ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शोधनान्तर स्थिति रू.६८ अर्बले बचत

२ महीनायताकै कम

२०७७ चैत, ३१  
समाचार
Image Not Found
author avatar ममता थापा

काठमाडौं । लामो समयसम्म बाह्य पर्यटन आगमनमा अवरोध हुँदै गए शोधनान्तर बचत घट्न सक्ने र यसले विदेशी विनिमय सञ्चितिमा चुनौती हुन सक्ने संकेत देखिएको छ । चालू आवको फागुनसम्ममा शोधनान्तर स्थिति गत आवको सोही अवधिको तुलनामा बढेको देखिए पनि मासिक वृद्धि भने घट्दै गएकाले यस्तो संकेत देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनले चालू आवको ८ महीनामा शोधनान्तर स्थिति रू. ६८ अर्बले बचतमा रहेको देखाएको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति रू. ३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको छ ।

फागुनसम्मको वार्षिक तुलनामा शोधनान्तर बचत बढेको देखिए पनि गत पुस र माघको तुलनामा भने बचत रकम कम देखिएको छ । गत पुसमा शोधनान्तर स्थिति रू. १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो । गत माघमा शोधनान्तर स्थिति रू.९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो । फागुनमा यो बचत झन् कम देखिएको छ ।

यसरी शोधनान्तर स्थितिको बचत रकम मासिक रूपमा घट्दै आएकाले यसले बाह्य क्षेत्रमा चुनौती बढिरहेको संकेत गरेको नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउँछन् ।

‘अहिलेसम्म घाटामा त होइन । पोहोरको तुलनामा राम्रै बचतमा छ । तर २ महीनाअघिको हेर्दा यस्तो बचत कम देखियो,’ उनले अभियानसँग भने, ‘२ महीनामै शोधनान्तर बचत १२४ अर्बबाट ६८ अर्बमा आउनु धेरै घट्नु हो । २ महीना अघिसम्मको शोधनान्तर सुविधा अहिले रहेन । यो गतिमा जाँदा त शोधनान्तर बचत नहुन सक्छ, विदेशी विनिमय सञ्चितिमा दबाब पर्न सक्छ । अर्को वर्ष अत्यावश्यक वस्तु आयात गर्न बचत बढ्न जरुरी छ । ’

मासिक बचत घट्दै गए आर्थिक वर्षको अन्त्यसम्ममा विदेशी विनिमय सञ्चितिमा प्रभाव पर्छ । अहिले कुल विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा रू. १४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब ३७ करोड छ । यो सञ्चितिले आर्थिक वर्ष २०७७/७८ को ८ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.५ महीनाको वस्तु आयात र ११.३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

देशबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढ्दा शोधनान्तर बचतमा जाने गर्छ । यसमा विप्रेषणको पनि ठूलो भूमिका रहन्छ । चालू आवको फागुनमा विप्रेषण आप्रवाह ८ दशमलव ६ प्रतिशतले वृद्धि भई रू. ६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ ।

गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह १ दशमलव ५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । गत आव यस्तो आप्रवाह १ दशमलव ५ प्रतिशतले बढेको थियो ।

चालू खाता घाटामा
विगत ३ महीना अर्थात् गत मङ्सिरदेखि चालू खाता घाटामै रहेको छ । फागुनमा आइपुग्दा चालू खाता रू. १ खर्ब ४८ अर्ब ६८ करोडले घाटामा रहेको छ । गत आवकोे सोही अवधिमा चालू खाता रू. १ खर्ब १९ अर्ब ७० करोडले घाटामा रहेको थियो । आयात बढ्दा चालू खाता घाटामा दबाब परे पनि क्रमशः यो घाटा बढ्दै जानु राम्रो पनि नभएको कार्यकारी निर्देशक डा. भट्टको भनाइ छ । ‘चालू खाता घाटा बढ्नुको मुख्य कारण पहिलाको जस्तो पर्यटक नेपालमा नआउनुले पनि हो । बा≈य पर्यटन ठप्प छ । आयात केही बढेको छ,’ उनले भने ।

आयात घट्यो
कोभिडले गर्दा केही समय प्रभावित बनेको आयात आर्थिक वर्ष २०७७/७८ को ८ महीनामा भने कुल वस्तु आयात २ दशमलव १ प्रतिशतले वृद्धि भई रू.९ खर्ब ४३ अर्ब ९९ करोड कायम भएको छ ।

गत आवको सोही अवधिमा यस्तो आयात २ दशमलव ६ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकको अनुसार वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, एमएस बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसंचारका उपकरण तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ । तर, पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्टपुर्जा, भडियो, टेलिभिजन तथा पार्टपुर्जालगायत वस्तुको आयात घटेको छ ।

उक्त अवधिमा कुल वस्तु निर्यात भने ७ दशमलव ८ प्रतिशतले वृद्धि भई रू. ८० अर्ब ७८ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो निर्यात २२ दशमलव ३ प्रतिशतले वृद्धि भएको थियो । सोयाबिन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिस्टर तथा अन्य) लगायत वस्तुको निर्यात बढेको राष्ट्र बैंकले बताएको छ । तर, पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचालगायत वस्तुको निर्यात घटेको छ ।

मूल्यवृद्धि ३ दशमलव शून्य २ प्रतिशत
समग्र मूल्यवृद्धि गत आवको फागुनसम्ममा भन्दा कम देखिए पनि अझै घ्यूउ, तेल, दाल, गेडागुडी, फलपूmलको मूल्य भने चर्को रहेको छ । फागुनसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ३ दशमलव शून्य २ प्रतिशत रहेको छ ।

गत आवको सोही महीनामा यस्तो मुद्रास्फीति ६ दशमलव ७० प्रतिशत रहेको थियो । २०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेलको मूल्यवृद्धि १९ दशमलव ९७ प्रतिशत रहेको छ । फलफूलका मूल्यवृद्धि १३ दशमलव ६७ प्रतिशत, दाल तथा गेडागुडीको मूल्यवृद्धि १० दशमलव १७ प्रतिशत र सुर्तीजन्य वस्तुहरूको मूल्यवृद्धि १० दशमलव ४१ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्