाका सदस्यले उत्पादन गरेको दूध र खसी–बोकामा अनुदान रकम उपलब्ध गराइँदै आएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

सहकारीले मासिक ४० देखि ५० वटासम्म खसीबोका विक्री गर्ने गरेको छ । सदस्यहरूले उत्पादन गरेको खसीबोका सहकारीमार्फत बजारमा विक्रीको प्रबन्ध मिलाइएको छ ।

सहकारीले  जिउँदो खसीबोका प्रतिकेजी ४५० मा विक्री गर्ने गरेको छ । यस वर्ष करीब ६ हजार ६०० केजी जिउँदो खसीबोका विक्री भएको सहकारीले बताएको । यस्तै दैनिक १ हजार लिटर दूध विक्री गरेको सहकारीले दूध उत्पादन बढाउने गरी योजना बनाएको सहकारीका अध्यक्ष कमला कुस्मेलीले बताइन् ।

स्थानीय उत्पादन संकलन गरेर एकद्वार प्रणालीमा बजारीकरण गरिरहेको सहकारीमा अहिले पाँचओटै वडाका १७ ओटा महिला समूह आबद्ध भएका छन् । वार्षिक झण्डै २ करोड रुपैयाँ बराबरको कारोबार गर्ने यो गाउँपालिकाको मुख्य सहकारी भएको र धेरै सदस्य आबद्ध भएकाले गाउँपालिकाले सोही सहकारीमार्फत अनुदान वितरणको प्रक्रिया अघि बढाएको हो । यसबाहेक गाउँपालिकाले व्यावसायिक तरकारी र फलफूल खेती गर्नेहरूलाई समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्