ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नीति तथा कार्यक्रम आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने

२०७७ चैत, २७  
समाचार
NA

काठमाडौं (अस) । सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल व्यवस्थापन संघले बुधवार साँझ भर्चुअल माध्यमबाट आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले नीति तथा कार्यक्रमले कोरोना संक्रमणबाट नागरिकको जनवीवन र अर्थतन्त्रलाई पर्न सक्ने असर न्यूनीकरणलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

अन्तरक्रियामा संघका सभापति एवं राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नीति तथा कार्यक्रमले कोभिड महामारीले प्रभावित आर्थिक/व्यावसायिक क्षेत्रको पुनरुत्थानमा जोड दिनुपर्ने बताए । सो अवसरमा संघका प्रथम उपसभापति एवं नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य डा. विमला राई पौड्याल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू डा. शंकर शर्मा र डा. मीनबहादुर श्रेष्ठ, प्राडा. गोविन्द नेपाल र अर्थशास्त्री डा. विश्व पौडेल सहभागी थिए । वक्ताहरूले कोरोना महामारीबाट प्रभावित व्यक्ति, घरपरिवार, आधारभूत परियोजना र क्षेत्रलाई आवश्यक राहत प्याकेज उपलब्ध गराउने विषलाई कार्यक्रमले समेट्नुपर्ने औंल्याएका छन् ।

स्वास्थ्य क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने तथा यस क्षेत्रलाई दिगो र विश्वसनीय बनाउनुपर्ने, प्राविधिक शिक्षाको गुणस्तर र पहुँचमा अभिवृद्धि गर्ने, स्वैच्छिक आय घोषणा र स्रोतको प्रभावकारी उपयोगमा नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्ने विज्ञहरूको राय छ । सरकारी लगानीका बैंकहरूको एकीकरण तथा कृषि तथा पर्यटन क्षेत्रको प्रवद्र्धनलाई जोड दिर्न उनीहरूले सुझाएका छन् । वैदेशिक लगानी नीति प्रवद्र्धन, दक्ष जनशक्तिको विकास, गैरआवासीय दक्ष जनशक्ति तथा ज्ञान व्यवस्थापनमा प्रभावकारी कार्यक्रमको अपेक्षा गरिएको छ । भौतिक पूर्वाधारतर्फ सडक सञ्जालको विकास, पूँजीगत खर्चका लागि आवश्यक नीतिगत सुधार, सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा विज्ञहरूको एकमत छ । विद्युत् खपतलाई प्रोत्साहन गर्ने र सुशासन तथा यसको प्रभावकारी अनुगमनलाई नीति तथा कार्यक्रमले समेट्नुपर्ने विज्ञहरूले बताएका छन् । कृषि क्षेत्रको प्रवद्र्धनका लागि वित्तीय व्यवस्थापनको खाँचो पनि उनीले औंल्याएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्