ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पूँजी बजार विकासको आगामी यात्रा

अन्तरराष्ट्रिय पँहुच र आबद्धता

२०७८ बैशाख, ५  
लेख | दृष्टिकोण
Image Not Found

नेपालको पूँजीबजार विकासक्रममा वर्ष २०७७ अपेक्षित उपलब्धिका दृष्टिकोणले औसत रहन गएको छ । सूचक र कारोबारहरूले उच्चतम अंक बनाए पनि अन्तरराष्ट्रिय अभ्यासको हैसियतमा बजार विकासक्रमको प्रक्रियाले भने धेरै उपलब्धि प्राप्त गर्न बाँकी रहेको देखिन्छ । धितोपत्र विनिमयमा प्रविधिको प्रयोगले कारोबारहरू अनलाइनबाट सुचारु भए पनि कमजोर प्रणालीको कारण त्यो दोषमुक्त छैन । बजारमा संख्यात्मक रूपमा धेरै लगानीकर्ता भित्रिए पनि तिनीहरूको बजारमा सहज पँहुचका लागि अपेक्षाकृतरूपमा कामहरू भएको देखिँदैन । वर्ष २०७७ नेपालको पूँजी बजारको इतिहासमा सकारात्मक मात्र होइन, कोभिडका–१९ कारण देखाई ५० दिनसम्म निरन्तर बजार बन्द गराउनेजस्ता प्रतिगामी कार्यहरूले समेत रेकर्ड बनाएको थियो । बजार खुलेपछि पनि पूर्ववत् रूपमा पुनः सञ्चालन गर्ने कार्यमा कोभिड–१९ नै बाधक देखाइयो । कुल बजार पूँजीकरण कुल गार्हस्थ्य उत्पादनको हाराहारीमा पुगेको छ । तर, नेपालको अर्थतन्त्रको ऐनाका रूपमा पूँजी बजारका सूचकहरूले अर्थतन्त्रसँग सापेक्षिक सम्बन्ध रहेको पुष्टि गर्दैन । विश्व पूँजी बजारको तुलनामा नेपालको बजारमा भइरहेको प्रविधिको प्रयोग, बजारको संरचना र आकार, औजार एवं उपकरणहरूको प्रयोग, बजारमा समेटिएका क्षेत्रहरू र रणनीतिक सुधारलगायत कुरामा धेरै पछाडि देखिन्छ । प्रविधिको प्रयोगमा भारतको मुम्बई स्टक एक्सचेन्जले सन् २०१५ कारोबारको गति प्रतिसेकेन्ड ६० लाखको एकाइमा पुग्ने गरी विकास गरिसकेको छ, जुन विश्वभरमा दास्रो बजारमा प्रयोग गरिएको सर्वाधिक उच्चतम गतिको प्रणाली हो ।

विश्व पूँजी बजारको तुलनामा नेपालको बजारमा भइरहेको प्रविधिको प्रयोग, बजारको संरचना र आकार, औजार एवं उपकरणहरूको प्रयोगलगायत कुरामा धेरै पछाडि देखिन्छ ।

नेपालको सन्दर्भमा प्राथमिक निष्कासनदेखि दोस्रो बजारसम्मका प्रणालीहरू निश्चित संख्याभन्दा बढी लगानीकर्ताले एकैपटक लगइन गरेमा प्रक्रिया नै अवरुद्ध हुने प्रकृतिका छन् । विश्वभर अन्तरराष्ट्रिय मुद्राहरूको दर, बहुउपयोगी र बहुमूल्य वस्तुको मूल्य एवं विभिन्न प्रकारका कोषहरूलाई उपकरणका रूपमा रूपान्तरण गरी एकआपसमा विनिमय र धितोपत्रसरह कारोबार गर्ने कामहरूसमेत धितोपत्र बजारको कार्यक्षेत्रमा समेटिएको देखिन्छ । भारतको बजारमा इक्वीटीको कारोबारसँगै मुद्रा, बन्ड, एक्सचेन्ज अफर, म्युचुअल फन्ड, इन्डेक्स फन्ड र विनिमयको हस्तान्तरण कारोबारको उल्लेख्य हुने गरेको छ । यससँगै कारोबारहरू उच्च गतिमा हुने भएकाले लगानीकर्ताको पोर्टफोलियो र बजारको आकार बहुविशिष्टीकृत बनेको छ । नेपालको सन्दर्भमा बजारको संरचना र आकारलाई बहुगत विधामा लैजाने ध्येयले उल्लिखित प्रकारका डेरिभेटिभ्स सेग्मेन्टहरूको कारोबार हुने गरेको छैन ।

बजार पूँजीकरण र कुल गार्हस्थ्य उत्पादनको अनुपात समान र नेपालको वार्षिक बजेटको आकारमा करीब २ दशमलव ५ गुणा ठूलो भइसकेको छ । आज पनि पूँजी बजारमा दुई तिहाइभन्दा बढीको प्रभाव र दबाब बैंक तथा वित्तीय क्षेत्रको रहेको छ । मुलुकको अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा भने त्यो क्षेत्रको प्रभाव नगण्य छ । कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्ने पूँजी बजारमा सूचीकृत अन्य सबै क्षेत्रकोे अंश पनि करीब ५ प्रतिशतमा सीमित हुने देखिन्छ । सापेक्ष अर्थतन्त्रको आधारका रूपमा पूँजी बजारले आफ्नो दिशानिर्दिष्ट गर्न नसकेका कारण अर्थतन्त्र र पूँजी बजारको सम्बन्ध सापेक्ष रहेको पुष्टि हुँदैन । वास्तविक क्षेत्र, उत्पादनमूलक कम्पनीहरू र सेवाक्षेत्रलाई यो प्लेटफर्ममा विभिन्न सहुलियत वा प्रोत्साहनका साथ ल्याउनुपर्ने आवश्यकता देखिन्छ । भारतको बजार पूँजी करणमा बैंक तथा वित्तीय क्षेत्रको योगदान २३ प्रतिशत रहेको देखिन्छ भने कुल गार्हस्थ्य उत्पादनमा बैंक, वित्तीय क्षेत्र, रियल इस्टेट र प्रोफेशनल क्षेत्रको संयुक्त योगदान २१ प्रतिशत हाराहारीमा रहेको पाइन्छ ।

नेपालको पूँजी बजारमा आज पनि सीमित समूहको उद्देश्य परिपूर्तिका विभिन्न प्रकारले प्रभाव पार्ने कामहरू भइरहेको पाइन्छ । त्यस्ता काममध्ये भित्री कारोबार एवं मूल्य कार्टेलिङलगायत बजारलाई परोक्ष रूपमा प्रभावित पार्ने प्रयासहरू निरन्तर भइरहेको छ । गलत उद्देश्यले कारोबार गर्नेहरू उपर कारबाही गरिपाऊँ भनी प्रहरी प्रशासनमा जाहेरी दिनुपर्ने बाध्यता सृजना हुनुमा धितोपत्र बोर्डको भूमिकामा प्रश्न गर्ने अवस्था हो । त्यसैगरी सधैंजस्तो विभिन्न सञ्चारमाध्यममा सूचीकृत कम्पनीका सीईओहरू समेत अन्तर्वार्तासहित आफू सम्बद्ध कम्पनीको मूल्यको प्रक्षेपण गरिरहेका हुन्छन् । धितोपत्र बजारमा परोक्ष प्रभाव पार्ने यस्ता कार्य कानूनी दायरामा ल्याउने काममा सम्बद्ध निकायको चासो पटक्कै देखिँदैन । यस्ता कार्यहरूले सर्वसाधारण लगानीकर्ताको सहज पहुँच र उचित मूल्यमा किनबेच गर्न सक्ने अवस्थाको सुनिश्चितता हुन सकेको छैन । विश्वभरको अभ्यासमा पछिल्लो समय साना लगानीकर्तालाई प्राथमिकता दिने गरी विभिन्न काम हुन थालेका छन् । यसअन्तर्गत कारोबारको प्लेटफर्मलाई समेत वर्गीकृत र विशिष्टीकृत गरी लगानीकर्ताको प्रत्यक्ष पँहुच स्थापित हुने कार्यहरू हुने गरेका छन् । यसले गर्दा नियामक निकायले स्वार्थगत रूपमा बजारलाई प्रभाव पार्ने कार्यहरूको नियमन गर्न सजिलो भइरहेको छ । भारतमा साना तथा मझौला कम्पनीहरूको कारोबार गर्ने प्रयोजनले एसएमई प्लेटफर्ममार्फत सन् २०१२ मा नै कारोबार शुरू भइसकेको छ । यस अभ्यासलाई नेपालले पनि अवलम्बन गर्न आवश्यक छ ।

विभिन्न मुलुकमा धितोपत्र विनिमय क्षेत्रको विकासका लागि दीर्घकालीन नीतिहरू बनाई विश्वबजारको प्रतिस्पर्धीका प्लेटफर्मका रूपमा स्थापित गर्ने रणनीतिअनुसार कार्ययोजनाहरू बनाई काम गरेको पाइन्छ । बंगलादेशले दशवर्षे गुरुयोजना (सन् २०१२ देखि २०२२ सम्म) नै बनाई पूँजी बजार क्षेत्र सुधारका लागि चरणबद्ध रूपमा सोहीअनुरूप कार्ययोजना तर्जुमा गरी कामहरू गरेको थियो । त्यो काम त्यहाँको पूँजी बजार विकासका लागि कोसेढुंगा सिद्ध भएको छ । आन्तरिक बजारको अन्तरराष्ट्रियकरणका क्रममा बंगलादेशले सन् २०१९ मा रणनीतिक साझेदारको रूपमा चिनियाँ कम्पनीहरू सेन्जेन स्टक एक्सचेन्ज र सांघाई स्टक एक्सचेन्जलाई भित्र्याएको थियो । अपेक्षित प्रतिफलको बारेमा केही विवाद उत्पन्न रणनीतिक साझेदारहरूमार्पmत बजारको अन्तरराष्ट्रियकरणमा क्रममा यो काम पनि औचित्यपूर्ण देखिएको थियो । समष्टिगत अर्थतन्त्र र आर्थिक सूचकहरूको अवस्थामा नेपाल बंगलादेशको केही समानता रहेका कारण त्यहाँको विकासक्रम हाम्रो सन्दर्भमा समेत अनुकरणिय हुने देखिन्छ ।

बजारको विकासक्रम र अन्तरराष्ट्रिय आबद्धताका लागि नेपालले खासै महत्त्व दिइएको पाइँदैन । भारतमा त बीएसईको संलग्नतामा अन्तरराष्ट्रिय स्तरको स्टक एक्सचेन्ज स्थापना भएको छ भने नेपालले त्यो अपेक्षा गर्नु स्वाभाविक छैन । तर, धितोपत्रको कारोबारमा अन्तरराष्ट्रिय मापदण्डहरू पूरा नगरेको र त्यसको निम्ति यथोचित पहलको अभावमा अन्तरराष्ट्रिय आबद्धताहरू पाउन सकेको छैन । बंगलादेशको ढाका स्टक एक्सचेन्जले सन् २०१२ मा नै वल्र्ड फेडेरेशन अफ एक्सचेन्जको सदस्यता पाएको थियो भने सन् २०१४ मा अन्तरराष्ट्रिय स्तरको कारोबार प्रणालीका लागि अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा निगमसँग सम्झौता गरेको थियो । त्यसैगरी सन् २०१६ मा उक्त स्टक एक्सचेन्जले अन्तरराष्ट्रिय गुणस्तर चिह्न आईएसओ प्रमाणपत्र पाएको थियो भने सन् २०१७ बाट वल्र्ड फेडेरेशन अफ एक्सचेन्जको पूर्णकालीन सदस्यता पाएको थियो ।

नेपालको पूँजी बजारमा वैदेशिक लगानीको विषयमा धेरै बहस भएका छन् । तर, त्यसको कार्यान्वयनको पक्षमा खासै प्रगति भएको देखिँदैन । वैदेशिक लगानीको सुरक्षण र जोखिम परिपूरणका लागि पनि धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई समेत परिमार्जन गर्नुपर्ने विषय सम्बोधन हुन सकेको छैन । पूँजी बजारसँगै अर्थतन्त्रको समुन्नति र विकासका लागि वैदेशिक पूँजीको समेत परिचालन हुनु आवश्यक छ । त्यसका लागि आवश्यक कानूनी व्यवस्था र संस्थागत संरचनाको सुधारमार्फत बजारलाई अन्तरराष्ट्रिय मापदण्डअनुसारको बनाउनु आवश्यक छ । भारतमा शेयर राफसाप, वस्तु बजार विनिमयको राफसाफ, डाटा सिस्टम व्यवस्थापन, शेयरको ब्रान्डिङ, अन्तरराष्ट्रिय सञ्जाल सहजीकरण, अन्तरराष्ट्रिय विनिमय, वैदेशिक लगानी व्यवस्थापन, जोखिम व्यवस्थापन र बजारको नियमनलगायत कार्यका लागि छुट्टाछुट्टै कानूनी र संस्थागत संरचनाहरू तयार गरिएका छन् ।

लेखक आर्थिक विकास केन्द्र (नारेक)नेपालका निर्देशक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्