ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

व्यवस्थित आन्तरिक पर्यटनको समय

२०७८ बैशाख, ३  
सम्पादकीय
Image Not Found

विश्वव्यापी कोरोना महामारीका कारण विश्व पर्यटन नै सुस्ताएको अवस्थामा नेपाल पनि अछुतो रहेन । तर, बन्दाबन्दी र निषेधाज्ञा हटेसँगै आन्तरिक पर्यटकबाट नै नेपालको पर्यटनले गति लिन थाल्यो । तर, यसले व्यवसायलाई भरथेग मिले पनि दिगो र व्यवस्थित बनाउन पर्यटन व्यवसायीले रणनीतिक रूपमा कार्यक्रम ल्याउन खोजेको देखिँदैन ।

अब पर्यटन व्यवसायीले बाह्य पर्यटकलाई जत्तिकै स्वदेशी पर्यटकलाई पनि सम्मान दिनुपर्छ र त्यसैअनुसारका प्याकेज तयार पार्नुपर्छ ।

नेपाली पर्यटन बजारको मूल आधार विदेशी पर्यटक नै हुन् । तर, स्वदेशी विमान सेवाको यूरोप आदि देशमा उडान बन्द हुनु, माओवादी सशस्त्र द्वन्द्व चर्कनु तथा व्यवसायीहरू बीच अस्वस्थ प्रतिस्पर्धा भई जति सकिन्छ लिइहालूँ भन्ने सोच हाबी हुनुजस्ता कारण गुणस्तरीय पर्यटकको आगमन घट्दै गयो । फलतः संख्या बढेर पनि त्यसबाट कुल गार्हस्थ्य उत्पादनमा मिलेको योगदान अपेक्षाकृत बढ्न सकेन । त्यसैले जस्तो पाइन्छ त्यस्तै ग्राहकमा चित्त बुझाउने प्रवृत्ति देखापर्न थालेको मात्र होइन, यस्तै खाले पर्यटक तानातान हुँदा पर्यटन क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धासमेत हुन थाल्यो । नेपालीहरूस“ग खर्च गर्ने क्षमता भए पनि आन्तरिक पर्यटनका लागि व्यवसायीहरूले यो बजार बनाउनतिर लागेनन्, उल्टै उपेक्षा गरिरहे ।

नेपालीहरूको आयस्तरमा सुधार आउनु, विप्रेषणका कारण चलायमान अर्थतन्त्रबाट केही व्यक्तिहरूको आर्थिक हैसियत वृद्धि हुनु तथा भ्रमणका लागि नयाँ पुस्ता आकर्षित हुनु जस्ता कारणले नेपालीहरू राम्रैसँग खर्च गर्ने गरी आन्तरिक भ्रमणमा निस्कन थालेका छन् । तर, व्यवसायीहरूले यो वर्गलाई लक्षित गरी प्याकेज ल्याउन नसकेकै हुन् । अहिले कोरोनाका कारण बाह्य पर्यटक आगमन नभए पनि लामो समय बन्दाबन्दीमा बिताएका नेपालीहरूले देशका महŒवपूर्ण गन्तव्यहरूमा जान रुचाएकाले व्यवसायीहरूले राम्रै राहत पाएका छन् । खर्च कटौती गरेर नेपालीहरूलाई आतिथ्य दिँदा केही मुनाफासमेत कमाउन सफल भएको अनुमान छ । तर, यसलाई दिगो बनाउन अझै सरकार र व्यवसायीहरू गम्भीर भएको भने देखिँदैन ।

पछिल्लो समय नेपालबाट विदेश घुम्न जानेको संख्या उल्लेख्य बढ्न थालेको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि भ्रमण व्यय शीर्षकमा खर्च बढ्दै गएको देखाएको थियो । तर, गत आव र चालू आवमा समेत यो शीर्षकमा खर्च निकै घटेको छ । अर्थात् नेपालीहरू विदेश जान पाएका छैनन् । यही विदेश घुम्न जाने वर्ग अहिले नेपालको भ्रमणमा निस्किएको पाइन्छ । पहिला स्वदेश अनि विदेशको नारा ल्याए पनि त्यसअनुसार नेपालीहरूलाई लक्षित गरी आकर्षक प्याकेज भने कसैले ल्याएका थिएनन् । अहिले बाध्यताका कारण ल्याइएको यस्तो प्याकेजले व्यवसायीहरूलाई उत्साहित बनाएको छ । नेपालमा त्यतिबेला चलिरहेको हिंसात्मक आन्दोलनको अन्तिम चरणतिर पनि आन्तरिक पर्यटनबाट व्यवसायीहरू उत्साहित थिए । त्यो उत्साहअनुसार यसलाई बजार रणनीतिको अंश बनाउन भने उनीहरूले चासो दिएनन् ।

त्यसयता नेपालीहरूको भ्रमणको चाहना निकै बढेको छ । आफ्नो आम्दानीको ९० प्रतिशतभन्दा बढी अंश नेपालीहरूले उपभोगमा खर्च गरिरहेका छन् । यसले नेपालीहरूको सोच र जीवनशैलीमै परिवर्तन आइरहेको पुष्टि हुन्छ । अहिले खासगरी युवा पुस्ता साहसिक पर्यटनमा रमाउन थालेको छ । नवीनतामा खोजीमा उनीहरू विभिन्न दुर्गम ठाउँमा पुगिरहेका छन् । यसबाट आन्तरिक पर्यटनमा ठूलै परिवर्तन आउने सम्भावना देखिन्छ । कोरोना विपद् शुरू हुनुअघि पोखरा र सौराहा जस्ता ठाउँमा ७० प्रतिशत आन्तरिक पर्यटक हुने गरेको व्यवसायीको भनाइले पनि यसको सम्भावनालाई उजागर गर्छ ।

अब पर्यटन व्यवसायीले बाह्य पर्यटकलाई जत्तिकै स्वदेशी पर्यटकलाई पनि सम्मान दिनुपर्छ र त्यसैअनुसारका प्याकेज तयार पार्नुपर्छ । यसका लागि उनीहरूले केही थप लगानी गर्नुपर्ने पनि हुन सक्छ । उदाहरणका लागि हरिया केटाकेटीलाई नेपाली ग्रामीण जनजीवन सिकाउने खालको प्रडक्ट हुन सक्छ । अर्को पूर्वाधार राम्रो हुनुपर्छ । सडक वा हवाइ जहाजको सेवा प्रतिस्पर्धी हुनुपर्छ । त्यसो भए पूरै परिवार भ्रमणमा जाने वातावरण बन्न सक्छ । त्यस्तै भ्रमण बिदा आदिको व्यवस्था पनि गरिनुपर्छ । यसरी आन्तरिक पर्यटनलाई दिगो र व्यवस्थित बनाउनेतर्फ व्यवसायी तथा सरकारको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्