ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२५ करोड लिटर पानी हुँदा पनि चौबीसै घण्टा दिन सक्ने अवस्था छैन

२०७७ बैशाख, १  
अन्तरवार्ता
Image Not Found

काठमाडौं उपत्यकामा चैत १५ गतेदेखि मेलम्चीको पानी आइसकेको छ । दैनिक ४३ करोड लिटर पानी माग भएको काठमाडौं उपत्यकामा अहिले पुरानो वितरण प्रणाली र मेलम्चीको गरी दैनिक साढे १६ करोड लिटर पानी वितरण हुन्छ । मेलम्चीको पानी आइसकेपछि विभिन्न स्थानमा अधिक चुहावटको समस्या पनि देखियो । याङ्ग्री र लार्केबाट पनि पानी ल्याउने तयारी भइरहेका बेला मुख्य काम नै आएको पानी वितरण गर्ने, चुहावट भएका ठाउँमा मर्मतसम्भार लगायत व्यवस्थापनको जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले के कसरी काम गरिरहेको छ त ? प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर केयूकेएलका प्रमुख कार्यकारी अधिकृत ई. मिलनकुमार शाक्यसँग आर्थिक अभियानका हिमा वि.कले गरेको कुराकानीको सार :

अन्ततः मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण हुन थालिसकेको छ । उपभोक्ताबाट के कस्ता प्रतिक्रिया पाउनु भएको छ ?
मेलम्चीको पानी आइसकेपछि हामीले उपभोक्ताका घरघरमा रहेका धारामा पानीको निरीक्षण गरिरहेका छौं । त्यसक्रममा उपभोक्ता निकै खुशी भएको पाएका छौं । उहाँहरूमा ‘मेलम्चीको पानी आउने भन्ने कुरा सुन्ने मात्रै हो, पानी आउने होइन’ भन्ने खालको मानसिकताको विकास नै भइसकेको थियो । तर, यथार्थमा ढिलै भए पनि पानी आएपछि उपभोक्ता खुशी र सचेत भएको पाएका छौं । धेरै ग्राहकले पानी पर्याप्त मात्रामा भयो भन्दै यसलाई खेर फाल्नु हुँदैन भनेर धाराका टुटी बन्द गर्न थालेको पनि पाइयो । यो निकै सराहनीय र सकारात्मक कदम हो । किनभने एउटा धारामा आफूलाई पानी पुगिसकेपछि पानी बन्द गर्दा छिमेकमा पानी आउने वातावरण बन्नु हो । यसले गर्दा उकालो स्थानमा रहेका धारामा राम्ररी पानी आउने सम्भावना बढ्छ । समथर भूभागमा पानी आइनै हाल्छ । तर उकालो स्थानमा रहेका धारामा पानी चढ्न उपभोक्ताको यस्तो सहयोगले थप मद्दत मिल्छ ।
 
पानीको गुणस्तरबारे चाहिँ के भन्छन् उपभोक्ता ?
उपभोक्ताले अहिले पानी राम्रो आएको भनिरहेका छन् । विशेषगरी शहरी क्षेत्रहरू जहाँ घना बस्ती, ससाना गल्ली र ३०/४० वर्ष पुराना धाराका पाइप र सँगसँगै ढलको पाइप पनि छन्, त्यस्ता ठाउँमा भने अहिले समस्या होला । यद्यपि उपभोक्ता सचेत भएकाले त्यस्ता ठाउँमा पानीलाई घरेलु उपायबाट प्रशोधन गर्नुभएको छ । त्यसमा खासै गुनासो आएको छैन ।

मेलम्चीको पानी उपत्यकामा आइसकेपछि अहिले माग र आपूर्तिको अवस्था कस्तो छ ?
अहिले उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ । यसमा मेलम्चीको पानी आउनुपूर्वको दैनिक ८ करोड लिटर र अहिले मेलम्चीबाट थपिएको साढे ८ करोड लिटर गरी दैनिक साढे १६ करोड लिटर पानी वितरण भइरहेको छ । यस हिसाबले पनि पानी मागअनुसार अझै उपलब्ध गराउन सकिएको छैन । मेलम्चीको थप साढे ८ करोड आउँदा दैनिक २५ करोड लिटर पुग्छ । यसरी २५ करोड लिटर पानी हुँदा समेत चौबीसै घण्टा उपभोेक्तालाई पानी दिन सकिँदैन । हाम्रो भू–बनोट पनि खाल्डो, उकालो भएकाले पानी वितरण समान रूपमा गर्न सकिने अवस्था छैन । त्यसकारण अहिले पनि एउटा तालिकामै बसेर पानी वितरण गर्नुपर्ने बाध्यता छ । एक दिन वा दुई दिन बिराएर पानी पुर्‍याउने व्यवस्था गरिरहेका छौं । अब यसरी गरिरहँदा चैत १५ गतेपछिको अहिलेको अवस्थासम्म कतिपय ग्राहकले पानी आएको र बढी हुँदा बन्द गर्न थालिएको भन्ने प्रतिक्रिया दिनु हुन्छ भने कतिपय ग्राहकले कहिले पानी  आउँछ भनेर सोध्ने गरेको पाइएको छ । यसलाई व्यवस्थापन गर्न केयूकेएलका हरेक शाखाबाट र्‍यापिड रेस्पोन्स टीम फिल्डमा खटिएका छन् ।

यो टीमले कसरी काम गरिरहेको छ ?
मेलम्चीको पानी वितरणपछि ग्राहकका धारामा पानी आयो कि आएन, कुन स्थानमा बढी र कहाँ कम वितरण भइरहेको छ, भन्ने विषयमा सोही टीमले नै हेरिरहेको छ । त्यसकै आधारमा थप काम गर्न सकिएको छ । साथै यसलाई नै हेरेर पानी वितरणको व्यवस्थापन, समयतालिका बनाउने गरिएको छ । केयूकेएलका ९ ओटा शाखाबाट इन्जिनियरको नेतृत्वमा यस्तो टीम बनाइएको छ ।

मेलम्चीको पानी आउनुभन्दा पनि के कसरी पानी व्यवस्थापन हुँदै आएको थियो ?
डीप ट्युबवेल र नजिकका मुहानबाट आउने निकै कम पानी वितरण गरिएको थियो । त्यसबेला दैनिक ८ करोड लिटर पानी आपूर्ति हुन्थ्यो । अहिले भने कतिपय डीप ट्युबवेलबाट पानी नलिने अवस्थामा गइसकेका छौं । पहिलो त, मेलम्चीको पानी र डीप ट्युबवेलको पानी मिसाएर वितरण नगर्ने भन्ने किसिमले गइरहेका छौं । यद्यपि डीप ट्युबवेलहरू पनि संरक्षण गरेर राख्नुपर्ने अवस्था छ । किनभने कुनै पनि बेला यसको आवश्यकता पर्न सक्छ । कतिपय ठाउँ भने यसैबाट पानी दिनुपर्ने पनि छन् ।

उपत्यकामा खानेपानीको माग ४३ करोड लिटर भएसँगै मेलम्चीले मात्रै धान्न सक्ने अवस्था छैन । अन्य कुन कुन स्रोतबाट माग पूर्ति गर्ने तयारी छ ?
अहिले मेलम्ची र पुराना स्रोतबाट आउने पानीले माग पूरा हुने नै भएन । दैनिक ४३ करोड लिटर पानी चाहिन्छ भन्ने आकलनका बीच याङ्ग्री र लार्केबाट १७/१७ करोड लिटर गरी ३४ करोड लिटर पानी छिटो आइदियो भने उपभोक्तालाई सहज रूपमा वितरण गर्न सकिन्छ भन्ने हो । यसमा सरकारले पनि काम गर्न खोजेको बुझिएको छ ।

दोस्रो चरणमा याङ्ग्री र लार्केबाट उपत्यकामा पानी ल्याउने तयारी छ । यो पानी कुन–कुन क्षेत्रमा वितरण गर्ने योजना छ  ?
याङ्ग्री र लार्केको पानी ल्याउन मेलम्ची खानेपानी विकास समितिले प्रतिवेदनहरू पुनरवलोकन गरिरहेको जानकारी पाइएको छ । यी स्थानबाट ३ वर्षसम्ममा पानी ल्याइसक्ने योजना बनाइएको छ । यी स्थानबाट आउने पानी भने काठमाडौंको चक्रपथ बाहिरका क्षेत्रहरूमा वितरण गर्ने योजना बनाइएको छ । काठमाडौं उपत्यकाका सम्पूर्ण क्षेत्रमा पानी वितरणका लागि याङ्ग्री, लार्के, मेलम्ची र यहाँ भएका स्थानीय स्रोत पनि परिचालन गर्नुपर्ने हुन्छ । त्यो आइसकेपछि सबै क्षेत्रमा खानेपानीको सुविधा पुग्छ । याङ्ग्री, लार्केको पानी आउने सुरुङ मेलम्चीकै भएकाले सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा आउँछ । त्यहाँ अहिले १७ करोड लिटरको प्रशोधन केन्द्र बनेको छ । याङ्ग्री र लार्केबाट आउने पानी प्रशोधन गर्ने संरचना बनाउने पनि तयारी छ ।

मेलम्चीको पानी आएसँगै विभिन्न स्थानमा चुहावट अत्यधिक देखियो । पुराना पाइपलाइन छन् भन्ने यथार्थका बीच किन पूर्व तयारी गरिएन ?
अहिले पुरानो पाइपलाइनबाट पानी वितरण गरिएको छ । पाइपलाइनहरू कतिपय स्थानमा जीर्ण अवस्थामा छन् । जीर्ण स्थानबाट पानी चुहावट हुने नै भयो । त्यससँगै भूकम्पको बेलामा पनि पानीको पाइपलाइनका जडान धेरै बिग्रिएका थिए । कतिपय स्थानमा मर्मतसम्भार पनि गरिसकिएको छ । केही स्थानमा पानी पर्याप्त भइसकेपछि अहिले चुहावट देखिएको हो । जमीनमाथि पानी आएकाले कुन स्थानमा चुहावट छ भन्ने थाहा हुन्छ । त्यस्ता स्थानमा मर्मत गर्न पाउनु भनेको खेर गएको पानी जोगाउनु पनि हो । पाइपमा पानी पर्याप्त नहुँदा अलिअलि निस्केको पानी सतहमा देखिँदैनथ्यो । पुरानो पाइपलाइन १४ हजार किमी छ । मेलम्ची आयोजनाले नयाँ पाइपलाइन पनि परीक्षण गर्दै छ, यसपछि पुरानो छाडेर नयाँबाट वितरण गरिनेछ । काठमाडौं र ललितरपुरका धेरै स्थानमा नयाँ पाइपलाइन बिच्छ्याइएको छ । पानी १७ करोड लिटर आउँदा के गर्ने भन्ने तयारी भने १९ महीनाअघि गरिएको थियो । पुरानो प्रणालीबाट वितरण गर्दा के के चुनौती आउन सक्छन् भन्ने अध्ययन गरिएको थियो । त्यसैका आधारमा एकैपटक साढे ८ करोड लिटर पानी नल्याई किस्ता किस्तामा ल्याएका हौं । मेलम्ची खानेपानी वितरण तयारी समिति नै बनाइएको थियो । लिकेज हुन्छ भन्ने थाहा भएकाले नै योग्य निर्माण व्यवसायी, फिटिङ सामग्री र अनुगमन गर्न प्राविधिक तयारी अवस्थामा छन् । पुरानो पाइपलाइनबाट वितरण गर्दा चुहावट हुन्छ नै । यसलाई विस्थापित गरी नयाँ पाइपमा पानी वितरण गर्ने हो । नयाँ पाइपबाट वितरण हुँदा चुहावटमा कमी आउनेछ ।

निकट भविष्यमा थप साढे ८ करोड लिटर पानी उपत्यकामा आउँदै छ । अहिले भएको चुहावट रोक्न र त्यसका लागि थप आवश्यक पूर्वाधार बनाउने काममा के के हुँदै छ ?
मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयले बिछ्याएको नयाँ पाइप पनि परीक्षण गर्ने योजना छ । नयाँ पाइपलाइनमा पानी पठाएर परीक्षण गर्दै नयाँ धाराबाटै पानी दिन शुरू गरिसकेपछि अर्काे नयाँ पाइपलाइन राख्न जरुरत पर्दैन । तर, परीक्षण गर्न केही समय लाग्छ । पुरानैमा पानी चाहियो भन्ने माग पनि धेरै आएको छ । सबैले बुझ्नुपर्ने कुरा के हो भने नयाँ पाइपलाइनबाटै पानी वितरण गर्ने योजना भएकाले पुरानो पाइपलाइनमा धेरै खर्च गर्ने, लामा लामा पाइप लाइन बिछ्याउनेतर्फ जानु आवश्यक र उपयुक्त पनि छैन । ग्राहकले केही समय कुर्नुपर्छ ।

डीप ट्युबवेलबाट पानी निकाल्दा जमीनमुनिको पानी कम भयो भन्ने पनि छ । मेलम्ची आएपछि यसलाई विस्थापित गर्ने भन्नुभएको थियो । यसमा के गर्दै हुनुहुन्छ ?
डीप ट्युबवेलबाट पानी निकाल्न कम गर्नु भनेकै जमीन रिचार्ज हुने अवस्था सृजना गर्नु हो । अर्काे कुरा डीप ट्युबवेलको पानी ल्याएर मेलम्चीको पानीमा नमिसाऔं भन्ने नै हो । किनभने डीप ट्युबवेलको पानी प्रशोधन भएको छैन । दोस्रो कुरा, जमीन रिचार्ज हुन्छ भने डीप ट्युबवेलको पानी निकाल्न बन्द गरौं भन्नेमा छौं ।

नयाँ पाइपलाइन बिछ्याउँदा र ढलसँगै केही दूरीमा रहेका खानेपानीका पुराना पाइपलाइनको व्यवस्थापनमा सडक, बिजुली, खानेपानीका निकायहरूबीच कसरी समन्वय हुँदै छ ?
ढल र खानेपानी एउटै गल्ली, बाटोबाट निस्कने धेरै देखिएको छ । विशेषगरी पुराना बस्तीहरूमा साँघुरो बाटो हुने भएकाले त्यहीँ खानेपानी र ढलको लाइन हुने गर्छ । त्यसले गर्दा प्रदूषणको जोखिम पनि हुन्छ । यसबाट बच्न चुहावट भएका स्थान पत्ता लगाएर पाइप पर सारेर वा जाम भएको ढललाई निकास गरिदिएर समस्या समाधान भएको छ । कुन ठाउँमा कसरी मिश्रण भयो भन्ने पत्ता लगाउन भने गाह्रो छ । अहिले पनि चुहावट रोक्न सडक विभाग, ट्राफिक प्रहरीको सहयोगको आवश्यकता छ । चुहावट मर्मतको काम सडक विभागको स्वीकृति नभई गर्न मिल्दैन । यस्तो स्वीकृति छिटोछिटो गरिदिने विषयमा गत हप्ता सडक विभागसँग सहमति पनि भएको छ । मुख्यमुख्य सडकमा दिउँसोको समयमा काम गर्न समस्या हुँदा राति गर्नुपर्ने भएकाले ट्राफिक प्रहरीको सहयोग चाहिन्छ । दूरसञ्चार, विद्युत् प्राधिकरणले पनि काम गर्दा चुहावट भएको स्थानको सूचना दिनुपर्छ । यस्ता विषयमा केयूकेएलले सम्बन्धित निकायसँग छलफल गरिरहेको छ ।

खानेपानीको महशुल निर्धारणमा के कस्तो तयारी छ ?
अहिले १० हजार लिटर पानी खपत गर्दा उपभोक्ताले १००  रुपैयाँ महशुल बुझाउनुपर्छ । अब यो निकै कम हो । गुणस्तरीय सेवा दिन यो महशुल निकै कम हो । प्रशोधन प्लान्ट चलाउन खर्चिलो हुन्छ । अहिले ढलको पानी प्रशोधन गरेर नदीहरूमा छाड्ने भनिरहेका छौं । यसले गर्दा पनि महशुल पुनरवलोकन हुनुपर्छ भन्ने छ । पहिला उपभोक्तालाई पानी दिइहालौं भन्ने हो । यत्रो प्रतीक्षामा पानी पाउनासाथ महशुल बढाउनु व्यावहारिक देखिएन । पानी दिएर खुशी बनाएपछि नयाँ महशुल निर्धारण गरिनेछ । महशुल निर्धारण आयोगले सार्वजनिक सुनुवाइ गरेर महशुल निर्धारण गर्छ । हामीले भन्दा अहिलेको खर्च धान्ने होस् भन्ने हो । १० हजार लिटर पानी प्रशोधन गर्दा केयूकेएललाई रू. ३२० खर्च पर्छ । कतिसम्म गर्दा खर्च धान्न सकिन्छ भन्ने विषयलाई हेरेर निर्धारण गरिन्छ ।

केयूकेएलले आईपीओ पनि जारी गर्ने चर्चा छ । वास्तविकता के हो ?
केयूकेएल सार्वजनिक–निजी साझेदारीमा सञ्चालित कम्पनी हो । यसमा संघ, स्थानीय सरकार, निजीक्षेत्र शेयरधनीका रूपमा छन् । १५ प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्ने भन्ने प्रावधान छ । सर्वसाधारणमा शेयर जारी गर्न सकियो भने थप पूँजी प्राप्त हुन्छ । खानेपानी उपभोक्तासँग प्रत्यक्ष जोडिएको विषय भएकाले उहाँहरू शेयरधनीका रूपमा कम्पनीमा आउँदा त्यसपछि बन्ने नीति नियम उहाँहरूकै पक्षमा हुन्छ । कम्पनीमा भएको प्रावधानले छिटोभन्दा छिटो सर्वसाधारणलाई शेयरधनी बनाउनुपर्छ भन्ने योजना छ ।

प्रतिक्रिया [1]
User Image

BIPIN KAPALI

[Apr 16, 2021 07:42am]

पानी २४ घण्टा किन चाहियो । दिनको २ घण्टा वितरण गरेमा देशभर पुग्ने छ र खेर पनि जाँदैन ।


प्रतिक्रिया दिनुहोस्