ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

संकटमा आन्तरिक पर्यटकको भरथेग

२०७८ बैशाख, २  
समाचार
NA
author avatar हिमा वि.क.

काठमाडौं । सन् २०२० को शुरूमै चीनमा देखिएको कोरोना भाइरस (कोभिड—१९)का कारण नेपाल तथा अन्य मुलुकमा बाह्य र आन्तरिक पर्यटकीय क्रियाकलाप बन्द भए । यसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा पनि व्यापक देखियो ।

अप्रिलदेखि डिसेम्बरसम्म नेपालमा आउने पर्यटकको संख्या २० हजारमा खुम्चियो । २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित भ्रमण वर्ष शुरू गरिएकमा गतवर्ष पर्यटक आगमन संख्या २ लाखमा खुम्चन पुग्यो । मुलुकको पर्यटन क्षेत्रका लागि विदेशी पर्यटक अनिवार्य नै भए पनि कोरोना विपद्का बीच आन्तरिक पर्यटकबाट भएको भरथेग उत्साहप्रद छ ।

होटेल एशोसिएशन नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाह गतवर्ष देखिएको संक्रमणले पर्यटन व्यवसायीहरू अत्तालिएको बताउँछन् । अहिले भने व्यवसायी, ग्राहक तथा पर्यटक यो अवस्थासँग अभ्यस्त भइसकेको बताउँदै शाह भन्छन्, ‘गृहकार्य धेरै गरिएको र यसबाट आत्मविश्वास पनि बढेको छ । आन्तरिक पर्यटकहरू पनि बढेका छन् ।’ विगत वर्षहरूको तुलनामा अहिले अवस्था दयनीय नै हो तर अहिले न्यूनतम कर्मचारीबाट काम लिइएको छ । जतिले काम गरेका छन् पारिश्रमिक दिन सक्ने अवस्थामा आइसकेको छ । त्यसैले केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ ।

कुनै पनि देशको पर्यटनको विकास गर्न आन्तरिक पर्यटन प्रर्वद्धन जरुरी छ । यसको योगदानलाई उपेक्षा गर्न मिल्दैन । पहिले नेपालीहरू पनि विदेश घुम्न जान्थे । तर, गतवर्षदेखि जान पाएनन् । यसले गर्दा आन्तरिक पर्यटन बढेको व्यवसायीहरूको ठम्याइ छ । अब यसलाई संस्थागत गर्न जरुरी रहेको शाह बताउँछन् ।

नेपाली पर्यटकको इच्छा, चाहना, कस्तो खानपिन रहनसहन खोज्छन् भन्नेमा पनि ध्यान दिन सक्नुपर्छ र यो अवसर पनि हो । कोरोना विपद्बीच पर्यटकीय गतिविधि चलायमान बनाएको आन्तरिक पर्यटकलाई अझ बढाउँदै संस्थागत गर्न मुख्य चुनौती रहेको व्यवसायी बताउँछन् ।

नयाँ वर्ष, विभिन्न पर्व तथा सेमिनारहरूका कारण प्रमुख पर्यटकीय गन्तव्यहरू पोखरा, चितवन, नगरकोटलगायतमा आन्तरिक पर्यटक उल्लेख्य रूपमा नै आउने गरेका छन् । हानका पोखरा च्याप्टरका अध्यक्ष विकल तुलाचनले अरू बेलाभन्दा पनि मंगलवार र बुधवार नयाँ वर्षको अवसर पारेर पर्यटकहरू आउँदा होटेलको अकुपेन्सी २५ प्रतिशतसम्म पुगेको बताए ।

अरू बेला यस्तो अकुपेन्सी औसतमा १० प्रतिशत हुने गरेको उनको भनाइ छ । ‘अहिले कोरोना भाइरसकै कारण अवस्था राम्रो छैन तर आन्तरिक पर्यटकको आगमनलाई सकारात्मक मान्नुपर्छ,’ उनले भने । अहिले विदेशी तथा भारतीय पर्यटकको उपस्थिति न्यून रहे पनि आन्तरिक पर्यटकबाट भरथेग भइरहेको उनको भनाइ छ ।

भैरहवामा भने आन्तरिक पर्यटक नै नभएको त्यहाँका व्यवसायी बताउँछन् । भैरहवाका होटेलहरू खाली नै भएको बताउँदै हान च्याप्टर भैरहवाका अध्यक्ष सीपी श्रेष्ठले भने, ‘यहाँ आन्तरिक पर्यटक आए पनि बस्दैनन् भने विशेषगरी भारत तथा अन्य बौद्धधर्म मान्ने देशहरूबाट पर्यटक नआउँदा यता व्यवसाय छैन ।’

नेपालका केही गन्तव्यहरूमा आन्तरिक पर्यटकको उपस्थिति राम्रो भए पनि यहाँ आउने वातावरण नै नभएको उनको भनाइ छ । ‘हामी कहाँ आउने भनेको एशियाली देशका बौद्धधर्मालम्बीहरू हुन्,’ उनले भने, ‘सीमाबाट गाडी आउन नदिएपछि यहाँ व्यापार तथा अकुपेन्सी छैन ।’

वसन्तऋतुले देखाएको आशा
२०२० को वसन्तुऋतुमा पर्यटक आगमनका लागि शून्य रह्यो । सगरमाथा आरोहणका लागि चर्चित यस सिजनमा २०२१ का लागि भने उत्साहप्रद नै रहेको छ । पर्यटन विभागको तथ्यांकअनुसार सोमवारसम्म विभिन्न हिमाल आरोहणका लागि ५३ दलबाट ४६५ जनाले स्वीकृति पाइसकेका छन् ।

कोरोना विपद्कै बीच पर्वतीय पर्यटन चलायमान भएको छ । हिमाल आरोहणबाट यही सिजनमै विभागले हालसम्म रू. ३८ करोड १२ लाख राजस्व संकलन गरिसकेको छ । सगरमाथा आरोहणको अनुमति जारी गर्दा सबैभन्दा धेरै रू. ३४ करोड ९२ लाख राजस्व संकलन भएको छ ।

सगरमाथा आरोहणका लागि मात्रै २९ दलबाट २७५ जनाले अनुमति पाएका छन् । यसमा ५८ जना महिलासहित २१७ जना पुरूषले पर्वतारोहण गर्ने अनुमति लिएका छन् । ६ हजार मिटरमाथिका ११ ओटा हिमाल तथा पीकहरू आरोहणका लागि विभागले अनुमतिपत्र जारी गरिसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्