ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आशापूर्ण आगामी वर्ष

२०७७ बैशाख, १  
सम्पादकीय
Image Not Found

कोरोनाको त्रासमा बस्न बाध्य बनाएर तथा अर्थतन्त्रमा गम्भीर धक्का लगाएर नेपालको राष्ट्रिय संवत् २०७७ ले हामीबाट बिदा लियो । गतवर्ष राजनीतिक अन्योल र विवादमै बित्यो तर थप लगानीका दृष्टिले खासै उत्साहपूर्ण देखिएन । तर, यो नयाँ वर्ष भने पक्कै पनि सकारात्मक र आशाप्रद हुने अपेक्षा छ ।

गतवर्ष जस्तो मुलुक नै ठप्प पार्ने काम पक्कै पनि हु“दैन । त्यसैले अर्थतन्त्र र स्वास्थ्य दुवैमा सन्तुलन कायम गर्ने गरी नीति बन्न अपेक्षा छ ।

गतवर्ष आर्थिक दृष्टिले निकै कष्टकर रह्यो । कोभिड–१९ को महामारी रोक्न लगाइएको लामो समयको बन्दाबन्दी र निषेधाज्ञाले समग्र जीवन प्रभावित रह्यो । धेरैले यस अवधिमा आआफ्नो व्यवसाय बन्द गर्नुपर्‍यो, अत्यावश्यकबाहेकका उद्योग कलकारखाना पनि राम्ररी चल्न सकेनन् । पर्यटन व्यवसाय ठप्प रह्यो भने अध्ययनअध्यापन ठप्प हुँदा मुलुकको शैक्षिक प्रगति पनि निराशाजनक नै रह्यो । तर, वर्षको उत्तराद्र्धमा भने जनजीवन केही सामान्य बन्नुका साथै अर्थतन्त्र पनि चलायमान हुन थाल्यो । तर, कोरोनाले थलिएको अर्थतन्त्र र अन्य असरबाट मुलुक, औद्योगिक प्रतिष्ठान पुरानै अवस्थामा पुग्न भने अझै केही वर्ष नै पनि लाग्न सक्छ । तर पनि गतवर्षका पछिल्ला केही महीना भने आशाका संकेत दिन सफल रहे ।  

गत आवको पछिल्लो त्रैमास र चालू आवको पहिलो त्रैमासमा अर्थतन्त्र ऋणात्मक भई पहिलोपल्ट मुलुक मन्दीमा गयो । १२ लाख नेपालीलाई गरीबीतर्फ धकेकाले कोरोनाले १५ लाखभन्दा बढीको रोजगारी खोस्यो । रोजगारी नगुम्नेको पनि पारिश्रमिक कटौती भयो । यी सबैले गर्दा नागरिकको आय खुम्चन गई बजारमा माग घट्न गयो जसले गर्दा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आउन अझै सकेका छैनन् ।

कोरोनाका कारण अर्थतन्त्र प्रभावित हुँदा सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको छैन । त्यस्तै कोरोनका कारण परियोजनाका काम अगाडि बढ्न नसक्दा पूँजी गत खर्च पनि राम्ररी हुन सकेन । राष्ट्र बैंकको पछिल्लो वित्तीय विवरणले वित्तीय घाटा हुन सक्ने संकेत गरेको छ । एकातिर विकास निर्माणमा हुने खर्च निराशापूर्ण छ भने अर्कातिर चालू खर्च बढेको बढ्यै छ । यस्तोमा सरकारले चालू खर्चकै लागि पनि ऋण लिनुपर्ने हुन्छ ।

नेपालले लिएको ऋणका मात्रा बढ्दै गएको छ । ३ वर्षअघि जीडीपीको अनुपातमा ऋणको अंश २६ दशमलव ५ रहेकामा आगामी वर्ष ४७ दशमलव ९ प्रतिशत पुग्ने अनुमान विश्व बैंकले गरेको छ । तर, यसरी लिएको ऋणको सही उपयोग भने हुन सकिरहेको देखिँदैन । विश्व बैंकले नै नेपालको निर्यात क्षमता ९ अर्ब डलर रहेको बताएको छ जुन क्षमताको उपयोग १ प्रतिशतको हाराहारीमा मात्र भएको देखिन्छ । यस्तोमा नयाँ वर्षमा गतवर्षको भन्दा अर्थतन्त्र पक्कै पनि सकारात्मक हुन सक्छ ।

कोरोना महामारीकै बीच पनि नेपालको राजनीतिक अस्थिरताले चर्कै रूप लियो । सत्तारूढ दलको आन्तरिक किचलोका कारण अहिले सरकार र संसद् दुवै बन्दी बनेको अवस्था छ । सरकारसँग राजीनामा माग्ने तर समर्थन फिर्ता लिने वा अविश्वास प्रस्ताव पनि दर्ता नगर्ने राजनीतिक दलको प्रवृत्तिले समस्यालाई थप जटिल बनाएको छ । यही कारण लगानीकर्ताहरू पर्ख र हेरको स्थितिमा देखिएका छन् ।

२०७७ साल जस्तो भए पनि २०७८ साल पक्कै पनि निकै राम्रो होला भन्न सकिन्छ । १ वर्षमा कोरोनासम्बन्धी अनुभव प्राप्त भएको र स्वास्थ्य पूर्वाधार पनि बढी बनेकाले कोरोनाविरुद्धको अभियान विगतको भन्दा बढी प्रभावकारी हुने देखिन्छ । साथै, गतवर्ष जस्तो मुलुक नै ठप्प पार्ने काम पक्कै पनि हुँदैन । त्यसैले अर्थतन्त्र र स्वास्थ्य दुवैमा सन्तुलन कायम गर्ने गरी नीति बन्न अपेक्षा छ ।

सरकारले आगामी आवको बजेटमा एकातिर स्वास्थ्यमा लगानी बढाउनुपर्ने अवस्था छ भने अर्कातिर समस्यामा परेको अर्थतन्त्र उकास्नका लागि प्रोत्साहन र राहतमा थप लगानी गर्नुपर्ने देखिन्छ । यस्तोमा सरकार लोकरिझ्याइँको बजेटतिर लाग्नुभन्दा खर्चमा संयमित बन्न आवश्यक छ । यसरी अर्थतन्त्र र सामाजिक जीवनमा समेत यो वर्ष सुखद रहोस् भन्ने हामी कामना गर्दछौं । नयाँ वर्ष सबैका लागि मंगलमय र लाभदायी बनोस् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्