ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दाङमा यो वर्ष बढ्यो तोरी उत्पादन  

२०७८ बैशाख, ५  
प्रदेश ०५
Image Not Found
फाइल फोटो

वैशाख ५,  देउखुरी । गत वर्षको तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ ।

जिल्लामा यसवर्ष ५४ दशमलव ८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बालीलाई प्रवर्द्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण हुँदा उत्पादनसमेत बढेको हो ।     
     
 गत वर्ष २० हजार १७८ मेट्रिक टन तोरी उत्पादन भएको थियो भने यस वर्ष १८ हजार ६०० हेक्टर जमीनमा लगाइएको तोरी ३१ हजार २४८ मेट्रिक टन उत्पादन भएको केन्द्रले बताएको छ । गत वर्षभन्दा यस वर्ष ११ हजार ७० मेट्रिक टन वढी तोरी उत्पादन भएको केन्द्रका सूचना प्रसार अधिकृत उमेशचन्द्र श्रेष्ठले जानकारी दिए।     
     
 औसत प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ ।गत वर्ष तोरी खेती भएको हिउँदे मौसममा अधिक वर्षा हुँदा अन्य बालीका उत्पादनमा कमी आएको थियो । यस वर्ष मौसममा अनुकूल तथा रासायनिक मलको पर्याप्तता मुख्य कारण भएको उनले जानकारी दिए ।

यस वर्ष स्थानीय तहले उन्नत जातको बीउबिजन वितरण गरिनु र समयमा पानी परेका कारण उत्पादनमा वृद्धि भएको रहेकाले गत वर्ष तोरी उत्पादन राम्रो भएको छ । तोरी उत्पादन राम्रो भएपछि यहाँका किसान खुशी भएका छन् ।     
     
 गढवा गाउँपालिका–७ का विकास चौधरीले यस वर्ष १० क्विन्टल तोरी विक्री गरेको बताए। प्रतिक्विन्टल ११ हजार ५०० रुपैयाँका दरले विक्री गरेका उनले १ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए ।

उनी जस्तै सोही गाउँका अन्य किसान पनि तोरीको बजार मूल्य राम्रो पाएपछि औधी खुशी भएका छन् । तोरी बेच्नलाई कुनै समस्या नै भएन ग्राहक घरमै आएर खरीद गरेर लग्ने गरेकाले सजिलो भएको उनले बताए।     
     
 जिल्लालाई खाने तेलका लागि आत्मनिर्भर बनाउन तोरी उत्पादन बढाउने उद्देश्यले तोरी जोनका रुपमा विकास गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको थियो ।

जिल्लामा मूल बीउ उतपादन र खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिंचाइ कुलो निर्माण, कृषकलाई कृषि औजार वितरण, विभिन्न तालीमलगायत कार्यक्रम सञ्चालन गरेको हो ।

परियोजना अन्तर्गत पश्चिम दाङका बबई, दङ्गीशरण र शान्तिनगर गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिका–१ र २ लाई समेटेर ‘तोरी जोन’ का रुपमा विकास भएको हो । जिल्ला तोरी उत्पादनका लागि उर्वर भूमि मानिन्छ । यहाँ उत्पादित तोरी बाहिरी जिल्लामा समेत निर्यात गर्ने गरिन्छ । रासस 
   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्