ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोभिडले दिएको अवसर : नेपालको स्वास्थ्य क्षेत्रको सुधार

२०७७ चैत, ३१  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar काशीराम बजगाईं

सरकारले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गरेको दाबी गर्दै आए पनि नेपालमा अघिल्लो वषको शुरूदेखि नै कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था छर्लङ्ग भयो । नेपालको स्वास्थ्य क्षेत्रको अवस्था कमजोर रहेको देखाउने विभिन्न अध्ययन प्रतिवेदनलाई कोरोनाले सही सावित गरिदियो ।

थुप्रै नागरिकले सीमामा दुःख भोग्नुपर्‍यो, स्तरहीन क्वारेन्टिन, आइसोलेशन लगायतले बिरामीको संख्या बढायो । सरकारले स्वास्थ्य जस्तो गम्भीर विषयमा मनमर्जी बोल्ने र प्रभावकारी तयारी नगर्ने कारणले जनतामा आतंक थपेको स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूको भनाइ रहँदै आएको छ । कोरोनाकालमा अक्सिजन ग्यास, अस्पताल बेड, जनशक्ति पूर्वाधारको नाजुग अवस्था देखियो । यद्यपि, विश्वव्यापी महामारीका रूपमा रहेको कोरोनाले विभिन्न अवसर पनि दियो ।

कोरोना नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि महत्वपूर्ण बन्न पुगेको स्वास्थ्यविद् डा. समीरमणि दीक्षितको बुझाइ छ । ‘कोरोनाको शुरुआती चरणमा जति कुरा गरे पनि स्वास्थ्य क्षेत्रमा हामी कति कमजोर रहेछौं भन्ने स्पष्ट देखियो,’ दीक्षितले भने, ‘नेपालमा कोरोनाले त्यति ठूलो असर पुर्‍याएन । तर अन्य मुलुकमा जस्तो भयावह रूपमा देखिएको भए नेपालले नियन्त्रण गर्न सक्ने थिएन भने प्रमाणित भयो ।’ भुटान, बंगलादेशभन्दा नेपाल स्वास्थ्य क्षेत्रमा कमजोर रहेको भन्दै उनले विज्ञको सल्लाह लिनै नचाहने सरकारको प्रवृत्तिका कारण यस क्षेत्रको सुधार हुन नसकेको बताए । नेपालमा वर्षेनि झाडापखाला, निमोनिया, श्वासप्रश्वाससम्बन्धी रोगबाट लाखौं मान्छे प्रताडित हुँदा पनि राज्यले उपचार पनि गर्न नसकेको टिप्पणी उनले गरे ।

यद्यपि कोभिडपछि भने सरकार विज्ञका कुरा सुन्दै केही गम्भीर भएको उनले बताए । ‘कोभिडले स्वास्थ्य प्रयोगशाला र अस्पतालको संख्या बढाएको छ,’ उनले भने, ‘सबैतिर भेन्टिलेटर, आईसीयू, अक्सिजन लगायत सुविधा पुगे जस्तो देखिएको छ ।’ शुरूमा कमजोर भए पनि स्वास्थ्य क्षेत्र सुधार हुँदै गएको उनको भनाइ छ । पहिले स्वास्थ्य क्षेत्रमा जस्तोसुकै समस्या देखिए पनि हतार नगर्ने प्रवृत्ति रहेकोमा प्रतिबद्ध भएर लागिपरे चाँडै पनि काम गर्न सकिन्छ भन्ने पुष्टि भएको उनले बताए । कोरोनाको दोस्रो चरणमा एक वर्षको अध्ययनबाट धेरै सिक्नुपर्ने भए पनि सरकारले समय लगाइरहेको उनको भनाइ छ । सरकारले अघिल्लो वर्षभन्दा चाँडो र सही निर्णय यस वर्ष गरे जनमानसमा त्रास फैलाउने गरी बोल्न नछाडेको उनको गुनासो छ ।

सरकारले कोरोना महामारीकै बीच पनि छोटो तयारीमा खोप कार्यक्रम प्रभावित हुन दिएन । थुप्रै पूर्वाधार १ वर्षमै तयार भए ।

स्वास्थ्य क्षेत्रमा आएको सुधारकै कारण कतिपय देशमा खोप अभियान शुरू नहुँदै नेपालमा माघदेखि नै खोप अभियान शुरू भइसकेको छ । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप खरीद गरेर स्थानीय तहमा उपलब्ध गराइरहेको छ । सबैलाई खोप लगाउने लक्ष्यका साथ मन्त्रालयले तयारी गरिरहेको बताएको छ ।

कोरोनाको दोस्रो चरणको जोखिम बढेपछि चैत दोस्रो साता प्रतिनिधिसभा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले संक्रामक महामारी भविष्यमा आउन सक्ने भन्दै उपचार र नियन्त्रणलाई ध्यानमा राखेर सुविधासम्पन्न संरचना बनाउन १८ बुँदे सुझाव दिएको थियो । निजी तथा सरकारी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने व्यवस्था मिलाउन र नियमित सञ्चालनमा राख्न, जनचेतना वृद्धि गर्न, आवश्यक जनशक्ति वृद्धि गर्न, स्वास्थ्य केन्द्र सञ्चालनको स्पष्ट नीति ल्याउन, संक्रामक रोगसम्बन्धी जाँच गर्न स्थायी परीक्षण केन्द्र बनाउन उपसमितिले सरकारलाई सुझाव दिएको थियो । ती सुझावका अधिकांशको काम अघि बढिसकेको स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्यालले बताए ।

नेपालको सार्वजनिक स्वास्थ्य तीन तहको भएकोमा १५ शय्यासम्मको अस्पताल स्थानीय तह, १५ देखि २ सयसम्म शय्या भएको अस्पताल प्रदेश र सोभन्दा बढी क्षमताका शय्या भएका अस्पताल संघअन्तर्गत सञ्चालनमा छन्, जसमा कुल ७८ हजार दक्ष जनशक्तिको खाँचो भएको प्रक्षेपण मन्त्रालयको छ । प्रक्षेपणअनुसारको यो जनशक्ति नेपालमा आवश्यकताभन्दा आधा मात्र हो । हाल नेपालमा उपलब्ध अस्पताल शय्याको क्षमता दोब्बर गर्नेगरी काम भइरहेको मन्त्रालयका सचिव अर्यालले बताए ।

अहिले सरकारले वार्षिक प्रतिव्यक्ति खर्च आवश्यकताभन्दा अत्यन्त न्यून गरिरहेकोमा नागरिकको स्वास्थ्यमा गर्ने खर्च बढाउनेगरी काम भइरहेको मन्त्रालयले बताएको छ ।

आगामी वर्षभित्र देशभरका बाँकी रहेका प्रत्येक जिल्लामा कम्तीमा २५ र ५० को सुविधायुक्त अस्पताल, प्रदेशमा २ सय शय्या क्षमताको अस्पताल र केन्द्रमा ५ सय शय्याको सरकारी अस्पताल निर्माण गर्ने लक्ष्य मन्त्रालयले लिएको छ । सरकारले चालू आर्थिक वर्षमा ४ सय आईसीयू बेड थपेको भन्दै सचिव अर्यालले करिब ४ हजार शय्या थप गर्नेगरी लगानी आवश्यक भएको प्रस्ताव सरकारलाई पठाइएको जानकारी दिए ।

वीर अस्पतालमा १ हजार शय्या थप, सबै प्रदेश र स्थानीय तहमा मुटु तथा प्रसूति अस्पताल, पूर्वाधार निर्माण, संक्रामक रोग नियन्त्रण केन्द्र, अस्पतालको ग्रेडिङ, स्वास्थ्य क्षेत्रमा काम गरिरहेका काउन्सिल तथा अनुसन्धान केन्द्रको मर्जिङ गर्ने लगायतको निर्णय गरी त्यसको तयारी गरिरहेको जानकारी अर्यालले दिए । साथै मेडिकलको रिपोर्ट बोक्न नपर्ने गरी एउटा अस्पतालमा इन्ट्री भएपछि सबै ठाउँबाट हेर्न मिल्ने सफ्टवेयरको निर्माण गर्ने तयारी पनि गरिरहेको उनले बताए ।

स्वास्थ्य क्षेत्रको सुधार मन्त्रालय एक्लैको पहलले हुन नसक्ने भन्दै उनले खानेकुराको मापदण्ड, सबै स्थानीय तहले पार्क निर्माण तथा वातावरणीय स्वच्छताको क्षेत्रमा काम गर्नुपर्ने बताए । स्वास्थ्यलाई असर गर्ने मदिरा तथा सुर्तीजन्य पदार्थको मूल्य खरीद गर्न नसक्ने गरी बढाउनुपर्नेमा जोड दिँदै उनले नीतिगत सुधारका क्षेत्रमा पनि काम गर्नुपर्ने औंल्याए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्