ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विद्युत् आयात निर्यातमा सहजता

२०७८ बैशाख, ५  
सम्पादकीय
Image Not Found

नेपालको विद्युत् उत्पादन बढ्दै जाँदा भारतीय बजारमा यसको विक्रीका लागि केही सहज वातावरण बन्दै जान थालेको छ । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले भारतको खुला बजार अर्थात् विद्युत् एक्सचेन्जबाट विद्युत् किन्न पाउने गरी यसको सदस्य बन्न पाएको छ । यसले विद्युत् किन्नका लागि सहज बनाएको छ तर यसैमार्फत आगामी दिनमा विक्रीका लागि पनि बाटो खुलाउन सकिन्छ ।

भारतले त्यति बेलामात्रै नेपालसँग विद्युत् किन्छ जतिबेला नेपालको विद्युत् मूल्य प्रतिस्पर्धी हुन्छ । जग्गा अधिग्रहणका झमेलालगायतले नेपालको विद्युत् नै महँगो छ ।

प्राधिकरण भारतीय विद्युत् एक्सचेन्जको सदस्य बन्नु विद्युत् किनबेचका लागि महत्त्वपूर्ण हो । तर, यो मात्रै पर्याप्त हुने देखिँदैन । नेपालले विद्युत् निर्यातको सपना देखेको दशकौं बितिसकेको छ । भारतमा मात्र होइन, बंगलादेशसँग समेत विद्युत् विक्रीका लागि पहल गरिरहेको छ र उसले यसका लागि सहमतिसमेत जनाइसकेको अवस्था छ । भारतसँग विद्युत् किनबेचका लागि पटकपटक गरी खुकुलो बनाइँदै छ । किनबेचका लागि भइरहेका पहल सकारात्मक देखिए पनि तिनको गति भने निकै सुस्त छ । यसो हुनुमा नेपालले पर्याप्त तयारी नगरी वार्तामा बस्नु र भारतीय पक्षले कुनै नयाँ विषय उठाएपछि त्यसको विषयमा निर्णय दिन नसक्नु एउटा प्रमुख कारण हो । भारतले नेपालप्रति जति आत्मीयता देखाए पनि व्यवहारतः ऊ आफ्नो स्वार्थबाट एक इन्च पनि तलमाथि गर्ने गरेको छैन । यसो गर्नु उसका दृष्टिबाट सही नै होला तर त्यसैअनुसार नेपालले आफ्नो रणनीति बनाएर उसलाई विश्वस्त पार्न नसकेको देखिन्छ । तैपनि पछिल्ला समय भारतले नेपालको केही चासोलाई सम्बोधन गर्न थालेको देखिन्छ । विद्युत् किनबेचमा भइरहेका प्रगति नै यसको उदाहरण हो । अब नेपालले विद्युत् विक्रीका लागि पनि यो एक्सचेजमार्फत पहल बढाउन आवश्यक छ ।

अहिलेको अवस्थामा भारतले विद्युत् किन्न सहमति दिए पनि त्यसका लागि नेपाल तयार भएको अनुभूति हुँदैन । पहिलो त नेपालले कहिलेसम्म कति परिमाणमा विद्युत् विक्री गर्न सक्छ भन्ने कुनै फ्रेमवर्क देखिँदैन । अर्को, अहिले वर्षायाममा रातको समयमा विद्युत् खेर गइरहेको छ भने बढी माग भएको समयमा भारतबाट आयात गर्नुपर्ने बाध्यता अझै केही वर्ष हट्ने सम्भावना देखिँदैन । बजार नहुँदा ठूला विदेशी लगानीकर्ता हिचकिचाएको अवस्था पनि छ । बजार सुनिश्चित भए ठूलो लगानी भित्रिने सम्भावना नभएको होइन । तर, भारतले आफ्नो रणनीतिक स्वार्थ बाझिने मुलुकको लगानीबाट उत्पादित बिजुली नकिन्ने नीति नै बनाएको छ । यस्तोमा भारतलाई विश्वासमा लिएर बजारको सुनिश्चिता खोज्नु आवश्यक छ ।

विद्युत् प्राधिकरण विद्युत् विक्रीका लागि प्राविधिक, व्यवस्थापकीय र प्रतिस्पर्धी क्षमताका आधारमा अपरिपक्व छ । यसको उदाहरण केही समयअघि भारतको दिल्लीस्थित डीआरपीएल नामको वितरण कम्पनीले आह्वान गरेको ठेक्कामा बढी मूल्यकै कारण प्राधिकरण पहिलो चरणमै बाहिरिएको थियो । २५ मेगावाट विद्युत् आपूर्तिका लागि उसले कबोलेको मूल्य निकै बढी भएकाले बाहिरिन परेको बताइन्छ । नेपालले कति मूल्यमा भारतीय कम्पनीलाई विद्युत् बेच्न सक्छ भन्ने कुनै अध्ययन भएको छैन । नेपाल भारतलाई विद्युत् बेचेर उन्नतितर्फ लागेको भुटानबाट लोभिएको देखिन्छ । तर, भुटानले कति मूल्यमा भारतलाई बिजुली बेचेको छ, उसको लागत कति छ भन्नेमा समेत अध्ययन गरेको पाइँदैन । भारतले त्यति बेलामात्रै नेपालस“ग विद्युत् किन्छ जतिबेला नेपालको विद्युत् मूल्य प्रतिस्पर्धी हुन्छ । जग्गा अधिग्रहणका झमेलालगायत नेपालको विद्युत् नै महँगो छ ।

भारतले सौर्य ऊर्जामा ठूलो लगानी गरेको छ । २०२२ सम्ममा उसले १७५ गिगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ जुन २०३० सम्ममा ४५० गिगावाट पुर्‍याइनेछ । जलविद्युत्भन्दा सौर्य ऊर्जाको लागत सस्तो पर्छ र यसमा प्रविधिको सुधार हुँदै जाँदा स्टोर गर्न पनि सस्तो हुँदै जाने देखिन्छ । त्यसैले नेपालले मूल्यमा थप प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । नेपालले निर्यातका लागि ढिला गरे भारतीय बजारले विकल्प खोजी सक्ने हुँदा त्यसैअनुसार अघि बढ्न ढिला गर्नु हुँदैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्