ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चम्चागिरी अमर रहोस् !

२०७७ चैत, २७  
तीतो मीठो

प्राचीनकालमा राजाका अघिपछि चाटुकार, चारण र विदूषक हुन्थे, जसले राजाका खराब कामको पनि प्रशंसा गर्दथे । गाउँ गाउँ, नगर नगर गएर राजाका प्रशस्ति गाउने गर्दथे । राजाका तारिफमा महाकाव्य नै लेख्दिन्थे र महाकवि उपाधि पड्काउँथे । यो परम्परा अहिलेसम्म पनि कायमै छ । पढ्नुभएन नयाँ राजाहरूका नाममा निस्किएका कतिपय नामधारी किताबहरू ? देख्नुभएन सत्ता र शक्तिका अघिपछि लागिरहेका चम्चाहरूका यति ठूलो फौज ?

चम्चा ठूलो होस् या सानो । हल्का होस् या भारी । नर होस् या नारी । यिनीहरूमा झुकेर र भुकेर अभिवादन गर्ने कला हुन्छ । जसलाई चम्चागिरी आउँछ, उसलाई प्रगति गर्नबाट भगवान्ले पनि रोक्न सक्तैनन् ।

हुन पनि चम्चाहरू भएनन् भने त अचेल खाने काम नै आरम्भ हुन सक्तैन । त्यसैले भाँडाहरूमध्ये सबैभन्दा श्रेष्ठ चम्चा हो भने वादहरूमा सर्वश्रेष्ठ चम्चागिरी हो भनी चम्चा महात्म्यमा लेखिएको छ । हाम्रोजस्तो देशमा त चम्चाहरू सर्वव्यापी हुन्छन् । कुनै पनि संस्था होस् वा संगठन, अफिस होस् वा वासस्थान यिनीहरू सबै ठाउँमा परिचालन भइरहन्छन् ।

जसरी भान्छामा हरेक आकार प्रकारका चम्चाहरू हुन्छन्, जस्तै– खाना खाने चम्चा, घिउ झिक्ने चम्चा, अचार चाख्ने चम्चा, चिया चम्चा, मिठाई खाने चम्चा आदि आदि, त्यसरी नै समाजमा पनि अनेक आकार प्रकारका चम्चाहरू हुन्छन् । ठूला चम्चा हुन्छन्, साना चम्चा हुन्छन् । ठूला चम्चाहरू ठूलै नेता, ठूलै व्यापारी, ठूलाठूला गुण्डा (उनै जो पछि गएर देशका नीति निर्माणकर्ता बन्छन्)का काममा लाग्छन् । साना चम्चा सानैकोमा । चम्चाका पनि चम्चा हुन्छन् । अनि भान्छामा चम्चाहरू जति उपयोगी र श्रेष्ठ हुन्छन्, समाजमा यी चम्चाहरू त्यत्तिकै हानिकारक हुन्छन् ।

चम्चागिरी गजबको पेशा हो । यसमा समयबाहेक अरू केही लगानी गर्नै पर्दैन, केवल अघि पछि घुमेर जी हजुरी गरे पुग्छ । त्यति गरेसी जसको अघि घुमेको हो, उसको आँखामा पर्दा लाग्छ । अनि त के ? यसपछि चाहेमा कसैका घरबार उजाडे भो वा कसैका घाँटी दबाए नि भो । जे गरे पनि मालिकले सबै गल्ती माफ गर्दिन्छन् ।

चम्चागिरी अर्थात् गिरेको चम्चा । काम, धर्म, मूल्य, मान्यता, इमानदारी आदि चम्चागिरी गर्नेका लागि गौण कुरा हुन् । चम्चाहरूले आफ्नो समय र सम्बन्धको पूर्ण सदुपयोग गरेर आफ्ना हरेक काम पट्याइरहेका हुन्छन् । मुखमा रामराम बगलीमा छुरा, कुरा यिनका मीठा । यी पिँधविनाका लोटा, कहिले यता ढल्किन्छन् त कहिले उता ।

चम्चानन्दको कर्मवीर र ज्ञानवीरसँग जहिले पनि शत्रूता रहन्छ । चम्चाहरू आफैले आफूलाई ‘पावरफुल’ सम्झन्छन् । तर उनीहरू खासमा ‘फुल’ हुन्छन्, जसका काँधमाथि राखेर कसैले बन्दुक चलाइरहेको हुन्छ । चाखलाग्दो कुरा यो छ कि चम्चा बन्न मरिहत्ते गर्छन् । तर चम्चा भन्यो भने चैं बुरुक्क उफ्रिहाल्छन् ।

सडकदेखि सत्ताको गल्लीसम्म । बिहानको उज्यालोदेखि औंशीको अँध्यारो रात्रिसम्म सर्वत्र चम्चाकै चुरीफुरी चल्छ । अर्थात् चम्चाबाटै सारा राजकाज चल्छ । हिजोआज त विनाचम्चा कुनै काम सम्भव देखिँदैन । दासहरू नै सबैभन्दा बढी दास बनाउन चाहन्छन् । यो कुरा चम्चामा पनि लागू हुन्छ । अरूको चम्चागिरी गर्नेहरू आफ्नो पनि कसैले चम्चागिरी गरेको मन पराउँछन् । तर प्रजातन्त्रलाई लोकतन्त्र भनेझैं अचेल तिनै चम्चाहरूलाई शुभचिन्तक र अझ सल्लाहकार आदिको पगरी गुथाउन थालिएको छ ।

चम्चा महात्म्यमा यस्तो भनिएको छ कि बरु भलै काम धाम नगरौं, तर डटेर जी हजुरी गरौं । ‘हाकिम सधैं ठीक’वाला मन्त्र सधैं मनन गरौं । र, तन मन धनले चम्चागिरीको जप गरौं । चम्चेहरूकी जय ! चम्चाले मात्र सत्ताको र भत्ताको भवसागरबाट पार लगाउनेछ । जसको साथमा चम्चा हुन्छन्, तिनले राज गर्न पाउँछन् ।

चम्चा ठूलो होस् या सानो । हल्का होस् या भारी । नर होस् या नारी । यिनीहरूमा झुकेर र भुकेर अभिवादन गर्ने कला हुन्छ । जसलाई चम्चागिरी आउँछ, उसलाई प्रगति गर्नबाट भगवान्ले पनि रोक्न सक्तैनन् । चम्चागर्दी मच्चाएर अफिसमा प्रमोशन मात्र होइन, सडकबाट संसदै नपुगी एकैचोटी मन्त्री पड्काउन नि पाइन्छ । त्यसैले समयमै चम्चागिरी सिक्नु धेरै महत्वपूर्ण हुन्छ । त्यसका लागि चम्चोलोजी विश्वविद्यालयमा आफ्नो चम्चत्व चम्काउन लागिरहनुपर्छ । अनि मात्र २–४ हप्ता वा महीनामै जीवनमा चमत्कार ल्याउन सकिन्छ ।

त्यसैले होला, अचेल नेताहरूमा चम्चाहरू पाल्ने शौख धेरै नै बलियो हुँदै गइरहेको छ । नेताका घर, अफिसभित्र बाहिर चम्चाहरूको लामो भीड नै खडा हुने गरेको छ । नेताहरू चम्चाहरूका चाप्लुसीमा चिप्लिने कारण बेलाबेलामा जनताहरू कोपभाजनमा पर्ने गरेका छन् । जसरी संघीयता अनुसार प्रदेशहरू सक्रिय भएका छन्, देशमा चम्चाहरू पनि त्यसरी नै ह्वात्तै बढेका छन् । वर्षामा च्याउ उम्रिएसरी चम्चाहरू पनि जताततै उम्रिरहेका छन् । न्यूटनका अघि आकाशबाट स्याउ खसेजसरी कहाँ कहाँबाट हो यी चम्चाहरू पनि हाम्रा जीवनमा, हाम्रा कामहरूमा टप्किन आइरहन्छन् ।

यिनीहरू हिजो पनि थिए, आज पनि छन् र भोलि पनि रहनेछन् । चोला फेरे पनि चम्चाको चाला चाहिँ फेरिने देखिँदैन । डिलरहरू लिडर बन्ने अहिलेको अवस्था रहेसम्म शासक र शासकका चम्चाहरू यसरी नै फलिरहन्छन्, फुलिरहन्छन् ।

चम्चाहरूको यत्रो बजार भएपछि हाम्रा शिक्षामन्त्रीजीलाई मेरो विशेष अनुरोध छ कि बरु विद्यालयदेखि विश्वविद्यालयसम्म चम्चोलोजी विषयमा पढाइ नै शुरू गरियोस् ।

हिजोआजका मन्त्रीहरूको भाषण सुन्दा चाँडै नै मन्त्रीजीले चम्चागिरीको विकास गर्न कुनै कसर बाँकी राख्ने छैनन् भन्ने आशा गर्न सकिन्छ । यो कलाको विकास गर्न मन्त्रीजीले चम्चोलोजी विश्वविद्यालयको उद्घाटन गरेको फोटो अखबार र टिभीमा देख्ने सुअवसर चाँडै प्राप्त हुने नै छ । त्यसपछि त देशैभरि नारा लाग्न थाल्नेछ, ‘चम्चागिरी अमर रहोस् !’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्