ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जलयात्रासँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै बराहक्षेत्र

२०७८ बैशाख, ५  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ५, सुनसरी । सुविधा सम्पन होटलहरु सञ्चालन हुन थाले पछि बराहक्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटनहरुमा वृद्धि भएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा अहिले बराहक्षेत्रवासीको आम्दानी पनि बढेको छ । चतरामा सप्तकोशीमा मोटरेवल पुल, कोशीमा पानी बोट चल्न थालेपछि खानपीनमा खर्च गर्ने रुचाउने मनोरञ्जनात्मक पर्यटकहरुको आगमनमा पनि वृद्धि हुन थालेको छ । 

केही वर्ष अघिसम्म बराहक्षेत्र मन्दिरमा पूजाअर्चना गर्न, मेला पर्वमा आएर नागबेली फोटो बोकेर तस्वीर खिचि धरान तथा इटहरीको होटलमा बस्ने पुग्थे । बराहक्षेत्रका व्यवासायीहरु धार्मिक पर्यटकहरुलाई स्वागत गर्ने र मिठाई बेचेर खुशि हुने गरेका थिए । अहिले पर्यटकहरु बराहक्षेत्रमै बस्न थालेपछि होटल तथा पर्यटन व्यवसायको आम्दानी पनि बढ्दै गएको छ ।

पकली – रुपनगर सडक खण्ड अन्तरगत निर्माण भएको बैकल्पिक राजमार्गको नाममा सप्तकोशीमा पुल निर्माण भए पछि ‘नयाँ कोशी पुल’ मा पर्यटकहरुको चहल पहल तिब्र हुन थालेको उद्योग वाणिज्य संघ चतराका अध्यक्ष रमेशकुमार बिष्ट बताउँछन् । 

विसं २०७२ सालमा शिल्यान्यास भएको पुल वरिपरी सुविधा सम्पन्न होटल सञ्चालन भएपछि सुनसरी आसपास तथा उदयपुरका पर्यटकहरु रमाउने थलो मात्र भएको छैन जमघट गर्ने थलोको रुपमा पनि विकास हुँदै गएको विष्टको भनाइ छ । 

बराहक्षेत्रको नाम नसुन्ने नेपालमा पर्यटक प्रायः कमै होलान् । बहुसंख्यक हिन्दु तथा ओमकार धर्मावलम्बी रहेको नेपालमा हिन्दु धर्मको महत्वपुर्ण चारधाममध्ये एक मानिएको बराहक्षेत्र प्रायः नेपालीको आस्थाको केन्द्रनै हो । कोका कौशिकीमा स्नान गरेर भगवान बराहक्षेत्र मन्दिरमा पुजाआर्चना गर्न नेपाल लगायत अन्य मुलुकहरुबाट पनि हिन्दुधर्मावलम्बीहरु बराहक्षेत्र आउने गर्दछन् । 

पछिल्लो समय धार्मिक पर्यटकहरुसँगै साहसीक तथा मनोेरंजनात्मक पर्यटकीय गन्तव्यको रुपमा समेत विकास भइरहेको छ । बराहक्षेत्रको चतरा र उदयपुरको बेलकाको कोठुक्षेत्र हाल पर्यटकीय हबको रुपमा विकास भइरहेको छ ।

नयाँ कोशी पुलस्थित होटल ग्यालेक्सीका संचालक इश्वर गुरुङ्गका अनुसार पुल आसपासका होटलले औषतमा ८ देखि १० लाख रुपैया मासिक कारोबार गर्ने गर्दछन् । पुल वरपर १५ / १६ ओटा होटल सञ्चालन भइरहेको छ भन्ने शुक्रवार र शनिवार ३ देखि ४ हजार पर्यटकहरु आउने गरेको उनको भनाइ छ ।

धार्मिक रुपमा प्रख्यात बराहक्षेत्र मन्दिर, कुम्भनगरी चतराधाम, औलिया बाबा जस्ता धार्मिक देवदेवालयहरुको भौतिक तथा विकास निर्माण र प्रचारप्रसारका कारण पछि परिरहेको समयमा बराहक्षेत्रमा भएका प्राकृतिक स्थल र सौन्दर्यताले प्रदेश नं १ का पर्यटकहरुलाई आकर्षित गरिरहेको छ । 

 सप्तकोशीमा पछिल्लो समय जल यातायात आन्तरिक पर्यटकको रोजाई बनी रहेको छ । नेपाली पानीजहाज सञ्चालनले सप्तकोशीको महत्वलाई बढाई रहेको छ भने स्थानीय व्यवयसायीको आर्यआर्जन पनि बढ्दै गएको छ । 

कोशी पुलको आसपास उदयपुर सुनसरीको बीचमा रिभर फनको मज्जा लिन पाइने छ भने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन हुने दाबी गरिएको छ । साथै आन्तरिक तथा बाह्रय पर्यटन विकासमा यस कदमले ठूलो योगदान र चिनारीमा टेवा पुग्ने छ ।

नगरपालिकाकै मुख्य पर्यटकीय क्षेत्रको रुपमा वडा नं १ अग्रपंक्तिमा रहेको छ । वडामा रहेका धार्मिक, सांस्कृतिक, सौन्दर्यात्मक तथा मनोरञ्जनात्मक स्थलको अबलोकन र रमाउन वार्षिक लाखौ पर्यटक आउने गरेका छन् ।

सवै प्रकारका पारखीहरुको तिर्सना मेट्ने गन्तव्यको रुपमा रहेको वडा नं १ लाई पर्यटक हब बनाउन लागि परेको वडाअध्यक्ष सुरेश श्रेष्ठ बताउँछन् । वडामा रहेका बराहक्षेत्र मन्दिर, चतराधाम मात्र नभई मनोरञ्जन चाहने पर्यटकहरुको लागि समेत वडा नं १ प्रमुख गन्तव्य हुन सक्ने उनको भनाइ छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्