ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अन्तरराष्ट्रिय इकोनोमिक ओलम्पियाडका लागि पाँचजना छनोट

२०७७ चैत, ३१  
विविध
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय इकोनोमिक ओलम्पियाडमा सहभागिताका लागि पाँचजना छनोट गरिएको छ । काठमाडौंमा तीन दिनसम्म चलेको नेपाल इकोनोमिक ओलम्पियाड (एनईओ) नेशनल च्याम्पियन–२०२१ बाट अन्तरराष्ट्रिय फोरममा सहभागी हुनेहरूको छनोट गरिएको हो ।

रातो बंगला स्कूलमा अध्ययनरत प्रत्युष घिमिरे, सोही स्कूलका आर्यन श्रेष्ठ, जेभियर्स इन्टरनेशनल स्कूलका प्रतीक कायस्थ, बूढानीलकण्ठ स्कुलका निञ्जन राना, सोही स्कूलका समीर क्षेत्र छनोटमा परेका छन् । काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम) ललितपुरमा सञ्चालन भएको प्रतिस्पर्धाबाट उनीहरूलाई छनोट गरिएको एनईओका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

सापकोटाका अनुसार राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट भएका ५ विद्यार्थीले जुलाईमा युनिभर्सिटी अफ लात्भियामा आयोजना हुने इन्टरनेशनल इकोनोमिक ओलम्पियाडमा भाग लिन पाउनेछन् । नेपालले सन् २०१९ देखि अन्तरराष्ट्रिय इकोनोमिक ओलम्पियाडमा भाग लिन थालेको हो । पहिलोपटक सहभागी हुँदा नेपालले एउटा कास्य पदक जितेको थियो भने २०२० मा दुई कास्यपदक जितेको थियो । कोभिड महामारीका कारण २०२० को प्रतियोगिता अनलाइनमार्फत आयोजना भएको थियो । यस वर्ष क्षेत्रीय र राष्ट्रिय प्रतिस्पर्धामा विद्यार्थीहरू भौतिक रूपमै उपस्थित गराएर सम्पन्न गरिएको हो ।

अन्तरराष्ट्रिय प्रतिस्पर्धा भने अनलाइनबाटै हुने आयोजकले जानकारी दिएको छ । तीन दिनसम्म चलेको एनईओमा कक्षा १२ तथा ए लेभल अध्ययनरत इकोनोमी, बिजनेश र फाइनान्सको क्षेत्रमा रुचि राख्ने विद्यार्थीको सहभागिता थियो । त्यस्तै, ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धामा सात प्रदेशका ५० भन्दा बढी संस्थाका ३ सयभन्दा बढी विद्यार्थीले सहभागी थिए, जसमध्ये ६९ विद्यार्थी राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धाका लागि छानिएका थिए ।

ललितपुरमा आयोजित प्रतियोगिता राष्ट्रिय प्रतिस्पर्धा अर्थशास्त्र विषयमा परीक्षा र बिजनेस केस एनालिसिस गरी दुई चरणमा गरिएको थियो । सहभागी विद्यार्थीलाई विभिन्न सेमिनार र विज्ञहरूले इकोनोमिक्स, फाइनान्स र बिजनेशका विषयमा प्रशिक्षण दिएका थिए । सांसद मीनेन्द्र रिजाल, वरिष्ठ अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, डा. विश्व पौडेल, गुणाकर भट्ट, अच्युत वाग्ले, सूर्यराज आचार्य, प्राडा. कुसुम शाक्यलगायतले अर्थशास्त्र, वित्त र व्यवसायका बारेमा प्रशिक्षण दिएका थिए । आइतवार भएको समापन कार्यक्रममा सांसद रिजाल, होटल एशोसिएशन अफ नेपाल (हान)की अध्यक्ष सिर्जना राणा लगायतले छानोटमा परेका विद्यार्थीलाई अन्तरराष्ट्रिय इकोनोमिक ओलम्पियाड जित्न शुभकामना दिए । अर्थशास्त्र र वित्त क्षेत्रमा प्रतिभाशाली विद्यार्थी छनोट गरेर उनीहरूलाई उज्ज्वल भविष्य निर्माण गर्न हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र उद्देश्य अनुरूप नै कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्