ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पशुपालनका प्रेरणा–स्रोत बन्दै नराल दाजुभाइ

२०७८ बैशाख, २  
गण्डकी प्रदेश
NA

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङका दयानिधि र पुस्तक व्यवसायी वीरेन्द्र नराल दुई दाजुभाइ व्यावसायिक पशुपालनमा लागेका छन् । नरालले मल्टिपर्पोज प्रालिद्वारा सञ्चालित पशु तथा कृषि फार्म दर्ता गरेर गत साउनदेखि पाडा, बाख्रा र लोकल कुखुरा पाल्न थालेका हुन् ।

कोरोनाले लामो समय बेकामे भएर बस्नुपरेपछि दुई दाजुभाइ गत वर्षको चैतदेखि व्यावसायिक रूपमा पशुपालन लागेका हुन् ।

कोरोनाका कारण लगाइएको बन्दाबन्दी खुकुलो बन्दै गएपछि सुरुमा १ करोड लगानी गरेर व्यवसाय थालिएको पुस्तक व्यवसाय गर्दै आएका भाइ वीरेन्द्र नरालले बताए ।

हाल फार्ममा २० पाडा, १०० बाख्रा र ७०० लोकल जातको कुखुरा छन् । उनले भने, ‘वार्षिक १०० पाडा विक्री गर्ने लक्ष्य छ । भैंसीका पाडा, बाख्रा र कुखुरा स्थानीय स्तरका उत्पादन हुन्’, उनले भने, ‘स्थानीय खरी जातको बाख्रालाई बोयर जातको बोका क्रस गराउने उद्देश्यले बोयर बोका खरीद गरेर ल्याइएको छ ।’

आत्मनिर्भर बनेको अवस्थामा बन्दाबन्दी, बन्द, हडताललगायतको हुँदा पनि कुनै प्रभाव नपर्ने देखिएकाले पशु कृषि व्यवसायबाट केही गर्नुपर्छ भनेर यो पेसा सुरु गरेको नराल दाजुभाइ बताउँछन् ।

पाडा र बाख्रा विक्री गर्न केही समय लाग्ने भए पनि करिब डेढ लाख मूल्य बराबरको कुखुरा विक्री भइसकेको छ । फार्मबाट दैनिक एक खसी, बोका, दैनिक १० क्रेट अन्डा र दैनिक १० वटा कुखुरा विक्री गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको दाजु दयानिधि नरालको भनाइ छ ।

पशुपालनका लागि करिब ७५ रोपनी जग्गामा फार्म तथा घाँस लगाइएको उनले बताए । फार्म अवलोकनमा आउने कृषकलाई सुरक्षा अपनाएर टाढैबाट हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ ।

फार्ममा कार्यरत तीन जना कामदारले पनि चुना र स्यानिटाइजर प्रयोग गरेर मात्रै प्रवेश पाउने गरेका छन् ।

फार्ममा रहेका पाडालाई खोरेत, बाख्रालाई पीपीआर र कुखुरालाई रानीखेतविरुद्धको भ्याक्सिन वडा कार्यालयबाट उपलब्ध गराएपछि लगाइएको कृषकद्वय बताउँछन् । बन्दाबन्दीका कारण ज्याला मजदूरी गर्न जान नपाउँदा अधिकांशलाई बिहान–बेलुकाको हात मुख जोर्न पनि धौधौ भएका बेला यी दाजुभाइले सुरु गरेको व्यवसायलाई सबैले प्रशंसा गरेका छन् ।

जीविकोपार्जनका लागि स्वदेश वा विदेशमै रोजगारी नै गर्नुपर्दछ भन्ने मान्यतालाई चुनौती दिँदै आफैंले व्यावसायिक कृषि तथा पशुपालन गरी अरूलाई रोजगारी दिन सकिने हुँदा नयाँ पुस्ताको सोचमा परिवर्तन आउनु जरुरी रहेको नराल दाजुभाइको धारणा छ ।

राजनीतिलाई मर्यादित बनाउन पनि व्यावसायिक उद्यमशीलताको खाँचो रहेको वीरेन्द्रको भनाइ छ । तीनै तहका सरकारदेखि विभिन्न संघ–संस्थाहरूले कृषि र पशुपालनलाई उच्च प्राथमिकता दिएको अवस्थामा नराल दाजुभाइले जस्तै गाउँका अन्य युवा पनि विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्