ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बलियो सरकारसँग जनताको अपेक्षा

२०७७ चैत, २७  
पाठक विचार
NA

यो हाम्रो त्यही मुलुक हो जहाँ सीता, भृकुटी तथा गौतम बुद्ध आदिले जन्म लिए, जसले गर्दा नेपाली नागरिकलाई गौरवको अनुभव हुन्छ । अब समयको लीला हेर्नुहोस् यही ठाउँमा भ्रष्टाचार गर्ने, अरूको पैसा पचाउने र कुम्ल्याउने, ठगी गर्ने, ज्यान लिने आनन्दका लागि बलात्कार गर्ने आदिजस्ता अघोरी र नालायकहरू पनि हाम्रा मुलुकमा नै छन् । कसैले सोचेका थिएन होला यस्तो सोझो समाज भएको मुलुकमा पनि यस्ता खराबहरूले पनि यहाँ जन्म लिन्छन् भनेर । हुन त यस्ता कुप्राणीहरू नभए पनि देश र संसारको नाटक चल्दैन, तापनि यस्तो अवस्थामा सरकार, कानून, प्रशासन र समाज आदिले बेवास्ता गरेसरह चलिराखेको छ । यसको कारण हो कच्चा शिक्षा र अल्लारे समाज । लोकतन्त्रपश्चात् हाम्रो जस्तो मुलुकमा अहिले आएर विकास नै भएन भनेर भन्न पनि मिल्दैन विकास भएको छ । तर, पनि समाजले सरक्षाको अनुभूति गर्न सकेन । यसको कारण हो सधैं राजनीतिक कलह र कानून कार्यान्वनयमा फितलो पनि । यसतर्फ ध्यान दिन सरकारी निकायहरूमा फुर्सद नहुनु र इच्छाशक्ति नहुनु पनि कारण हो । प्रायः सरकारी निकायहरूमा लेनदेनको कारोबार अनुशासनहीन तरीकाले हुन्छ । बजेट अनुसार सरकारी निकायले काम गर्न सकेको पाइँदैन । तर, सरकार र दलहरू भागबन्डा, स्वार्थ र बाध्यताले गर्दा मौन छन् यहाँ । यो मुलुकमा जुनसुकै सरकार आए पनि के सरोकार भयो र यदि जनताको चाहना र अपेक्षाअनुसार प्रशासन चल्दैन, विकासका काम अघि बढ्दैन भने । जनताको चाहना छ, देशमा उपभोग्य सामग्री महँगो नहोस् । देशमा शान्ति र सुरक्षा भइरहोस्, नागरिकलाई अरू केही चाहिँदैन, यति भए पुग्छ । त्यसकारण सरकारहरूको पहिलो कर्तव्य नै नरम कानूनलाई दह्रो बनाउनु हो । तर, सरकारहरूले देशमा लोकतन्त्र ल्याए पनि कानूनलाई दह«ो बनाउन र त्यसको कार्यान्वयन प्रभावकारी बनाउन सकिराखेका छैनन् । देशमा नागरिकहरू खुशी नहुनुको कारण पनि यही नै हो ।

मानिसको जीवनमा कुन बेला के घटना हुन्छ यही चिन्ताले उनीहरू पिरोलिइरहेका हुन्छन् । त्यसकारण ठूलो होस् चाहे सानो होस्, कसैले अपराध गर्छ भने कानूनको नामले तर्सने हुनुपर्छ । कार्यान्वयन हुने खालको कानून तर्जुमा गर्नुपर्छ । लोकतन्त्र भनेको कानूनी राज्य हो । कानूनभन्दा कोही पनि तलमाथि हुनु हुँदैन । तर, ‘नेपालको कानून दैवले जानून्’ भनेजस्तै सानालाई कानून लाग्छ, तर ठूलाहरू सबै उम्किरहेका छन् । प्रहरी, अदालत, राजनीतिक नेता र व्यापारीहरूको मिलोमतोमा कानूनलाई आफूअनुकूल बनाउने काम भएको छ । त्यसैले कानूनको उल्लंघन गर्ने काम दिनप्रतिदिन बढिरहेको छ । कानूनी राज्य भनिए पनि कानूनले भेदभाव गर्दैन भनिए पनि व्यवहारमा त्यस्तो पाइँदैन । मेरा मान्छे भन्ने भावले काम गर्ने गरेको छ । आफ्नो मान्छे भए प्रहरी आफैले बचाउने काम गरेको समेत पाइन्छ ।

त्यसैले कानूनलाई आदर गर्ने वातावरण बन्नुपर्छ । कानून बनाउँदा पनि त्यसको कार्यान्वयन हुन सक्छ कि सक्दैन भन्ने हेरिनुपर्छ । राम्रो कानून बनाउन प्रतिपक्षले पनि साथ दिनुपर्छ । कलह, रिस, डाह आदि छोडी सत्ता पक्षसँग उनीहरूले समन्वय गरी अघि बढ्नु आवश्यक छ । यति मात्र होइन, नेताहरूको संख्या कम हुनु र विलासिता कम हुनुका लागि पनि सबै पक्ष लाग्नु आजको आवश्यकता हो । देश अगाडि नबढ्नुमा तथा अपराध बढ्नुमा विलासिता एउटा कारण बनेको छ । हुनेखाने तथा राजनीतिक नेताहरूले विलासी जीवन बिताउँदा त्यसको सिको अरूले पनि गर्छन् । नहुनेहरूले अपराध गरेर पनि विलासी जीवन जिउन खोज्छन् जसले गर्दा समाजमा अपराध बढिरहेको छ ।

राजनीतिक दलले सधैं एकअर्कालाई दोषारोपण गरेर मात्र हुँदैन । राम्रो काम गरेकोमा प्रशंसा पनि गर्नुपर्छ र साथ पनि दिनुपर्छ । जब देशमा नयाँ सरकार बन्छ तब प्रधानमन्त्री सर्वेसर्वा हुन्छन् । यस्तो अवस्थामा एउटा राम्रो प्रधानमन्त्रीको काम हो पूर्वाधार विकास तथा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग व्यवसाय आदिका लागि राम्रा राम्रा कुरालाई अपनाएर नयाँ भिजनका अगाडि बढ्नु । प्रायः हाम्रा सरकारहरूमा यही भिजन नहुँदा असफल हुने गरेका छन् अहिलेको सरकारले कुराले ठूलो गरे पनि काम भने गर्न सकेको छैन ।

यहाँ काम थोरै कुरा धेरै हुन्छ । अहिले आएर मुलुकमा सोच्दै नसोचेका अपराधका घटनाहरू घट्ने गरेको प्रत्येक नागरिकले अनुभव गरेका छन् । तर, यसमा राज्य समाज तथा यहाँका कानून सबै उत्तिकै भागीदार छन् । यदि सबै पक्ष आफ्नो ठाउँमा सही हुने हो भने विस्तारै हाम्रो जस्तो सानो मुलुकमा भ्रष्टाचार र बलात्कारजस्ता घटना कम गर्न त्यति गाह्रो छैन । अब आएर पनि यदि यस्ता खराब संस्कार परिवर्तन नहुने हो भने हामीले अझै दुःखका दिन भोग्नुपर्ने हुन्छ ।

जेहोस्, हाम्रो देशमा राम्रा मानिस, बुद्धिजीवी, पढेलेखेका मानिसहरू पनि धेरै छन् । यिनीहरूलाई हामी यतिसम्म भन्न सक्छौं कि जीवनमा बाँचुन्जेल नयाँनयाँ कुनै विशेष काम गर्नुहोस् । आफ्नो क्षेत्रमा केही विशेष योगदान दिनुहोस् । यसो भएमा विस्तारै मुलुकको हरेक समस्याको समाधान हुँदै जानेछ ।

अन्त्यमा, एउटा महत्त्वपूर्ण कुरा के छ भने प्रधानमन्त्रीले जसरी पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेका छन् । यो निकै राम्रो काम हो । अब यसैगरी कृषि उत्पादनमा पनि देशलाई आत्मनिर्भर बनाउन आवश्यक छ । खाद्यान्न आयातमा नै धेरै पैसा जाने हुँदा कृषिमा आत्मनिर्भर हुन सके देश आर्थिक रूपले निकै बलियो हुनेछ । उद्योग, फोहोरमैला, वधशाला, राजमार्ग, मनोरञ्जन क्षेत्र आदिमा पनि सरकारले राम्रो नीति ल्याए विकास हुन खासै समस्या देखिँदैन । देश आत्मनिर्भर बन्दै जाँदा कोही पनि नेपाली युवा रोजगारीका लागि विदेश धाउनुपर्ने छैन ।

यसबाहेक सरकारले एउटा ध्यान दिनुपर्ने कुरा के छ भने राष्ट्रिय धन बचाउन ध्यान दिनु जरुरी छ । अर्थात् अनावश्यक खर्च कटौती गरेर राष्ट्रको ढुकुटी जोगाउनुपर्छ र त्यसलाई विकास निर्माणका काममा लगाउनुपर्छ ।

रमेश केशरी वैद्य

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्