ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पानीका मुहान सुकेपछि गाउँलेलाई सकस

२०७८ बैशाख, २  
गण्डकी प्रदेश
NA

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटालाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको सम्झना अझै छ । तर, अहिले त्यो कुवा सुक्खा छ । कुवामा अहिले एक थोपा पानी छैन ।     

जलवायु परिवर्तन, वनजंगल विनास र मानवीय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ । कतिपय खोला त मुहान सुकेर सुक्खा बनेका छन् । पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढदै गएको छ । खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ ।

वर्षौंदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कंदै गएको हो ।     

बर्खामा खानेपानीको समस्या खासै नहुने भए पनि सुक्खा मौसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय काकाकुल बन्ने अवस्था रहेको सापकोटाको भनाइ छ । ‘वर्षा पनि भएको छैन, पानीको मुहानको अभावले समस्या जटिल बन्दै छ’, उनले भने ।

तोरा खेतमा मात्रै होइन बेनपा– ६ थाकन पोखरी, मंगला गाउँपालिका–१ कुहुँ, बेनपा–१ अर्जमलगायत म्याग्दीमा दर्जनौं गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । मुहान सुक्न थालेपछि पानीका लागि घन्टौं टाढा धाउनुपर्ने बाध्यतामा स्थानीय छन् ।

अधिकांश बस्तीमा कुवाँ र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीय खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएका छन् ।

बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकाका विभिन्न बस्तीमा खानेपाने अभावले स्थानीय समस्यामा परेका हुन् । केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा पनि अप्राकृतिक समस्या देखिन थालेका वन तथा वातावरण क्षेत्रका जानकारले बताउँदै आएका छन् ।

खासगरी ०७२ को भूकम्पयता म्याग्दीको लेकाली क्षेत्रमा समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका जानकार नारायण शर्माले बताए ।     

त्यसैगरी गत वर्षको बाढीपहिरो र खडेरीले पनि मूल सुक्दै गएपछि यहाँ पानीको समस्या उत्पन्न भएको उहाँको भनाइ छ । ‘मूलहरू पुरिँदै गएका छन्, नयाँ स्रोत देखिएका छैनन्’, उनले भने, ‘जनसंख्या र कृषि कर्म गर्नेको संख्या बढ्दै जाने तर पानीका स्रोत सुक्दै जान थालेपछि पानीको समस्या उत्पन्न भएको हो ।’   

कालीगण्डकी, म्याग्दी नदी र रघुगंगाका जलाधार क्षेत्रमा मात्रै होइन, जिल्लाका अन्य ओसिला ठाउँमा रहेका सयौं पानीका मुहान सुकिसकेको स्थानीय तहका जनप्रतिनिधिले बताउँछन् ।

आधुनिक प्रविधि प्रयोग गरी पानीको वैकल्पिक व्यवस्था गर्न नसक्ने हो भने अबको केही वर्षपछि खानेपानीको हाहाकार उत्पन्न हुने उनीहरूको भनाइ छ । ‘खानेपानीको मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र होइन, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको छ’,  प्राविधिक भन्छन्, ‘वनजंगल विनास र अनियन्त्रित विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर पारेको छ ।’

डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका उनीहरूको भनाइ छ ।     

विकासको नाममा स्थानीय तहले डोजर आतंक मच्याएका छन् । सडक खन्ने नाममा प्राविधिक रिपोर्ट र वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन् । मेसिनले सडक खन्दा पानीका मुहान सुक्नुका साथै मजदुरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मारमा परेका छन् ।

‘जहाँ पानीका मूल र वन क्षेत्र छ, त्यही सडक लगेका छन् । यही गतिले सडक निर्माण गर्ने हो भने केही वर्षमा भू–क्षयको सम्भावना बढेको छ’, स्थानीय भन्छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्