ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पूर्वाधार निर्माणमा वर्ष २०७७ : निराशाबीच आशाको सञ्चार

२०७८ बैशाख, २  
समाचार
NA
author avatar हिमा वि.क.

मुलुकको आर्थिक समृद्धिको मेरुदण्ड पूर्वाधार विकासलाई मानिए पनि व्यवहारतः यसले आकार लिन पाएको छैन । मुलुकको मुहार फेर्न ठूल्ठूला पूर्वाधारलाई आयोजनाका रूपमा घोषणा गरियो ता कि त्यस्ता आयोजनामा काम अघि बढाउन कुनै बाधा नहोस् । राज्यको प्राथमिकतामा परेपछि समयमै सम्पन्न गर्न थप सहज होस् ।

तर, एउटा आयोजना सम्पन्न हुन कति समय कुर्नुपर्ने हो भन्ने उदाहरण अहिले राष्ट्रिय गौरवको आयोजनाकै रूपमा घोषणा भएको मेलम्चीलाई हेर्न सकिन्छ । ३ दशकअघि घोषणा भएको आयोजनाले अहिले ०७७ अन्तिममा आएर भए पनि खुसी दिएको छ भने पेन्डिङमै रहने ठूला पूर्वाधार आयोजनाको अवस्थामा क्रमभंगता ल्याइदिएको छ । यसले वर्षाैंदेखि काकाकुल बनिरहेको काठमाडौं उपत्यकाबासीको ओठमा मुस्कान दिएको छ ।

लामो समयदेखि घोषणामै सीमित हुँदा यस्ता आयोजनाको लागत बढ्नुका साथै जनताको पूर्वाधार पहुँचमा पनि ब्रेक लगाएको छ । कोरोना भाइरसका बीच पनि ०७७ मा पूर्वाधार क्षेत्रमा केही आशालाग्दा काम भएका छन् । त्यसमा मेलम्ची पानी उपत्यकामा आउनेदेखि नेपालकै पहिलो सडक सुरुङमार्गको काममा भएको ब्रेक थ्रु हुुन् । काठमाडौं उपत्यकालगायत मुलुकका अन्य भूभागमा पनि कालोपत्र तथा गुणस्तरीय सडक विस्तार भइरहेका छन् ।

नेपालमै आएको रेल पनि सञ्चालन हुन सकेको छैन भने लामो समयदेखि घोषणा भएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजनाको टेन्डर रद्द हुँदा नेपालमा भइरहेका कानुनी, नीतिगत तथा प्रशासनिक अव्यवस्था र फितलो पूर्वतयारीको अभ्यासलाई यसले उदांगो पारिदिएको छ । साइट क्लियर नगरी खुला प्रतिस्पर्धालाई वञ्चित गर्नेगरी सीमित व्यवसायीलाई टेन्डर दिने उद्देश्यले अर्बाैंको ठेक्का निकाल्ने परिपाटी यस घटनाबाट पुनः दोहोरिएको छ । पूर्वतयारी तथा आवश्यक जनशक्ति तयार नगरी रेल ल्याउँदा पार्किङमै थन्किनुपर्ने अवस्थामा छ ।

मेलम्चीले दिएको खुसी...
जनसंख्याको उच्च चाप खेपेको काठमाडौं उपत्यकामा खानेपानीको माग उच्च छ । सातामा पनि धारामा पानी नआउने समस्याबाट आजित उपत्यकाबासीलाई मेलम्चीको पानीले यो वर्षको अन्त्यतिर आउँदा भने खुसी दियो । मेलम्चीको पानी उपत्यकाबासीलाई ‘आकाशको फल...’ भएका बेला घोषणाको ३ दशकपछि भए पनि यही वर्ष पानी धारामा आयो । पानी वितरण पुरानै संरचनाबाट भए पनि अहिले काठमाडौंबासीका घरघरका धारामा पानी आएको छ । ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रतिबद्धता व्यक्त भएको थियो । त्यसपछि नियमित बजेट छुट्याउँदै  आव २०५५/५६ बाट मेलम्ची खानेपानी आयोजनाको काम सुरु भएको थियो । त्यसबेला २४ अर्ब रुपैयाँमा बन्ने भनिए पनि समयमै नबन्दा त्यसको लागत ११ अर्ब ५४ करोडले बढेर ३५ अर्ब ५५ करोड रुपैयाँ पुगेको महालेखापरीक्षकको ५७ औं प्रतिवेदनमा उल्लेख छ ।

कुल २६ किलोमिटरको सुरुङ परीक्षणका क्रममा १ जनाको ज्यान गयो भने एक जना अझै बेपत्ता छन् । असारमा दैनिक १७ करोड लिटर पानी वितरण गरिने भनिए पनि पहिलो चरणमा अहिले दैनिक साढे ८ करोड लिटर पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले वितरण गरेको छ ।

पहिलो सुरुङ मार्गमा ‘ब्रेक थ्रु’
कोरोना महामारीकै बीच नेपालका केही मुख्य पूर्वाधारमा काम नियमित रूपमा भयो । त्यसमा २२ अर्ब रुपैयाँ लगानीको नेपालको पहिलो सडक सुरुङ मार्ग (टनेल)को प्रवेशद्वार अर्थात् सुरुङ खन्ने काम शुरू भइसकेको छ । २०७६ को कात्तिकमा प्रधानमन्त्री केपी ओलीबाट सुरुङ मार्गको शिलान्यास भएको थियो । कोरोना महामारीकै समयमा बाह्य काम गरेर २०७७ पुस ७ गते सुरुङ खन्ने काममा ब्रेक थ्रु भएको छ । प्राथमिकता प्राप्त, लगानी सुनिश्चित भएको, राम्रो डिजाइन र निर्माण कम्पनी, साइट क्लियरजस्ता समस्या कम भएकाले नागढुंगा–नौबीसे सुरुङ मार्गले गति लिन सकेको हो । टनेल खन्ने काम १४ महीनाभित्रै सम्पन्न गर्ने तयारी छ । कुल ५ दशमलव ७ किलोमिटरको एप्रोच मार्गसहितको सडकमा सुरुङ मार्ग भने २ दशमलव ६८ किमी हुनेछ ।

चर्चामा रेल : ठेक्का रद्ददेखि रेल पार्किङसम्म
मुलुकभित्रकै सबैभन्दा ठूलो रेलमार्ग आयोजना पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको काँकडभिट्टा–इनरुवा खण्डको १०६ किलोमिटर ट्र्याकबेड निर्माण गरिएको ठेक्का नै रद्द हुन पुग्यो । २०७७ असारमा सरकारले ३ दिनकै अन्तरालमा यस खण्डका लागि २५ अर्ब रुपैयाँको दुईओटा टेन्डर आह्वान गरेको थियो । तर, ठेक्कामा मिलेमतो भएको भन्दै पुनरावेदन अदालतसम्म पुगेको विवादका कारण बाध्य भएर रेल विभागले ठेक्का नै रद्द गर्नु परेको थियो । रेल विभागले चालू आव २०७७/७८ का लागि कुल ८ अर्ब ६६ करोड रुपैयाँको बजेट पाए पनि रेलमार्ग निर्माणका लागि त्यसको झन्डै तीन गुणा बढीको टेन्डर आह्वान गरिनुले आशंका जन्माएको थियो ।

काठमाडौंका सडकमा सुधार
अत्यधिक यातायातको चाप रहेको काठमाडौं उपत्यकामा सवारी साधनको अनुपातमा सडकको उपलब्धता कम छ । सडक विस्तार नभइरहेका बेला यो वर्ष भने सुधार भए । वर्षाैंदेखि थलिएका मुख्य सडक कालोपत्रमा स्तरोन्नति भए । चावहिल, गौशाला, चुच्चेपाटी, पुतलीसडक, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर कलंकी थानकोट हुँदै नागढुंगासम्मका सडक स्तरोन्नति भए । धूलोरहित सडक बनाउने अभियानै शुरू गरियो । खाडल, कालोपत्र उप्किँदा, मर्मतसम्भार गर्नुपर्ने सडक नबन्दा गर्मीमा धुलाम्य र बर्खायाममा हिलाम्मे हुने सडक सुधारिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्