ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ऊर्जा क्षेत्रमा वर्ष २०७७ : कोरोनाले अस्तव्यस्त, उपलब्धि मिश्रित

२०७७ चैत, ३१  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar मिलन विश्वकर्मा

कोरोना महामारीका कारण वर्ष ०७७ मा विकास आयोजनासँगै ऊर्जा क्षेत्र पनि प्रभावित भयो । कोरोना रोकथामका लागि ०७६ चैतदेखि शुरू भएको बन्दाबन्दी गत असारसम्मै लम्बियो । त्यसपछि पनि पटक–पटक लगाइएको निषेधाज्ञाले ऊर्जा क्षेत्र प्रभावित भयो । कोरोनाको असर अहिलेसम्म पनि ऊर्जा क्षेत्रमा परेको छ । यसको उदाहरण निर्माण भइरहेका निर्माणाधीन आयोजनामा परिरहेको छ ।

कोरोना महामारीका कारण अधिकांश जलविद्युत् आयोजना निर्माण नै पछि धकेलियो । विद्युत् आयोजनासम्बन्धी अधिकांश सामग्री तथा प्राविधिक चीनबाट ल्याउनुपर्छ । तर, त्यहीबाटै शुरू भएको कोरोना संक्रमणका कारण २०७६ मंसिरदेखि चिनियाँ प्राविधिक नेपाल आउन सकेनन् । त्यसमाथि नेपाल–चीन सीमानाका बन्द हुँदा ऊर्जासम्बन्धी सामग्री नेपाल ल्याउन ढिलाइ हुन गयो । फलस्वरूप २०७७ मा ऊर्जा क्षेत्र पनि प्रभावित हुनुपरेको यस क्षेत्रका व्यवसायी बताउँछन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्य कोरोना कारण २०७७ मा ऊर्जा क्षेत्र प्रभावित भएको बताउँछन् । ‘कोरोनाका कारण पर्यटनपछि सबैभन्दा बढी प्रभावित भएको क्षेत्र ऊर्जा हो । यो वर्ष कोरोनाले ऊर्जा क्षेत्रलाई अस्तव्यस्तै बनायो,’ उनले भने, ‘पछिल्लो समय कोरोना कहर सामान्य हुन थालेपछि यो क्षेत्र विस्तारै चलायमान हुन थालेको थियो । तर, पुनः विश्वभर कोरोनाको दोस्रो लहर सुरु भएपछि त्यसको त्रास नेपालमा पनि बढेको छ । यसलाई सरकारले सही ढंगले व्यवस्थित गर्न नसके ऊर्जा क्षेत्र थप प्रभावित हुनेछ ।’

कोरोनाको दोस्रो लहर नआए नयाँ वर्ष २०७८ लाई ऊर्जा क्षेत्रका लागि उपलब्धिमूलक बनाउन सकिने उनको बुझाइ छ ।

यो वर्ष कोरोनाका कारण कतिपय आयोजनाहरूले निर्माण नै  शुरू गर्न नसकिएको उनले बताए । साथै, निर्माणाधीन आयोजनाको पनि निर्माण पछि धकेलिएको उनी बताउँछन् । समग्रमा आयोजनाको निर्माण २ वर्ष पछि धकेलिएको आचार्य बताउँछन् ।

नीतिगत रूपमा पनि ऊर्जा क्षेत्रमा खासै निर्णय भएको देखिँदैन । यो वर्ष भारतले नेपालबाट विद्युत् किन्ने नीतिगत निर्णय गर्‍यो । विद्युत् नियमन आयोगले पनि घटाएर नयाँ विद्युत् महसुल निर्धारण गर्‍यो । यसका अलावा विद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीहरू एकआपसमा मर्ज हुन सक्ने गरी नीतिगत रूपमा पनि व्यवस्था गरियो । ऊर्जा क्षेत्रका लागि खास रूपमा नीतिगत व्यवस्था नभएको व्यवसायीहरू बताउँछन् । यद्यपि, यो वर्ष विद्युत्सम्बन्धी प्रस्तावित नयाँ ऐन संसद्मा दर्ता हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने उनीहरूको तर्क छ ।  

समस्या हुँदाहुँदै पनि वर्ष २०७७ मा  नेपालका बैंक तथा वित्तीय संस्थाले भने ऊर्जा क्षेत्रमा व्यापक लगानी बढाएका छन् । पहिला बैंकहरूले ऊर्जा क्षेत्रमा त्यति लगानी गर्दैनथे । तर, यो वर्ष बैंकहरूले ठूलो मात्रामा ऊर्जा क्षेत्रका आयोजनासँग वित्तीय व्यवस्थापन सम्झौता गरेको ऊर्जा व्यवसायी कुमार पाण्डेले जानकारी दिए ।

‘ऊर्जा क्षेत्रमा ०७७ मा खास उपलब्धि केही भएन । नीतिगत रूपमा पनि त्यस्तो निर्णय देखिएन,’ उनले भने, ‘तर, यो वर्ष बैंकहरूले जलविद्युत् आयोजनामा ठूलो स्केलमा नगद प्रवाह गरे, जुन निजी क्षेत्रका लागि खुसीको कुरा हो ।’ राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाखदेखि फागुन मसान्तसम्म मात्रै बैंक तथा वित्तीय संस्थाहरूले ऊर्जा क्षेत्रमा ३३ अर्ब ६९ करोड ७० लाख बराबरको नगद प्रवाह गरेका छन् । बैंकहरूले हालसम्म ऊर्जा क्षेत्रमा १ खर्ब ८६ अर्ब ८२ करोड रुपैयाँ नगद प्रवाह गरेको तथ्यांकमा उल्लेख छ ।

बैंकहरूले कुल कर्जा लगानीको १५ प्रतिशत बराबरको रकम ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने राष्ट्र बैंकले सीमा तोेकेको छ । पछिल्लो समय जलविद्युत् आयोजना निर्माणले पनि गति लिएको देखिन्छ । सोही कारण ऊर्जा क्षेत्रमा बैंकहरूको लगानी बढेको हो ।

यो वर्ष ऊर्जा क्षेत्रमा अन्य खास उपलब्धि नदेखिएको पाण्डे बताउँछन् । ‘यो वर्ष नयाँ ऊर्जामन्त्री फेरिनेदेखि विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक नियुक्त गरिए पनि तिनबाट खासै परिवर्तनको अनुभूति गर्न सकिएको छैन,’ उनले भने ।

विद्युत् आयोजना सञ्चालनमा आउने विषयमा भने उपलब्धि नै भएको देखिन्छ । वर्ष २०७७ मा करिब ७२ मेगावाट बराबरको विभिन्न आयोजनाले विद्युत् उत्पादन शुरू गरेको देखिएको छ । त्यसमा ६० मेगावाट विद्युत् निजीक्षेत्रबाटै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको विद्युत् प्राधिरकणको तथ्यांकले देखाएको छ । २०७७ सालमा प्राधिकरणको नुवाकोट जिल्लास्थित २५ मेगावाटको सोलार प्लान्टबाट ११ दशमलव २५ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको छ ।

यसका अलावा अन्य विद्युत निजी क्षेत्रबाटै उत्पादन भएको हो । निजीक्षेत्रतर्फ ७ जलविद्युत् आयोजनाबाट ३८ दशमलव ७ मेगावाट, २ सोलार प्लान्टबाट १८.५ मेगावाट विद्युत् प्रसारण लाइनमा जोडिएको छ । यस्तै, यो वर्ष चिनी मिलबाट व्यावसायिक रूपमै विद्युत् उत्पादन शुरू भएको छ । एभरेष्ट सुगर मिलले यो वर्षदेखि ३ मेगावाट विद्युत् प्राधिकरणलाई विक्री गर्न शुरू गरेको छ ।

यो वर्ष विद्युत् खपतमा पनि सामान्य सुधार आएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन् । ‘यो वर्ष ठ्याक्कै यति विद्युत् खपत भयो भनेर तथ्यांक आइसकेको छैन । तर, गतवर्षको तुलनामा १० प्रतिशतले खपत बढेको अनुमान गरेका छौं । कोरोना कहर नबढे विद्युत् खपत थप बढ्नेछ,’ उनले भने, ‘कोरोनाका कारण अहिले भारतमा विद्युत् खपत घटेको छ । यो अवस्थामा नेपालमा १० प्रतिशतले भएपछि विद्युत् खपत बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

यो वर्ष पिक डिमान्डमा १४८० मेगावाटसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च भएको प्राधिकरणको भनाइ छ । हाल नेपालको विद्युत् खपत प्रतिव्यक्ति २६० युटित प्रतिवर्ष रहेको छ । यो तुलनात्मक रूपमा कमै हो । विद्युत् खपत बढाउने गरी काम भइरहेको ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटवालले बताए ।

‘वास्तवमा अहिले विद्युत् खपत कमै छ । तर, हामीले अब विद्युतीय चुलोको प्रयोगलाई प्रवर्द्धन गर्ने काम गर्दै छौं ।  विद्युतीय बस पनि आउँदै छन्,’ उनले भने, ‘त्योअनुसार विद्युत् खपत बढ्छ भन्नेमा आशावादी छौं । मन्त्रालयले पनि त्यहीअनुसार काम गर्दै आएको छ ।’

बन्दाबन्दीका कारण गत असारसम्म विद्युत् खपत ह्वात्तै घटेको थियो । तर, अहिले विद्युत् खपत बढ्दै गएको प्राधिकरणको भनाइ छ । पछिल्लो समय कोरोना कहर सामान्य हुँदै जाँदा औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा थिए । त्यसको असरले विद्युत् खपत बढेको बताइएको छ ।

२०७७ को बिजुली उपलब्धि

  • ७२ मेगावाट बराबरका विभिन्न आयोजनाबाट उत्पादन शुरू
  • स्मार्ट मिटर जडान शुरू
  • नयाँ विद्युत् महशुल दर निर्धारण
  • विद्युत् विधेयक संसद्मा दर्ता
  • प्रवर्द्धक कम्पनी मर्जरसम्बन्धी कार्यविधि जारी
  • पहिलोपटक चिनी मिलबाट पनि व्यावसायिक रूपमा विद्युत् उत्पादन शुरू
  • ४०० केभीको ढल्केबर मुजफ्फरपुर प्रसारण लाइन सञ्चालन
  • ४०० केभीको पहिलो र ठूलो ढल्केबर सबस्टेसन (स्वचालित) सञ्चालनमा ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्