ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कृषिमा जम्दै निजीक्षेत्र

२०७७ चैत, ३१  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar प्रशान्त खड्का

पछिल्लो समय कृषिमा निजीक्षेत्रको आकर्षण बढ्दै गएको छ । निजीक्षेत्रको लगानी नभएसम्म कृषि कर्मले गति लिन नसक्ने अवस्था देखिएपछि सरकारलाई सघाउ पुर्‍याउने गरी निजीक्षेत्रले पनि कृषि उद्यममा आकर्षण बढाउँदै लगेको हो । वर्षौं अघिदेखि अन्य पेसा, व्यवसायमा आबद्ध ठूला व्यापारिक घरानाहरूसमेत अहिले कृषि व्यवसायतर्फ जम्दै गएका छन् ।

बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेत, रियल इस्टेट व्यवसायी दीपक मल्होत्रा, अविनाश ह्याचरीका सञ्चालक गुणचन्द्र विष्ट, अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सीपी शर्मालगायतका व्यवसायी पछिल्लो समय नेपालको कृषि व्यवसायमा उदाहरणीय बन्न पुगेका छन् । शुरुआती दिनमा कृषि पेसा अँगाल्दै आएका बस्नेतले २४ वर्षअघि बुद्ध एयर सञ्चालन गरी एयरलाइन्स कम्पनीको व्यवसाय शुरू गरेका थिए । बुद्ध एयरले राम्रो प्रतिफल दिइरहेका बेला पनि बस्नेत कृषि व्यवसायमा समेत उत्तिकै तल्लीन भएर लागेका छन् ।

बस्नेतकै नेतृत्वमा स्थानीय किसानसँग सहकार्य गर्दै मोरङ र सुनसरीमा यान्त्रिकीकरणमार्फत धान खेतीको लागत घटाई उत्पादकत्व बढाउने र आधुनिक धान मिल सञ्चालन गरेर ठूलो परिमाणमा चामल उत्पादन गरी नेपालमा विदेशी चामल प्रतिस्थापन गर्ने उद्देश्य राखिएको छ ।

यसका लागि पहिलो र दोस्रो चरणमा गरी मोरङको बेलबारीमा धान मिल स्थापना र धान तथा चामलको भण्डारणगृह निर्माणलगायतमा करिब ३० करोड रुपैयाँको लागत लाग्ने उनले बताए । १५ वर्षअघि नेपालमा पहिलो पटक खाद्यबालीमा यान्त्रिक उपकरण भित्र्याउने कामसमेत उनकै नेतृत्वमा भएको थियो ।

धान मिलको कुल क्षमता २८ हजार मेट्रिक टन भए पनि पहिलो चरणमा यसै वर्ष ३ हजार मेट्रिक टन चामल उत्पादन गर्ने र दोस्रो चरणमा आउँदो वर्ष २० हजार मेट्रिक टन धानबाट चामल उत्पादन गरिनेछ । यी दुई जिल्लामा योजना सफल भए विस्तारै ७७ ओटै जिल्लामा योजना विस्तार गरिने बस्नेतले जानकारी दिए ।

रियल इस्टेट क्षेत्रमा वर्षौंदेखि स्थापित भएर व्यवसाय गरिरहेका व्यवसायी मल्होत्रा पनि यतिबेला आईएमएस एग्रो नामक कम्पनी स्थापना गरी कृषि क्षेत्रमा हाम्फालेका छन् । कृषिमा नेपाललाई आत्मनिर्भर बनाउने र विदेशी कृषि उत्पादनलाई प्रतिस्थापन गर्ने उद्देश्यले कृषि कम्पनी खोलेको उनले सुनाए ।

मल्होत्राको आईएमएस कम्पनीले हाल सुनसरीमा आफैले किनेको २५ बिघा जमीनमा १० करोड रुपैयाँको लगानीमा स्ट्रबेरी, कागती, मेवा र तर्बुजालगायत फलफूल खेती शुरू गरिसकेको छ । त्यसैगरी कपिलवस्तुको चन्द्रौटामा ८ बिघा जमीनमा अम्बा खेती र मनाङमा करिब ६ सय बिघा जमीन भाडामा लिएर स्याउखेती शुरू हुने क्रममा छ भने सुर्खेत र डोल्पा जिल्लामा समेत स्याउ र ओखर खेती गर्ने लक्ष्य लिइएको छ ।

नेपालमा हरेक वर्ष ५० अर्बको धान र चामल, २० अर्ब रुपैयाँको खानेतेल आयात हुने गर्छ भने आलु, गहुँ, मकै र भटमास गरी १ खर्ब रुपैयाँको आयात हुने गरेको सरकारी तथ्यांक छ । यस्तो अवस्थाको अन्त्य गरी आन्तरिक उत्पादन बढाउन र नेपाली मुद्रा विदेशिन नदिन निजीक्षेत्रले कृषिमा लगानी बढाउनैपर्ने व्यवसायीको धारणा छ ।

बुटवलको गंगोलियास्थित २० बिघा जमिन भाडामा लिएर शुरुआती चरणमा ३० करोड रुपैयाँ लागतबाट अस्ट्रिचपालन गरिरहेका सीपी शर्माले हाल च्याउखेती शुरू गरेका छन् । अस्ट्रिचपालन र च्याउ फार्ममा यतिबेला ५ सयभन्दा धेरै कामदारलाई रोजगारी प्राप्त भएको छ ।

कोरोना महामारीको प्रभावका कारण अस्ट्रिच मासुको बजार घटेपछि अहिले उनले ४ बिघा जमिनमा च्याउखेती शुरू गरेका हुन् । ‘बजारमा अस्ट्रिच मासुको खपत घटेपछि उक्त घाटालाई परिपूर्ति गर्नकै लागि च्याउको व्यावसायिक शुरू गरेका हौं,’ उनले भने । उत्पादन भइरहेको च्याउमा अस्ट्रिचकै गोबरको मल प्रयोग भइरहेको छ ।

रियल इस्टेट, बैंक तथा वित्तीय संस्था र जलविद्युत्लगायत दर्जनौं व्यापारिक क्षेत्रमा लगानी गरेर सफलता हात पार्दै आएको गोल्यान समूहले पनि पछिल्लो समय माटो ब्रण्ड नाम दिएर अग्र्यानिक कृषि वस्तु उत्पादन गर्दै आएको छ । यो समूहले झापामा करिब २०० बिघा जमीनमा तरकारी, धान, गहुँदेखि आँप, लिची, मेवा, स्ट्रबेरीलगायत फलफूलको खेती गरिरहेको छ । कृषिमा अहिले उक्त कम्पनीको लगानी ८२ करोड रुपैयाँभन्दा बढी पुगेको बताइएको छ ।

विदेशबाट आयात हुने ब्रोइलर र लेयर्स कखुराका चल्ला प्रतिस्थापन गरी नेपालमै चल्ला उत्पादन बढाउने उद्देश्यले २०४६ मा पहिलो पटक काठमाडौं उपत्यका बाहिर शुरू भएको अविनाश ह्याचरीले कृषि क्षेत्रमा ठूलो योगदान दिँदै आएको छ । शुरुआती चरणमा आफ्नो लगानी १० लाख र बैंकबाट ४५ लाख ऋण लिएर शुरू भएको ह्याचरी उद्योगको हालको कुल लगानी ४ करोड पुगेको छ ।

करिब ४ सय जनालाई रोजगारी दिन सफल रहेको यस ह्याचरीले नेपाललाई पोल्ट्री क्षेत्रमा आत्मनिर्भर हुन सहयोग पु¥याएको उद्योगका सञ्चालक गुणचन्द्र विष्ट बताउँछन् । सातामा ७ लाख चल्ला उत्पादन गर्ने क्षमताको यो उद्योग अहिले कोरोना महामारीका कारण प्यारेन्ट चल्ला अभाव भएपछि भने क्षमता घटेको उनले सुनाए । क्षमता घटेकाले अहिले सातामा २ लाख चल्ला मात्र उत्पादन भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्