ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विस्थापित हुने क्रममा चितवनका निजी हात्ती 

२०७८ बैशाख, २  
वाग्मती प्रदेश
Image Not Found

वैशाख २, चितवन । जंगल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना संक्रमणका कारण काम नपाएपछि हात्ती धनीले भाडाका हात्ती फिर्ता र विक्रीसमेत गर्न थालेको जानकारी दिइएको छ ।

हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारीमा दुई वर्ष अघिसम्म ६७ हात्ती रहेकामा हाल यो संख्या घटेर ३५ मा झरेको छ । संस्थाका पूर्वअध्यक्षसमेत रहेका क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराई हात्ती पाल्न मुस्किल भएको बताउँछन् । सरकारी तवरबाट कुनै किसिमको सहयोग नभएपछि हात्ती विस्थापित हुन थालेको उनको भनाइ छ ।

दैनिक दुई क्विन्टलभन्दा बढी खाद्यान्न आवश्यक पर्ने हात्ती पाल्न मासिक रू. एक लाखभन्दा बढी खर्च हुने व्यवसायी बताउँछन् । भारतबाट भाडामा ल्याएकामध्ये तीनओटा हात्ती मात्र यहाँ बाँकी रहेको बताइएको छ । व्यवसायीले यकिन तथ्यांक नदिए पनि सौराहामा रहेका हात्ती एउटाको रू. ८० लाखदेखि एक करोडसम्ममा विक्री हुने गरेको छ । ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ । 

संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको व्यापारसम्बन्धी महासन्धि (साइटिस)ले हात्तीलाई अनुसूची १ मा राखेको छ । व्यापारका कारणले अझै खतरामा पर्ने हुँदा अनुसूची १ मा परेका जीव जनावरलाई व्यापार वा ओसारपसार गर्न पाइँदैन । त्यसैकारण यहाँका व्यवसायीले हात्ती विक्री गरेको स्वीकार गर्दैनन् । 

युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारीका अनुसार पर्यटक नआउँदा हात्ती पाल्न कठिन भएको हो । पाल्नै नसकेर हात्ती जिल्लाबाट विस्थापित भएको उनको भनाइ छ । भारत सरकारले निजी क्षेत्रलाई हात्ती पाल्न अनुमति दिएर सहयोग गरेको भए पनि नेपालमा सहयोग नपाउँदा हात्ती विस्थापित भएको उनले बताए । उनले भने, ‘बीमा र चरिचरनमा सरकारले सहयोग गरे हात्ती विस्थापित हुँदैन ।’

कुहिएर खेर जाने घाँससमेत सरकारले नदिँदा हात्ती पाल्न मुस्किल भएको तिवारीले गुनासो गरे । पर्यटन प्रवर्द्धनका हरेक गतिविधिमा प्रयोग हुने हात्ती पर्यटकलाई चढाएर ठूलो मात्रामा राजस्वसमेत संकलन भएको व्यवसायी बताउँछन् । 

तिवारीका अनुसार हात्ती पाल्न मुस्किल भएपछि विस्थापित हुनबाट रोक्न सहयोग पुर्‍याउन वनमन्त्री, सचिव, निकुञ्ज विभागका महानिर्देशकलगायतका उच्च अधिकारीसँग हारगुहार गरिएको भए पनि सुनुवाइ भएको छैन ।

सौराहामा युनाइटेड हात्तीमा आबद्धबाहेक सपना भिलेजका आठ र ओम रिजालका आठ वटा हात्ती सञ्चालनमा रहेका छन् । विस्थापित भएका हात्ती बूढा र अशक्त खालका भए पनि बाँकी रहेका हात्ती वयस्क र टाठा भएकाले सफारी र खेलकूदमा कुनै समस्या नहुने व्यवसायी बताउँछन् ।

पशु अधिकारकर्मीले उठाएका सवाललाई मनन गर्दै सौराहामा हात्तीलाई हेरेर रमाउनका लागि हात्ती सेन्चुरी बनाउने तयारी गरिएको छ । सरकारी निकायबाट जग्गा प्राप्त भएमा निजी क्षेत्र काम गर्न तयार रहेको तिवारीले जानकारी दिए ।

क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरे हात्ती व्यवस्थापनका विषयमा दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने बताउँछन् । युरोपका मुलुकबाट आउने पर्यटक हात्ती चढ्न नै चाहँदैनन् । नेपाली, भारतीय र चीनका पर्यटक मात्रै हात्ती सफारी भनेपछि हुरुक्क हुने गर्दछन् । तत्कालका लागि निकुञ्ज आडमा निजी हात्तीका लागि चरनको व्यवस्था भए व्यवसायीलाई धेरै राहत हुने र हात्ती विस्थापन कम हुने घिमिरेको बुझाइ छ ।  

हात्ती सफारी निकुञ्ज घुम्न आउने पर्यटकका लागि मुख्य गतिविधि हो । यहाँ आउने अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्न जान्छन् । हात्तीमा नै चढेर बाघ, गैँडा, मृग, हरिण, बँदेलजस्ता जनावारसँगै चराचुरुंगी हेरेर रमाउने गरेको घिमिरेको भनाइ छ । गत वर्ष कोरोना संक्रमणका बेला केही समय राप्ती किनारमा हात्तीका लागि निकुञ्जले घाँस काट्न दिएको भए पनि पछि रोक लगाएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्